राष्ट्रिय मेलमिलाप दिवस: आन्तरिक र अन्तरपार्टी मेलमिलापको कसीमा कांग्रेस

1.88k
Shares

नेपाली राजनीतिको एउटा मियो संसदीय लोकतन्त्रको संस्थापक दल नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला, गणेशमान सिंहलगायत नेताहरु लामो निर्वासनपछि ‘राष्ट्रिय मेलमिलाप’को नीति लिएर स्वदेश फर्किएको आज ४८ वर्ष भएको छ। यसै सन्दर्भमा आजको दिन नेपाली कांग्रेसले बीपीको ४८ औं ‘राष्ट्रिय मेलमिलाप’ दिवस देशभर विविध कार्यक्रम गरी मनाउँदै छ।

आफूलाई लोकतन्त्रको जननी ठान्ने कांग्रेस राजनीतिक इतिहासको करिब आठ दशकको वरिपरि पुगेको छ । यो अवधिमा अनेकन आरोह–अवरोहका बीच मुलुकको नेतृत्वदायी भूमिकामा आफूलाई अब्बलता स्थापित गर्दै आएको कांग्रेस अहिले पनि संसद्मा पहिलो दल छ। यद्यपि संख्यात्मक हिसाबले मात्रै पहिलो छ । सरकार बनाउन सक्ने हैसियत कांग्रेसले गुमाइसकेको छ। यो अवस्थालाई मध्यनजर गर्दै कांग्रेसी नेता–कार्यकर्ताले यसको कारण खोज्नुपर्ने बेला आएको छ।

संस्थापक नेतात्रय बीपी, गणेशमान र सुवर्ण शमशेरले नेपालमा प्रजातन्त्रको आवश्यकता ठानेर कांग्रेसको जग हालेका थिए । संस्थापक नेताहरुले सोचेको प्रजातन्त्रमा राष्ट्रियता, स्वतन्त्रता, समानता, मानवअधिकार, विधिको शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्याय प्रणाली, आर्थिक समुन्नति, नागरिक चेतना, राजनीतिक, आर्थिक, सामाजिक अधिकार, आन्तरिक प्रतिस्पर्धालगायतका विषय नै मूल विषय थिए । यहीभित्र देश र जनताका सबै विषयहरु अटेकै कारण कांग्रेसले हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका लिन सकेको कुरा सत्य हो । तर पछिल्लो समय कांग्रेसमा आन्तरिक समस्या जटिल बन्दै जाँदा माथि उल्लिखित सबै विषयहरु स्खलित भएका छन्।

देशभरका पार्टी संरचनाले बीपीको राष्ट्रिय मेलमिलाप दिवस मनाइरहँदा पार्टीको आन्तरिक समस्या र सबलीकरणका मुद्दा बहसमा आए कि आएनन् ? दिवसका नाममा केवल एक गुटले अर्को गुटका नेता–कार्यकर्तालाई गाली गर्नमै समय व्यतीत गर्ने परम्पराले निरन्तरता पाउने परिपाटीको अन्त्य कसरी गर्ने ? यी प्रश्नमा पार्टीका जिम्मेवार नेताहरुले एकछिन् गुटबाट बाहिर निस्किएर सोच्नै पर्दछ ।

यसैको कारण कांग्रेस आफ्नै रागले चाउरिएको मरिचजस्तो बन्न पुगेको छ । प्रत्यक्ष निर्वाचनमा पहिलो दल बने पनि समानुपातिकमा मत हेर्दा जनतामाझ कांग्रेस दोस्रो स्थानमा छ । आम निर्वाचनमा एक्लै नभिडेर कम्युनिस्टदेखि अन्य क्षेत्रीय, जातीय पार्टीहरुसमेतको चुनावी सहकार्य गर्ने अवस्थामा पुगेको कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसलाई दिवसकै रुपमा मात्र नलिई यस अवसरमा राजनीतिकरुपमा एउटा गहन सन्देश प्रवाह गर्न सक्नुपर्छ ।

संसदीय राजनीतिक अभ्यासअन्तर्गत कांग्रेसले आफू हारेर पनि आवधिक निर्वाचन गराउने कुरामा कहिल्यै पछि हटेन । २००७ सालको मुक्ति क्रान्ति, ०१५ सालको आम निर्वाचन, ०३३ सालको जनमतसंग्रह, ०४६ को प्रजातन्त्र प्राप्ति, ०६२/०६३ को जनआन्दोलन, लोकतान्त्रिक गणतन्त्र स्थापना, शान्ति प्रक्रियाका सवालमा खेलेको भूमिका, संघीयतासहितको संविधान जारी र यसबीचमा भएका स्थानीय निकायको निर्वाचन, संविधानसभा चुनावदेखि स्थानीय तह, प्रदेश, संघमा भएका आवधिक निर्वाचनमा समेत कांग्रेसको नेतृत्वदायी भूमिका लोभ लाग्दो मानिन्छ । यी सबै विषयमा आफ्नो भूमिकामा कमी हुन नदिएको कांग्रेसले किन सरकार बनाउन सक्ने हैसियत राखेन ? यो प्रश्नको जवाफ आज कांग्रेसको मूल नेतृत्वसँगै पार्टीको प्रतिपक्षी कित्तामा उभिएका नेताहरुले समेत आम कार्यकर्तालाई दिन सक्नुपर्दछ ।

सबैलाई मिलाएर लान सक्ने पार्टीले आफ्नो शक्ति सञ्चय गर्न आवश्यक रणनीतिक तयारी गरेर आगामी निर्वाचनमा एकल बहुमतको दल बनाउन किन नसक्ने ? देशभरका पार्टी संरचनाले बीपीको राष्ट्रिय मेलमिलाप दिवस मनाइरहँदा पार्टीको आन्तरिक समस्या र सबलीकरणका मुद्दा बहसमा आए कि आएनन् ? दिवसका नाममा केवल एक गुटले अर्को गुटका नेता–कार्यकर्तालाई गाली गर्नमै समय व्यतीत गर्ने परम्पराले निरन्तरता पाउने परिपाटीको अन्त्य कसरी गर्ने ? यी प्रश्नमा पार्टीका जिम्मेवार नेताहरुले एकछिन् गुटबाट बाहिर निस्किएर सोच्नै पर्दछ । पार्टीले आजभन्दा चार महिनाअघि शुरु गरेको १०० दिने अभियानको औपचारिक कार्यक्रमसमेत आजै सकिँदै छ । उक्त अभियानमा पनि धेरैजसो जिल्लाहरुमा एउटा गुट केन्द्रीय अभियानजस्तो देखियो । यस्ता अभियानले पार्टीको आन्तरिक मेलमिलापमा बल पुग्नुपर्ने तर नेताहरुको आफूमात्रै बन्ने सोचका कारण आन्तरिक झगडामा बल थपेको कार्यकर्ताले महसुस गरेका छन् । पछिल्लो मेरो अनुभवले भन्छ– ‘नेपाली कांग्रेस कसैसँग हार्छ भने ऊ आफ्नैसँग र आफ्नै कारणले हार्छ । कांग्रेसलाई अरु कसैले हराउनै पर्दैन ।’

तर बीपीले त्यसो नभनेर आन्तरिक बेमेललाई हटाउँदै पार्टी शक्ति बलियो बनाऊ र अन्तरपार्टी मिलापलाई सँगै लगेर मुलुक र जनताको हितमा काम गर भनेका थिए । यद्यपि कांग्रेसले त्यसलाई ग्रहण गर्नै सकेको देखिँदैन। ‘चुनाव जित्नका लागि जोसुकैसँग मिल्ने तर आफू–आफैँ कहिल्यै नमिल्ने’ भन्ने भाष्य स्थापित गर्न नेताहरु नै लागेका छन्। चुनावी मैदानमा होमिएका उमेदवारलाई हराउन एकले अर्कोलाई पैँचो तिरेर हिसाब मिलान गर्ने प्रक्रियालाई नै कांग्रेसका दिग्गज नेताहरुले ठूलो लोकतान्त्रिक अभ्यासका रुपमा व्याख्या भ्याउँछन् । पार्टीले गर्ने अन्तरपार्टी चुनावी एकता लोकतन्त्रको बलियो अभ्यास थिएन, यो त केवल परिणाम निकाल्न राज्य सत्तामा आफ्नो हालिमुहालीकै लागि मात्रै भएको देखिन्छ । यसले धेरै कार्यकर्तामा नैराश्यता सृजना गरेको छ।

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएसँगै कांग्रेस संस्थापक एवं तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालगायतलाई जेल हालिएको थियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाउँदै नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाएका थिए। तर २०२५ कात्तिक १४ गते बीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भएर भारतमा निर्वासन जीवन बिताउन थालेका थिए। त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको प्रवाह नगरी राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अँगाल्दै स्वदेश फर्किएका थिए। दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै मुलुकको सार्वभौमसत्ता रक्षार्थ जनताकै बीचमा रहनुपर्दछ र त्यसका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्छ भन्ने नयाँ अध्याय शुरु गरेका थिए।

अहिले पनि देशमा राजनीतिक अस्थिरता त्यत्तिकै छ । वर्तमान व्यवस्थाप्रति नागरिकको निराशा चुलिँदै गएको छ । युवाहरु देश छाडेर हिँड्न बाध्य छन् । स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारीको उचित व्यवस्थापन हुन नसक्दा यो निराशाको बादल अझै बढोत्तरीमा छ । राजनीतिक दलहरुले आफ्ना एजेन्डा चुनावदेखि चुनावसम्म मात्रै बनाउने गरेका छन् । जनजीवीकाका सवालमा गफमात्रै चुटेर राजनीतिको दुनु सोझ्याउने परम्परालाई ब्रेक गरेर बदलिँदो परिवेश सुहाउने राजनीतिक सोच नेताहरुमा देखिएको छैन । दल–दलबीच, नेता–नेताबीच राजनीतिक प्रतिस्पर्धाभन्दा पनि व्यक्तिगत टिकाटिप्पणी र गालीगलौजमा समय बर्बाद गर्ने नेताहरुले मेलमिलापको नीति अवलम्बन गरेर मुलुक र जनताका लागि थोरै भए पनि योगदान गर्ने नवीन राजनीतिक सोचको विकास गर्नु अहिलेको आवश्यकता हो । वर्तमान राजनीतिलाई नियाल्दा त्यस बेला नेताहरुले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि त्यत्तिकै सान्दर्भिक छ ।

कांग्रेसले मेलमिलाप दिवस मनाइरहँदा ऊभित्रको आन्तरिक मेलमिलापको नीति कत्तिको बलियो छ भनेर हेर्नु जरुरी छ । आफैँभित्र मेलमिलाप गर्न नसक्ने अनि राष्ट्रिय मेलमिलापको दुहाइ दिएर मात्र कसरी लोकतन्त्र बच्छ ? नेताहरुका लागि यो पनि एउटा गहन प्रश्न हो । पार्टीले कार्यक्रम गर्दै गर्दा आफ्नो गुटलाई मात्र बोलाउने र मन नपरेकाहरुलाई पर धकेल्ने, एउटाले अर्को गुटले कार्यक्रम नै असफल बनाउने जुन खालको प्रवृति छ त्यो नेपाली कांग्रेस र समग्र देशकै लागि अभिशाप हो । पार्टीको आन्तरिक मेलमिलाप र व्यवस्थापन, गुटगत राजनीतिको अन्त्य, संगठनात्मक संरचना चलायमान, भ्रातृ तथा शुभेच्छुकसँग संगठनहरुलाई स्वयं निर्णय गर्न सक्ने अवस्थाको प्रत्याभूति, सामूहिक निर्णय प्रणालीको व्यवस्था, पार्टी अनुशासनको कसी, ठेकेदारी प्रथाको अन्त्य, नेतृत्व तहमा देखिएको अहंताको अन्त्य, नेता र जनताबीच सौहार्दता, एक व्यक्ति एक पदको अवधारणाको विकासलगायतका कुराहरुलाई केन्द्र भागमा राखेर पार्टीलाई सामूहिक नेतृत्वमा लैजान सक्ने नेता कांग्रेसमा आवश्यक छ।

त्यसका लागि पार्टीका नेताहरुबीच पछिल्लोपटक देखिएको असमझदारीलाई मेलमिलापको नीति अवलम्बन गरेर जानुको विकल्प छैन । हार्दा पार्टी हार्ने र जित्दा व्यक्ति जित्ने भन्ने प्रवृत्तिले अघि बढेको कांग्रेसका नेताहरुको चाल, चरित्रसँगै चेहरासमेत बदल्नुपर्ने आवश्यकता कार्यकर्ताले टानेका छन्। यसका लागि जसरी पनि आफैँ नेता बन्ने भन्ने सोचबाट केही माथि उठेर सबै अट्ने गरी सामूहिक नेतृत्वको अभ्यासलाई नयाँ राजनीतिक सोच बनाउन सक्नुपर्दछ । देश र जनताको वास्तविक अवस्था र आवश्यकता पूर्तिको संकेत नेताको अनुहारमा झल्कनुपर्दछ । मियोविनाको दाइँ बनेको वर्तमा नेपाली राजनीतिलाई एउटा विन्दुमा ल्याउनुपर्ने नै छ । परिवर्तित परिवेशअनुसार नागरिकका समस्या समाधानमा दलहरु लाग्न सकेनन् भने यो अस्थिरताको फाइदा उठाउँदै व्यवस्थामाथि नै धावा बोल्नेहरुको बिगबिगी बढिरहेको छ।

देशको ठूलो र लोकतान्त्रिक दलको हैसियतमा कांग्रेसले मेलमिलापकै नीतिअनुसार आफ्नो शक्ति बलियो बनाउँदै राजनीतिमा देखा परेको समग्र अस्थिरतालाई व्यवस्थापन गर्न जोड दिनु उसको कर्तव्य नै हो । पार्टीमा गुटगत राजनीतिको अन्त्य, संगठनात्मक संरचना चलायमान, भ्रातृ तथा शुभेच्छुक संघ–संगठनहरुलाई स्वयं निर्णय गर्न सक्ने अवस्थाको प्रत्याभूति, समूहिक निर्णय प्रणालीको व्यवस्था, पार्टी अनुशासनको कसी, ठेकेदारी प्रथाको अन्त्य गर्न सक्नु चुनौती छ।

यद्यपि यो चुनौतीलाई चिर्दै पार्टीका ज्येष्ठ नागरिकदेखि नयाँ पुस्तासम्मको व्यवस्थापन गर्न सक्ने गरी नीति बनाउन आवश्यक देखिन्छ । सदस्यता वितरणदेखि गरिँदै आएको गुटको राजनीति अन्त्य गर्ने र सदस्यता शुल्क स्वयं सदस्यबाटै अनिवार्य लिने गरी अघि बढ्नु श्रेयष्कर होला । पार्टीभित्रका ज्येष्ठ र श्रेष्ठ व्यक्तिहरुलाई ज्येष्ठ नागरिक संगठन बनाएर जिम्मेवारी प्रदान गर्नु पनि आन्तरिक पार्टी व्यवस्थापनको एउटा उपाय हुन सक्छ । पार्टीभित्रको आन्तरिक मेलमिलाप र व्यवस्थापनसँगै भ्रष्टाचारको अन्त्य, देशको समृद्धि र विकासलाई मुख्य एजेन्डासहित सबै दललाई आफ्नो पछि लगाएर कांग्रेस अघि बढ्न सके मात्रै राष्ट्रिय मेलमिलापको सान्दर्भिकता अझै लोकप्रिय बन्न सक्छ ।

(लेखक नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य हुनुहुन्छ ।)