दक्षिण एशियालीस्तरको पहिलो जित कुण्डो प्रतियोगिताको तयारीमा व्यस्त संस्थापक थापा

21.06k
Shares

झण्डै २० वर्षअघि नेपाल भित्रिएको जित कुण्डो मार्शल आर्ट्सको पहिलो पटक दक्षिण एशियालीस्तरको प्रतियोगिता हुँदैछ । आगामी जनवरीमा नेपालमा हुन लागेको यस प्रतियोगिताका लागि नेपाल जित कुण्डो संघका महासचिव तथा प्रमुख प्रशिक्षक शिवबहादुर थापा र उनको टिम तयारीमा जुटिरहेका छन् ।

महासचिव थापाका अनुसार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको कभर्ड हलमा हुने उक्त प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र अफगानिस्तानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद् र राज्यबाट सहयोग पाइने अपेक्षा राख्दै महासचिव थापाले भने— ‘राखेप र राज्यबाट आर्थिक सहयोगको अपेक्षा राखेका छौँ । राखेप सकारात्मक देखिएको छ ।’

यस अघि नै नेपाल जित कुण्डो संघले विभिन्न जिल्लास्तरीय र नगर कप गरी ८ पटक जित कुण्डोको राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेको छ । सबै प्रतियोगितामा थापाले मुख्य निर्णायकको भूमिका निर्वाह गरेका थिए । दोश्रो पुस्ताका टेडवाङ जित कुण्डो प्रशिक्षक स्पेनका सिफु जोक्युन मार्सीलोलाई धेरै पटक नेपालमै बोलाएर एकल तालिमका साथै सेमिनार पनि सञ्चालन गरिएको जानकारी दिंदै थापाले जित कुण्डोको मुख्यालय नेपालमै स्थापना गर्ने प्रयास भइरहेको पनि बताए ।

२०४८ सालदेखि तेक्वान्दो खेल्न थालेका शिवबहादुर थापाले २०६३ सालमा नेपालमा जित कुण्डो मार्शल आर्ट्स भित्र्याएका हुन्। आईटीएफ तेक्वान्दो, मुवाँथाई, ब्राजिलियन जिजित्सु पनि सिकेका थापाले ब्रुश लीबाट प्रभावित भएर जित कुण्डोलाई नेपालमा भित्र्याएका हुन् ।

नेपाल जित कुण्डो संघका महासचिव तथा प्रमुख प्रशिक्षक थापाले अमेरिका, थाइल्यान्ड र चीनमा भएको जित कुण्डोसम्बन्धी गोष्ठीमा भाग लिनुका साथै श्रीलंकामा ७ पटक र भारतमा २ पटक तालिम पनि दिएका छन् । दक्षिण एसियाली राष्ट्रको सहभागितामा नेपालमै पनि गोष्ठीको आयोजना गरेको संघमा अहिले जित कुण्डो सिक्न आउने संख्या धेरै रहेको छ । अहिले जित कुण्डो युरोप, अमेरिकामा सेना र प्रहरीलाई सिकाउने गरिएको तर, दक्षिण एसियामा ओलम्पिकमा भएको खेललाई काखा र नभएका खेललाई पाखा गर्ने चलन भएकोले जित कुण्डोबारे नसोचिएको टिप्पणी गर्दै महासचिव थापा भन्छन्– ‘तर, अहिले हामीलाई एउटै चिन्ता छ कि ती प्रशिक्षार्थीहरूको भविष्य कसरी सुनिश्चित गर्ने भन्ने ।

जित कुण्डो अरू भन्दा फरक

जित कुण्डो भन्ने बित्तिकै हात खुट्टा चलाउने मार्शल आर्टस् भन्ने बुुझिने भए तापनि यो तेक्वान्दो, कराते, उसुभन्दा फरक भएको थापा बताउँछन् । उनी भन्छन् —‘पहिलो त जित कुण्डो भन्ने बित्तिकै हामी लोकप्रिय एक्टर बु्रश लीलाई सम्झिन्छौँ र अमेरिकाबाट जित कुण्डोको नामाकरण भएको हो । यसलाई प्रायजसो खेलप्रेमी मिक्स मार्शल आर्ट्सको रूपमा सम्झन्छन् । तर, जित कुण्डोको छुट्टै अवधारणा र नियमहरू छन् ।’

जित कुण्डोले मानिसहरूलाई आत्मरक्षा कसरी गर्ने भन्ने सिकाउने र यसमा कुनै पनि मार्शल आर्ट्सको मिश्रण नभएको प्रष्ट पार्दै भने— ‘कुनै कुनै स्टेप मिल्न जान्छ होला । कसैले अकस्मात् आक्रमण गरेमा आफ्नो रक्षा कसरी गर्ने भन्ने ब्रुश लीको सबै फिल्ममा देख्न सकिन्छ । बाटोमा जाँदा कसैले हतियार बोकेर जाँदैनन् र साथै बाटोमा हिँडिरहेकाहरू खेलेका वा नखेलेका भनेर छुट्याउन पनि सकिँदैन । अब, अकस्मात् आइलागेमा त्यो बेला आत्मरक्षा गर्न हात वा खुट्टा नै प्रयोग हुन्छ । बु्रश लीले त्यसलाई महसुस गरेर बाटोमा कसरी आपूmलाई रक्षा गर्ने भनेर यो जित कुण्डोको आविष्कार गरेका हुन् ।’

शुरूमा यसमा कुनै नियम निकालिएको थिएन । कुन भागमा प्रहार गरेमा कति अंक दिने केही किटान नै गरिएको थिएन । बु्रश लीको निधनपछि जित कुण्डो निस्क्रिय जस्तै भएको थियो । सन् १९९७ मा लस एन्जेलसमा ब्रुश ली फाउन्डेशनकी अध्यक्ष ब्रुश लीकी श्रीमती लिन्दा लीले बु्रश लीका प्रशिक्षार्थीहरूलाई राखेर जित कुण्डोलाई कसरी अगाडि लाने भनेर ठूलो छलफल गरेकी थिइन् ।

त्यो छलफलमा लिन्दाले सिफु टेड वाङलाई ब्रुश लीले एम्टी कप भन्ने गरेको स्मरण गरेकी थिइन् । त्यसो भन्नुको अर्थ टेड वाङले जित कुण्डो बाहेक कुनै पनि मार्शल आर्टस् खेलेका थिएनन् । बु्रश लीले टेड वाङलाई जे सिकाए, त्यही मात्र सिके । त्यतिबेला बक्सिङ, तेक्वान्दोका खेलाडी, करातेका चक नोरिस (एक्टर पनि हुन्), डान जुडोका मेडलिस्ट कोरियाका डान जस्ता हस्तीहरू सामेल थिए ।

पहिले एमएमए, यूएफसी जस्ता मार्शल आर्टस्हरू थिएन । तर, हाल लोकप्रिय रहेको यूएफसी जित कुण्डोको परिमार्जित विधा भएको थापाले बताए ।

थापाको उपलब्धिहरू
-सन् २००७ मा थाइल्यान्डमा इन्टरनेसनल मार्शल आर्ट्समा गोल्ड मेडल प्राप्त ।

-एमएएआई (मार्सल आर्ट्स एसोसिएसन इन्टरनेसनल) बाट बुदो अवार्ड र मास्टर डा. अवार्ड प्राप्त ।

-प्रोपर ब्रुश ली जित कुण्डो मार्सल आर्ट पहिलो पुस्ताका सिफु टेडवाङबाट सर्टिफाइड दोश्रो पुस्ताका अन्तर्राष्ट्रिय जित कुण्डो प्रशिक्षक सिफु जोक्युन मार्सिलोसंग सन् २००९ देखि तालिम लिएको ।

-तेश्रो पुस्ताका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा हाल दोस्रो श्रेणीको इन्स्ट्रक्टर ।

-श्रीलंका, भारत र कयौँ देशमा जित कुण्डो मार्शल आर्टस् सिकाएको ।