पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट आमन्त्रण प्रतियोगिता २०२४ तथा दोस्रो नेपाल–चीन मैत्री ड्रागन बोट रेसमा चिनियाँ टिमहरूले कब्जा जमाएका छन्।
पोखराको फेवातालमा सोमबार सम्पन्न २०० र ५०० मिटर फाइनल रेसमा चिनको डोङग्वान लाओयू क्लब टिमले दोहोरो उपाधि जित्यो । टिमले नगद १० हजार डलरसमेत हासिल गरेको छ।
डोङग्वान लाओयू क्लबले २०० मिटरको निर्धारित दूरी ००ः४७ः७२० मिली सेकेन्डमा पार गर्दै उपाधि जित्यो । यस्तै, सोही टिम ५०० मिटरतर्फ २ मिनेट ०४.४७ सेकेन्डमा दूरी पार गर्दै च्याम्पियन बनेको हो। २०० मिटरतर्फ एक सेकेन्डले पछि रहेको चिनकै युनान मिन्जु युनिभर्सिटी टिम दोस्रो भयो। टिमले ००ः४८ः२२० मिली सेकेन्डमा दूरी पार गर्न सफल भयो।
यसै गरी, चिनकै लिआओचिङ यूनिभर्सिटी टिम ००ः५०ः८३० मिलिसेकेन्डमा दूरी पार गर्दै तेस्रो भएको छ। त्यस्तै, सोही स्पर्धामा युनान प्रान्तको नर्मल विश्वविद्यालय ००ः५१ः१६० मिलिसेकेन्डको समयमा चौथो स्थान प्राप्त गरेको छ। ५०० मिटर ड्रागन बोट रेसमा लिआओ चेङ युनिभर्सिटी छिम दोस्रो बनेको छ । टिमले निर्धारित दूरी २ मिनेट ७.३४ सेकेन्डमा पूरा गरेको थियो । यूहान युनिभर्सिटी टिम तेस्रो भएको छ । टिमले निर्धारित दूरी पार गर्न २ मिनेट ८.४४ सेकेन्डको समय लिएको थियो।
प्रतियोगितामा ५०० र २०० मिटर विजेताले ५ हजार अमेरिकी डलर, उपविजेताले २ हजार डलर र तृतीयले १२ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरे। अन्य सहभागी टिमहरूलाई जनही नगद ५ सय डलर प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाल, चीन र सिंगापुरका २० टोली सहभागी थिए।
प्रतियोगितामा चीनको ८, सिंगापुरको एक र बाँकी ११ टोली नेपालका विभिन्न प्रदेशबाट सहभागी रहेका थिए। प्रतियोगितामा गण्डकी, वागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रूपाताल टोली र नेपाल र्याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित ११ टोलीको सहभागिता थियो।
प्रतिक्रिया