यात्राको अर्थ गति हो । नियात्रालाई यात्रा साहित्य, यात्रा वृत्तान्त, यात्रा वर्णन, यात्रा संस्मरण भनेर पनि चिनिन्छ । यात्राका क्रममा देखिएका तीता–मीठा, राम्रा–नराम्रा, अनुभव, भोगाइलाई जस्ताको त्यस्तै वर्णन गरिएको हुन्छ । हामी मानिसलाई पुस्तकका कुराले मात्र पुग्दैन । त्यसबाट सिक्न थाल्यौँ भने व्यावहारिक ज्ञान नहुने रहेछ।
हाम्रो जीवनलाई अनुभवमुखी, स्मरणीय बनाउनका लागि पनि यात्राका क्रममा देखिएका हरेक घटनाले सकारात्मक, मनोरञ्जन दिएर कुनै पनि ठाउँको भाषाशैली, रहनसहन, भेषभूषा, जीवनशैली, संस्कृतिलाई नजिकैबाट बुझ्न पनि यात्राको महत्त्वपूर्ण भूमिका रहन्छ। गैंडाकोट नगरपालिका वार्ड नं. १ मा रहेको श्री सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयबाट हामीले कास्की जिल्लाको मादी गाउँपालिकास्थित प्रकृति र संस्कृतिमा धनी ताङ्तिङ गाउँको ३ दिने अवलोकन भ्रमणमा जाने निर्णय ग¥यौँ । हामीले यात्राको लागि कालिगण्डकी कोरिडोरको बाटो हुँदै जाने निर्णय गर्यौँ ।
गतवर्ष २०८० साल कार्तिक २ गते १९ जना शिक्षक साथीहरू बिहान ५ः३० बजे गाडी चढी यात्राका लागि प्रस्थान गर्यौँ । जसमा म लेखक स्वयम् भूमिका गैरे तिमिल्सिना पनि उपस्थित थिएँ । हामी गण्डकी प्रदेश, कास्कीको मादी गाउँपालिका वार्ड नं. २ को ताङ्तिङका लागि नवनिर्मित सडक कालिगण्डकी कोरिडोरको पहाडी बाटो हुँदै उकालो लाग्यौँ । गैंडाकोट नगरपालिका हुँदै हामी ढोडेनीबाट अगाडि बढ्यौँ । त्यहाँको मुख्य अन्नबालीमा कोदो, मकै, फापर, अदुवा रहेछ।
ताङ्तिङ गाउँको अर्थ नै रमाइलो गाउँ हुने रहेछ । गुरुङ समुदाय रहेको कास्की जिल्लाको त्यो गाउँ प्राकृतिक र सांस्कृतिक हिसाबले अत्यन्त धनी गाउँ रहेछ । पर्यटकहरु हिउँ खेल्न, लालीगुराँस हेर्न र प्रत्यक्ष हिमालसँग नजिक हुन नौचुडाँडा, क्रबुडाँडा र चोरोडाँडा हुँदै त्यता घुम्न जाने रहेछन् ।
हामीले बुलिङटार गाउँपालिकाअन्तर्गतको डेढ गाउँमा रहेको अकला देवीको मन्दिर दर्शन गर्यौँ । धार्मिक आस्था बोकेकी देवी जहाँ मनले चिताएका कुरा पूरा हुने जनविश्वास रहेको पायौँ । अकला देवीको दर्शनपश्चात् चिया खाजा खाई पुनः यात्रालाई निरन्तरता दियौँ । त्यहाँको मुख्य अन्नबालीमा धान, कोदो, मकै, भटमास रहेछ । लहलहाउँदो धान खेतीले हाम्रो मन नै लोभ्यायो। सिंचाइको राम्रो सुविधा भएकाले धान खेती राम्रो पायौँ । धान पाकेर पहेँलो भइसकेको थियो । पिच सडक, रमाइलो बस्ती, साना–ठूला बाक्लै घरहरु थिए ।
यात्राकै क्रममा डेढगाउँको प्राकृतिक आनन्द लिँदै उकालो लाग्यौँ । पहाडी घुमाउरो अत्यन्त साँघुरो बाटो उकाली ओराली गर्दै अगाडि बढ्यौँ । यात्राकै क्रममा घिरिङ गाउँपालिका जहाँ अत्यन्त पातलो बस्ती, न्यून जनसंख्या रहेको पायौँ । कच्ची, साँघुरो, घुमाउरो बाटो थियो । बाटोछेउका घरहरुको भग्नावशेष मात्र थियो । धेरैजसो घरमा ताला मात्र झुन्डिएका थिए । त्यो देख्दा लाग्छ, विभिन्न असुविधाका कारण त्यहाँका मान्छे घर छाडेर अन्यत्र बसाइँ सराइ गरेका होलान् । त्यहाँको मुख्य अन्नबालीमा कोदो, मकै, मास, भटमास हुने रहेछ । त्यस ठाउँमा पानीको असुविधा रहेछ । हामी भिमाद नगरपालिका पुग्यौँ । भिमादचाहिँ अलि विकसित, त्यहाँका बाटो कहीँ पिच त कहीँ कच्ची रहेछ । घरहरु पनि बाक्ला, जनसंख्या पनि बढी रहेको पायौँ । पक्की घरहरु, विकसित परिवेश प्रकृतिको काखमा रहेको भिमाद अत्यन्तै मनमोहक थियो । अन्नबालीमा मकै, कोदो, अदुवा, भटमास हुने रहेछ।
उच्च पहाडी भेगमा अवस्थित भिमादले हामी सबैको मन लोभ्यायो । त्यहीँको एक होटलमा खाना खायौँ । त्यसपछि पोखरातर्फ अगाडि बढ्यौँ । पोखराको अमरसिंह चोकबाट सीधै माथि लाग्यौं। बाटो बिराएर हामी पश्चिमतर्फ सिक्लेसतिर लागेको पत्तै पाएनौँ । करिब ३० मिनेट उकालो चढेपछि हामी पुनः तल झर्यौँ। पोखराको काहुँखोलाबाट बसमा करिब ४ घण्टाको ठाडो उकालो बाटो लाग्यौँ । पहाडी घुमाउरो, कच्ची, एकतर्फी अत्यन्त साघुँरो बाटो रहेछ । आफ्नो ज्यानलाई नै धरापमा राखेर अत्यन्तै जोखिमपूर्ण यात्रा गरिरह्यौं । कहीँ–कहीँ स–साना घरहरु, बीचमा हाइड्रोपावर, एकातिर पहाड त अर्कोतिर मादी खोला बगेकी छिन् । बेलुका ५ बजेबाट बसको यात्रा गरी राति ९ बजे हामी ताङ्तिङ गाउँ पुग्यौँ । ताङ्तिङ गाउँको अर्थ नै रमाइलो गाउँ हुने रहेछ । गुरुङ समुदाय रहेको कास्की जिल्लाको त्यो गाउँ प्राकृतिक र सांस्कृतिक हिसाबले अत्यन्त धनी गाउँ रहेछ । पर्यटकहरु हिउँ खेल्न, लालीगुराँस हेर्न र प्रत्यक्ष हिमालसँग नजिक हुन नौचुडाँडा, क्रबुडाँडा र चोरोडाँडा हुँदै त्यता घुम्न जाने रहेछन् ।
हिमालको उज्यालो झलमल ताङ्तिङ गाउँ अत्यन्तै रमणीय छ। गण्डकी प्रदेशको कास्की जिल्लाको पहाडी क्षेत्र, मादी गाउँपालिका–२ मा अवस्थित समुद्री सतहबाट करिब १७०० मिटरको उचाइमा रहेको छ। यसको पूर्वमा लमजुङ जिल्लाको क्लोहासाँथर र मस्र्याङ्दी गाउँपालिका पर्दछ । पश्चिममा सिक्लेस, पार्चे, खिलङ र ताप्राङ गाउँ पर्दछन्। उत्तरमा मनाङ जिल्लाको चामे र निस्याङ भ्याली पर्दछ भने दक्षिणमा कास्कीका याङ्जाकोट, सैमराङलगायतका गाउँ पर्छन्।
ताङ्तिङमा २ सय घर छन् भने जनसंख्या १ हजार रहेछ । ढुंगा र टिनका छाना भएका चिटिक्कका घर र झुरुप्प सुन्दर बस्ती छ। त्यहाँ ९५ प्रतिशत गुरुङ र बाँकी दलित मिलेर बसेका छन् । प्रकृति र संस्कृतिको संगम गाउँ अत्यन्तै आकर्षक छ । ताङ्तिङको फेदीबाट मादी नदी बग्छिन् । गाउँबाट अन्नपूर्ण, लमजुङ हिमाल छर्लंग देखिन्छ । हिमालको हिउँ पहिरो, पारिपट्टि सिक्लेस गाउँको सिरानमा हिमाल मुस्कुराएको देख्दा आनन्द लाग्छ । त्यहाँका मानिसहरु पनि त्यस गाउँजस्तै उज्याला, फरासिला, सहयोगी र राम्रो संस्कार भएका रहेछन् । ग्रामीण जीवनशैली, गाउँलेको मुख्य पेसा कृषि, पशुपालन, वैदेशिक रोजगार र पर्यटन व्यवसाय रहेछ । घरायसी उत्पादनका सामग्रीहरु तयार गर्ने रहेछन्।
सामूहिक भावना भएका मानिसहरु कोदो रोप्दा, दाउरा खोज्दा, विकासका काम मिलेर गर्दा रहेछन् । गुरुङ भाषा, कला, संस्कृति, परम्परा र रहनसहनका हिसाबले ताङ्तिङ एउटा खुल्ला संग्रहालय रहेछ । आफ्नो संस्कृति झल्कने होटल, होमस्टेका आँगनमा मौलिक भेषभूषामा सजिएर घाटुनाच, झ्याउरे, सोरठी, ठेटर नाच देखाउने गर्दा रहेछन् । स्थानीय उत्पादनलाई खानामा विशेष जोड दिने रहेछन् ।
हामी त्यही गाउँका गणेशबहादुर गुरुङको होमस्टेमा बस्यौँ । रात्रिको समयमा हामी शिक्षक साथीहरू आगो बालेर तापेसँगै वरिपरि प्रकृतिको आनन्द लिँदै बस्यौं । हामीले खाना ११ः४५ मा खायौँ र सुत्यौँ । भोलिपल्ट बिहान ५ बजे सबैजना चियानास्ता खाई कोही उकालो ट्रेकिङमा त कोही झर्ना हेर्न सेल्फी डाँडातर्फ लाग्यौँ ? हामी पदयात्राका क्रममा नौचुडाँडातर्फ करिब २ घण्टाको ठाडो उकालो लाग्यौँ । हामीलाई बाटो देखाउँदै त्यहाँका विशेषताहरु बताउन गणेश दाइ हामीसँगै हुनुहुन्थ्यो । उहाँले हामीलाई हिँड्न सहज होस् भनी सबैलाई एक–एकवटा लौरो काटिदिनुभयो।
गणेश दाइको पछिपछि हामी सबैजना ठाडो उकालो लाग्यौँ । चारैतिर घना जंगल, बीचमा खच्चड हिँड्ने साघुँरो बाटो थियो । हामी त्यही बाटो उकालो लाग्यौँ। चारैतिर लालीगुराँसका बोटहरु, सिलटिमुरका बोटलगायत विभिन्न औषधिजन्य जडीबुटीका बोटहरुका बीच घुमाउरो बाटो, चराचुरुङ्गीका आवाज, कीराहरुको आवाजको आनन्द लिँदै, सुनसान जंगलतर्फ अगाडि बढ्यौँ । हामी ७ बजे नौचुडाँडा पुग्यौँ । त्यहाँबाट प्रत्यक्ष अन्नपूर्ण, माछापुच्छ्रे हिमशृङ्खलाको अवलोकन ग¥यौं, प्रकृतिसँग केहीबेर रमायौँ । त्यो जंगलको ऐतिहासिक क्षेत्र, धार्मिक वन भएको मान्यता रहेछ । सिकारी चराहरु, ध्वाँसे चितुवा, थार आदि जंगली जनावरहरु त्यस जंगलमा हुने रहेछन्।
हिमाललाई नजिकैबाट नियालिसकेपछि हामी केही तेर्सो उकालो बाटो लाग्यौँ । केही माथि पुगेपछि ढु्ंगाले बच्चा जन्माउने ठाउँमा पुग्यौँ । गणेश दाइको भनाइअनुसार त्यहाँ पहिला जम्मा दुईवटा ठूला ढुंगा थिए रे । त्यसपछि क्रमशः एकपछि अर्को गर्दै अहिले साना–ठूला गरी ४०–५० वटा ढुंगा रहेको हामीले प्रत्यक्ष देख्यौँ। सोही कुराको जानकारी पनि पायौँ।
त्यसपछि हामी अर्को बाटो ओरालो झर्दै होमस्टेतर्फ लाग्यौँ । करिब १०ः३० मा हामी होमस्टेमा आई खाना खायौँ । त्सपछि ११ बजे हामी गाडी चढी पोखराको फेवातालतर्फ लाग्यौँ । फेवातालको बीचमा रहेको तालबाराही मन्दिरको दर्शन गर्न डुंगा चढी गयौँ । बाराही मन्दिरको पुनः निर्माणको क्रममा काम भइरहेको रहेछ । पुरानो मन्दिर भत्काएर नयाँ संरचनाका लागि आर्थिक संकलन, सहयोग, भौतिक संरचना निर्माण कार्य हुँदै थियो । हामी देवी भगवतीको दर्शन गरी त्यहाँबाट करिब ४ बजे तालबाहिर आयौँ ।
पोखरामा खाजा खाई करिब ६ बजे हामी घरतर्फ फर्कन मुग्लिनको बाटो हुँदै आयौँ । बीचबाटोमा गाडी बिग्रेको कारणले केही ढिलो भयो । करिब ११ः४५ मा खाना खाई हामी बिहान ३ बजे सकुशल घर आइपुग्यौँ ।
नेपालमा भएका यस्ता नेपाली गौरव बोकेका संस्कृति एवम् प्रकृतिले भरिपूर्ण गाउँको सबैले अवलोकन गर्नु आवश्यक छ । अहिलेका विद्यार्थीलाई प्रविधिमैत्री मात्र बनाउनुहुँदैन । तिनीहरुलाई यस्ता संस्कार, संस्कृति र प्रकृतिसँग पनि परिचित गराउनुपर्छ । खुल्ला प्रकृतिसँग रमाएर प्रत्यक्ष अनुभव गराई व्यावहारिक सिकाइ गराउनुपर्छ । अनि बल्ल भावी पिँढीको चौतर्फी विकास हुन्छ । तिनीहरुमा नेतृत्व विकास, संस्कृति र परम्परासँग गहिरो लगाव हुन्छ । तिनीहरूलाई प्रविधिक ज्ञानसँगसँगै व्याहारिक ज्ञान दिनुपर्छ ।
नेपाल एक बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय परम्पराले सुसस्जित एक समृद्ध मुलुक हो । यो सबैको साझा फूलबारी हो । राज्यबाट यस्ता स्वदेशी पर्यटकीय स्थललाई प्रवद्र्धन र संरक्षण गर्नु आवश्यक छ । विकासका पूर्वाधारहरु पु¥याई स्वदेशी तथा विदेशी पर्यटनलाई आवतजावतमा सहजता प्रदान गर्नुपर्छ, जसले गर्दा आयआर्जन गर्न सकिन्छ । पक्की र दोहोरो गाडी गुड्न सक्ने बाटो बनाउनुपर्छ । सडक विस्तारका लागि सरोकारवालाको ध्यान जानुपर्छ । नेपालका यस्ता पर्यटकीय, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक महत्त्व बोकेका विभिन्न सम्पदा, गौरवलाई नेपालमा मात्र नभई विश्वका हरेक कुनामा पु¥याउन आवश्यक छ ।
प्रतिक्रिया