ललितपुर ।
आयोजक ललितपुर स्पोट्र्स क्लब र थापाथली चेस पार्क क्लब सातौं तुल्सीलाल स्मृति चेस राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको फाइनलमा पुगेका छन्।
थापाथली चेस पार्क क्लब दुई पटकको तुल्सीलाल स्मृति राष्ट्रिय टिम क्लब चेस च्याम्पियनसिपको विजेतासमेत हो । ललितपुर स्पोट्र्स क्लबले प्रतियोगिताको उच्च वरीयताका दावेदारका रूपमा रहेको टोली ललितपुर महानगरपालिकालाई निकै प्रतिस्पर्धा खेलमा २.५ अक जोडेर पराजित गरेको हो । ललितपुर महानगरपालिकाले साढे १ अंकमात्र जोड्न सफल भयो।
फिडे मास्टर क्षितिज भण्डारी प्रतियोगिता अवधिभर उत्कृष्ट लयमा रहेका आयोजक क्लबका रिसोन थापासँग पराजित भएका थिए । रिसोनले महत्वपूर्ण १ अंक जोडेपछि फिडे मास्टर रुपेश जैशवाल र सीएम सजिन महर्जन बीचमा बराबरी रहे । जसको फाइदा ललितपुर स्पोट्र्सले उठायो ।
त्यसपछि आयोजक टोलीको तर्फबाट दोस्रो बोर्डमा खेलेका शैलेन्द्र न्यौपाने र चौथो बोर्डमा खेलेका विनिता कपालीले बराबरीमा टुंग्याउन सफल भए । त्यसै गरी थापाथली चेस पार्क क्लबले डिफेन्डिङ च्याम्पियन दोलखा चेस होमलाई ०.५ को विरुद्ध ३.५ अंक लिएर हरायो ।
थापाथली चेस पार्ककी महिला च्याम्पियन सिन्दिरा जोशीले निर्णायक खेलमा दोलखा चेस होमकी पुजा भण्डारीसँग १ अंक खोसेर टोलीलाई जित दिलाउन सहयोगी बनिन्। यसअघि थापाथलीका रिजेन्द्र राजभण्डारी र राजन सुवेदी, सुशील चौधरी र सुश्रत दाहाल तथा आशिष फुयाँल बीचको खेल बराबरीमा सकिएको थियो।
प्रतिक्रिया