एजेन्सी ।
भारतलाई चौथो टेस्टमा १ सय ८४ रनले हराएपछि अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ। मेलबर्न मैदानमा करिब साढे ३ लाख दर्शकमाझ पाँचौं दिनमै भारतलाई अलआउट गरेर अस्ट्रेलियाले बराबरीतिर अग्रसर खेल जितेको हो।
योसँगै अस्ट्रेलियाले ५ खेलको गावस्कर–बोर्डर टेस्ट सिरिजमा २–१ को अग्रता पनि लिएको छ। अन्तिम टेस्ट सिडनीमा शुक्रवारदेखि शुरू हुनेछ।
अस्ट्रेलियाले ३ सय ४० रनको लक्ष्य दिएको थियो। जसको जवाफमा भारतीय टोली मात्र १ सय ५५ रनमा अलआउट भएको थियो। भारतका कप्तान रोहित शर्मासहित अनुभवी ब्याटरहरू विराट कोहली, ऋषभ पन्त र केएल राहुलले निरस ब्याटिङ गरेका थिए। युवा ब्याटर यशस्वी जैसवाल भने ८४ रनमा आउट भए। उनी आउट भएसँगै भारतले यो टेस्ट बचाउने आस सबै सकिएको थियो।
वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा दक्षिण अफ्रिका टिम पुगिसकेको हुँदा एक टिममात्रै फाइनलको लागि छनोट हुन बाँकी रहेको छ । अस्ट्रेलियाले सिडनी टेस्टमा भारतलाई हराएमा फाइनलको यात्रा सुनिश्चित गर्नेछ । यदि, यो खेल हारेमा भने अस्ट्रेलियाको लागि अर्को मौका बाँकी रहने छ । अर्को महिना श्रीलंकाविरुद्ध हुने २ खेलको टेस्ट सिरिजमा एक टेस्टमात्रै जित्न सकेमा अस्ट्रेलिया फाइनलमा पुग्नेछ ।
भारतले सिडनी टेस्ट जिते पनि फाइनल पुग्न श्रीलंका र अस्ट्रेलियाबिचको टेस्ट सिरिजमा निर्भर हुनु पर्नेछ। यदि, सिडनी टेस्ट जितेमा भारतको लागि श्रीलंकाले जित हासिल गर्नु पर्नेछ। श्रीलंकाले दुई टेस्टमा एकमा जित र अर्कोमा बराबरी खेलमा भारत फाइनलमा पुग्ने पक्का हुनेछ।
भारत र अस्ट्रेलियालाई स्तब्ध तुल्याएर श्रीलंका पनि फाइनल पुग्न सक्नेछ। यदि, सिडनी टेस्टमा भारत र अस्ट्रेलियाले बराबरी नतिजा बेहोरेमा श्रीलंकाको लागि वर्ल्ड टेस्ट फाइनल पुग्न सक्ने सम्भावना हुनेछ । यसको लागि श्रीलंकाले अस्ट्रेलियाविरुद्धको दुवै टेस्ट जित्न आवश्यक रहेको छ। यदि, यस्तो भएमा भारत र अस्ट्रेलिया जिल्ल पर्नेछन् ।
प्रतिक्रिया