नेपाल-भारत संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ सुरु


काठमाडौं ।

नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास सूर्य किरणको अठारौँ संस्करण रुपन्देही सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कुलमा सुरु भएको छ ।

मध्य पश्चिम पृतनाका पृतनापति प्रेम बहादुर पुनले एक कार्यक्रमकाबीच उक्त अभ्यासको सुरु गरेका हुन् । नेपाली सेनाबाट प्रमुख सेनानी निराजन कटवालको नेतृत्वमा र भारतीय सेनाबाट कर्णेल जपेन्दर पाल सिंहको नेतृत्वमा कुल ६६८ जना सैनिकहरु सहभागी भई सञ्चालन भएको उक्त संयुक्त अभ्यास पुस २९ गते सम्पन्न हुने कार्यक्रम रहेको छ ।

यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको सत्रौँ संस्करण मित्रराष्ट्र भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।

वि.सं. २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १७ पटक सफलतापूर्वक सञ्चालन भई सकेको छ । अभ्यासमा मुख्यतया विपद् व्यवस्थापन, प्रतिव्रिदोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरुमा दुई देशका सैनिकहरुले सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गर्नेछन् ।

यस किसिमको सैनिक अभ्यासले दुई देशबीच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकलदर्जामा पेशागत शिपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।