जिन्स लगाउँदा प्रतियोगिताबाट निष्कासित


एजेन्सी ।

पाँच पटकको विश्व चेस च्याम्पियन मेग्नस कार्लसन वर्ल्ड रेपिड र ब्लित्ज च्याम्पियनसिपबाट निष्कासित भएका छन्। नर्वेली चेस ग्रान्डमास्टरमाथि ड्रेस कोडको उल्लंघन गरेको आरोपमा अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे) ले खेल्न वञ्चित गर्दै जरिवाना पनि तिराएको छ ।

फिडेले जनाएअनुसार कार्लसनले प्रतियोगितामा ड्रेस कोडको पालना गर्न अस्वीकार गरेका थिए। यसैले उनलाई खेल्न अयोग्य घोषित गरिएको पनि फिडेले जनायो।

फिडेले उनीहरूको आधिकारिक सोसल मिडिया हेन्डलमा बतायो-चिफ आर्बिटरले कार्लसनलाई उनको ड्रेस बदलन अनुरोध गरेको थियो। तर, उनले अनुरोध अस्वीकार गरे। यसैले कार्लसनलाई प्रतियोगिताको नवौं चरणको लागि खेल्न वञ्चित गरिएको छ।

फिडेले बतायो कि यो निर्णय निष्पक्ष नियममा लिएको हो र सबै चेस खेलाडीलाई समान नियम लागू हुन्छ। सबै खेलाडी समान देखिनुपर्छ, यसैले ड्रेस कोड निर्धारित गरिएको हुन्छ ।

ड्रेस कोड नियम फिडे एथलिट आयोगका सदस्यहरूबाट तयार गरिएको हो। यो नियम पहिलेदेखि नै लागू छ र सबै चेस खेलाडीलाई प्रतियोगिताअघि बताइएको हुन्छ।

कार्लसन जिन्स लगाएर न्युयोर्कमा भइरहेको प्रतियोगितामा पुगेका थिए। उनले पहिले ड्रेस कोड लगाउन अस्वीकार गरेका थिए। उनीमाथि २०० अमेरिकी डालरको जरिवाना लगाइएको हो। कार्लसन २०११ देखि वल्र्ड रेङ्किङमा नम्बर एकमा छन्।
कार्लसन पाँचपटक क्लासिकल चेस च्याम्पियनसमेत हुन्।

यसका साथै उनी पाँचपटकको वर्ल्ड रेपिड च्याम्पियन, सात पटकको वल्र्ड ब्लित्ज च्याम्पियन तथा छ पटक नर्वेका चेस च्याम्पियनसमेत हुन्।

यसअघि रूसी चेस ग्रान्डमास्टर इयान नेपोमनियाचचीलाई पनि स्पोट्र्स जुत्ता लगाएर खेल्दा ड्रेस कोडको उल्लंघन गरेकोले जरिवाना तिराएको थियो। नेपोमनियाचचीले यसको पालना गरे र उनले पछि निर्धारित पोशाक लगाएर खेल्न आएका थिए।