नेरु भारुसँग पेग हुनुका कारण र आर्थिक परिणाम

2.63k
Shares

नेपाल र भारतबीच सशक्त सांस्कृतिक, आर्थिक र भौगोलिक सम्बन्धहरू शताब्दीयौँदेखि छन्। ऐतिहासिकरूपमा नेपालले आफ्नै मुद्रा जारी गर्नुअघि कतिपय सीमावर्त नेपाली बजारमा भारतीय मुद्राको प्रयोग हुन्थ्यो । तर दुवै देशका बीच औपचारिक विनिमय दर भने सन् १९९३ मा कायम भयो। नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंकसँग मिलेर नेपाली रुपियाँलाई भारतीय रुपियाँसँग स्थायीरूपमा १ भारतीय रुपियाँ बराबर १.६ नेपाली रुपियाँको दरमा पेग गर्‍यो । यो निर्णय ९० को दशकको शुरूमा मुद्रासम्बन्धी अस्थिरताका कारण गरिएको थियो । तर समयसँगै मुद्राको सटही दर परिवर्तन गर्ने प्रयत्न गरिए तापनि स्थायी दर भने पुरानै कायम रहिरह्यो ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार थियो, जसले गर्दा आयात–निर्यातलाई सहज बनाउन त्यस समय स्थिर विनिमय दरको आवश्यकता बढ्दो देखिन्थ्यो । भारतीय रुपियाँसँग नेपाली रुपियाँ पेग गर्दा नेपालले मुद्रासम्बन्धी अस्थिरता घटाउन सक्यो, जसले व्यापार र लगानीका लागि स्थिर वातावरण प्रदान गर्नुको साथै व्यावहारिकतामा निकै सहयोग गर्‍यो । पेग प्रणालीले नेपालमा ६०–६५ प्रतिशत आयात भारतबाट हुने हुँदा आयातको मूल्यलाई स्थिर राख्न सहयोग गर्दथ्यो। साथै अन्तर्राष्ट्रिय आयात र निर्यातको कारोबार वृद्धिमा यसले सहजरुपमा नेपाली मुद्राको मूल्यांकन विदेशी मुद्रासँग गरेर निकै सहजता र व्यापारीकरणमा सहयोग गर्‍यो।

यही कारणलाई मध्यनजर राख्दै सरकारले मुद्राको विनिमय दर सुनिश्चित ग¥यो र हालसम्म पनि हामी नेपालीहरु यही पेग प्रणालीअनुसार मुद्राको कारोबार केवल भारतसँग मात्र होइन विश्वको हरेक मुद्रासँग गर्ने गर्दछौं। समयक्रमसँगै धेरै नेपाली युवाहरुले वैदेशिक रोजगारीबाट रेमिट्यान्स पठाउने प्रवृत्तिको विस्तार हुँदै गयो, जुन अवस्थामा स्थिर विनिमय दरले अझ प्रभावकारी मुद्राको सटही बनाउन मद्दत गर्‍यो । विगतको समयमा नेपाल भ्रमणमा आउने प्रमुख पर्यटकहरू भारतीय नै थिए, त्यसैले भारतबाट आउने पर्यटकहरूको लागि स्थिर विनिमय दरले लेनदेनलाई सरल बनाउन निकै सहज परिस्थिति बनायो, जसले गर्दा मुद्रा पेगको महत्व नेपालीहरुको लागि बढ्दै गयो ।

आजको समयमा पनि हाम्रो मुद्राको मूल्यांकन विश्वको हरेक मुलुकसँग भारतीय रुपियाँसँगै गर्ने गरिन्छ । प्रत्येक सेकेन्डमा विश्वको हरेक मुद्राको विनिमय दर फरक–फरक हुन्छ तर हाम्रो नेपाली मुद्राको सटही दर भारतीय रुपियाँमा सधैँ एकसमान रहिरह्यो । अहिलेको अवस्थालाई नियाल्ने हो भने भारतीय मुद्राको विनिमय दर करिब दुई वर्षदेखि ओरालो लागेको छ, जसले गर्दा नेपालको मुद्राको सटही दर डलरसँग अहिलेसम्मकै महँगो सटही दरको रुपमा भेटिएको छ।

आजको समयमा अमेरिकी १ डलर किन्नलाई नेपाली १३५.६६५ (०८\१२\२०२४) रुपियाँ तिर्नुपरेको छ। आखिर कहिलेसम्म भारतीय मुद्राको मूल्य घट्नेछ र नेपाली मुद्राको मूल्यांकन पनि त्यही अनुसार खस्किँदै जानेछ ? नेपाली बोर्डरको होटल, रेस्टुरेन्टहरुमा नेपाली १.३५ रुपियाँको सटही दर भारतीय १ रुपियाँसम्म पुगेको छ। यसअनुसार नेपाली मुद्राको मूल्यदर बढेको पाइन्छ, साथै नेपालको करिब २६.६ प्रतिशत आम्दानी वैदेशिक रोजगारबाट प्राप्त हुन्छ । साथै कालोबजारी र मनी लोन्डरिङजस्तो आम्दानीका स्रोतहरू पनि नेपालमा तुलनात्मकरुपमा भारतीय देशको स्रोतभन्दा कम भेटिन्छन्। यस्तै विविध कारणले गर्दा नेपाली मुद्राको मूल्यांकन विद्यमान भारतीय मुद्राको सटही दरभन्दा बढी हुन आउँछ भन्ने बहसहरु निकै चलिरहेका पनि छन्।

तर यसको अर्को पक्ष पनि छ, भारतको आर्थशास्त्र विगत केही वर्षदेखि सुधारात्मक देखिन्छ, जसले गर्दा भारतीय जीडीपी, व्यवसायीकरण र औद्योगिकीकरणमा निकै प्रगति भएको देखिन्छ। जसको अर्थ भारतीय मुद्राको माग र आपूर्ति विश्वबजारमा बढेको देखिन्छ, सोही कारणले गर्दा भारतीय मुद्राको मूल्यांकन क्रमशः घट्दै गएको छ । यस समयमा नेपाली मुद्रा भारतीय मुद्रासँग पेग गर्नु नेपालीहरुको लागि फाइदा वा नोक्सान भन्ने प्रश्नले नेपालीहरुको मानसपटलमा स्थान पाइरहेको छ।

के नेपालको आर्थिक भविष्य स्वतन्त्र विनिमय दरमा निर्भर छ त ? नेपालले दशकौँसम्म भारतीय मुद्रासँगको स्थिर विनिमय दरमा आफ्नो मुद्रा बाँधेर आर्थिक स्थिरता कायम राखेको छ । तर आजको जटिल आर्थिक परिवेशमा यो प्रणालीले दीर्घकालीन फाइदा दिने वा नयाँ चुनौतीहरूको आधार सिर्जना गर्ने सवाल गम्भीर बहसको विषय बनेको छ ।

अर्थशास्त्रीहरुले पनि यसबारेमा धेरै नै अनुसन्धान तथा रिसर्च गरिरहेका छन्, किनकि पेग सिस्टम निरन्तरतामा हामी नेपालीको फाइदा पनि छ। साथै सिस्टम हटाउँदा पनि नेपाली मुद्राको पहिचान र मूल्यांकन विश्वको मुद्रासँग हुन्छ, जसले गर्दा नेपाली मुद्राको क्रय–विक्रयमा प्रत्यक्ष आर्थिक उन्नतिको सम्भावना पनि उत्तिकै बढ्ने आँकलन गर्न सकिन्छ।

पेग नगर्दा हुने सम्भावित परिणाम

१. विनिमय दरमा अस्थिरता : बाँधविनाको अवस्थामा, नेपाली रुपियाँको विनिमय दर बजारको माग र आपूर्तिमा आधारित हुनेछ, जसले गर्दा विनिमय दरमा बारम्बार उतारचढाव हुन सक्छ । नेपालको सानो अर्थतन्त्र भएकाले यो बाह्य झट्का (इक्सटर्नल सक्स) मा बढी संवेदनशील छ । राजनीतिक, व्यापारिकजस्ता विभिन्न अस्थिरताले भारतसँगको सीमानजिकको व्यापारमा संलग्न व्यवसायको अनिश्चितता बढाउन सक्छ, जसले आयात र निर्यात मूल्यहरू, मुनाफा र बजेटमा प्रभाव पार्न सक्छ।

२. भारतसँगको व्यापारमा प्रभाव : आयात लागतको कुरा गरौं । भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार हो, जसले नेपालको ६० प्रतिशतभन्दा बढी आयात पुर्‍याउँछ, जसमा पेट्रोलियम उत्पादनहरू, खाद्य सामग्रीहरू र निर्माण गरिएका वस्तुहरू समावेश छन् । स्थिर विनिमय दर नहुँदा, नेपाली रुपियाँ भारतीय रुपियाँको तुलनामा कमजोर भएमा आयात लागत बढ्न सक्छ । यसले विशेष गरी आवश्यक सामग्रीमा महँगी निम्त्याउन सक्छ । साथै यस निर्णयलाई हामीले हालसालै लियौं भने, सन् २०२६ मा नेपाल अति कम विकसित देशबाट विकासोन्मुख देशमा परिवर्तन नहुने प्रबल सम्भावना हुन आँउछ । यता निर्यात प्रतिस्पर्धात्मकतातर्फ कुरा गर्दा, नेपाली रुपियाँको मूल्य घटेमा नेपालबाट भारतमा निर्यात सस्तो हुनेछ, जसले नेपाली निर्यातलाई प्रतिस्पर्धात्मक बनाउन सक्छ । तर नेपालको निर्यात आधार सानो भएकाले यसको आर्थिक फाइदा सीमित हुन सक्छ ।

३. रेमिट्यान्स र मुद्रास्फीतिमा प्रभाव : नेपालले आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ठूलो हिस्सा भारतमा कार्यरत नेपाली कामदारहरूद्वारा पठाइने रेमिट्यान्सबाट प्राप्त गर्छ । यदि नेपाली रुपियाँ भारतीय रुपियाँको तुलनामा कमजोर भयो भने, रेमिट्यान्सको मूल्य नेपाली रुपियाँमा वृद्धि हुनेछ, जसले नेपाली परिवारहरूलाई थप आम्दानी प्रदान गर्नेछ । तर नेपाली रुपियाँ बलियो भएमा भारतबाट पठाइने रेमिट्यान्सको मूल्य कम हुन सक्छ । यसै गरी, कमजोर नेपाली रुपियाँले आयात गरिएका वस्तुहरू महँगो बनाउँछ, जसले निम्न आय भएका घरपरिवारलाई प्रतिकूल असर गर्न सक्छ । तर दीर्घकालमा यदि अर्थतन्त्रमा सुधार आयो भने, नेपालको मुद्रा स्थिर हुन सक्छ । यदि नेपालले आफ्नो मुद्रा (नेपाली रुपियाँ) भारतीय रुपियाँ (आईएनआर)सँग नबाँध्ने निर्णय गर्‍यो भने, यसले अर्थतन्त्रमा धेरै महत्वपूर्ण परिवर्तन ल्याउन सक्छ । भारतीय रुपियाँसँगको बाँधले नेपालको सानो व्यापारमा निर्भर अर्थतन्त्रलाई स्थिरता दिएको छ । तर स्वतन्त्र विनिमय दरमा जाने वा अर्को मुद्रासँग बाँध्ने निर्णयले केही फाइदा र चुनौती ल्याउन सक्छ ।

४. मौद्रिक नीति नियन्त्रणको हानि र वित्तीय दबाब : स्वतन्त्र विनिमय दरमा गएमा नेपाल राष्ट्र बैंकलाई स्वतन्त्र मौद्रिक नीति अपनाउने थप लचकता मिल्न सक्छ तर दक्ष व्यक्तिहरु र उपयुक्त रणनीति बनाउन सक्ने क्षमतावान् व्यक्तित्वको अभावमा अझ यो निर्णय देशको अर्थतन्त्रमा हानिकारक हुन सक्छ । यद्यपि, भारतीय अर्थतन्त्रसँगको उच्च निर्भरताले गर्दा नेपाल राष्ट्र बैंकले भारतीय मौद्रिक नीतिहरूको निगरानी गर्नुपर्दछ । विनिमय दर उतारचढावले सरकारी ऋणलाई महँगो बनाउन सक्छ, जसले नेपालको वित्तीय नीति र विदेशी मुद्रा कोषमा दबाब बढाउनेछ ।

५. ठूलो विदेशी मुद्रा कोषको आवश्यकता : स्वतन्त्र विनिमय दरमा गएमा, नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कोषलाई विविधीकरण गर्न आवश्यक पर्दछ, ताकि कुनै संकटको समयमा मुद्रा स्थिर राख्न सकियोस् । नेपालका सीमित विदेशी मुद्रा स्रोतहरूलाई ध्यानमा राख्दै यसले थप जोखिम र चुनौती ल्याउन सक्छ ।

६. क्षेत्रीय र अन्तर्राष्ट्रिय वैकल्पिक पेगको सम्भावना : यदि नेपालले भारतीय रुपियाँसँग बाँध छोड्ने निर्णय गर्छ भने, यसले नेपाली रुपियाँलाई अमेरिकी डलरजस्ता थप स्थिर मुद्रासँग बाँध्न सक्नेछ । यसले स्थायित्व प्रदान गर्न सक्छ तर यसले नेपाल र भारतबीचको विनिमय दरमा असर पार्न सक्छ, जसले नेपालको व्यापारलाई असर गर्न सक्छ । वैकल्पिकरूपमा, नेपालले क्षेत्रीय या मुद्रा बास्केट प्रणाली अपनाउन सक्छ, जहाँ नेपाली रुपियाँको मूल्य विभिन्न मुद्राहरूको मिश्रणमा बाँधिन्छ । यसले समग्रमा नेपाली रुपियाँलाई स्थिर बनाउन सक्छ तर यसले आर्थिक र प्रशासनिक चुनौती पनि ल्याउनेछ ।
निष्कर्ष
के नेपालको आर्थिक भविष्य स्वतन्त्र विनिमय दरमा निर्भर छ त ? नेपालले दशकौँसम्म भारतीय मुद्रासँगको स्थिर विनिमय दरमा आफ्नो मुद्रा बाँधेर आर्थिक स्थिरता कायम राखेको छ । तर आजको जटिल आर्थिक परिवेशमा यो प्रणालीले दीर्घकालीन फाइदा दिने वा नयाँ चुनौतीहरूको आधार सिर्जना गर्ने सवाल गम्भीर बहसको विषय बनेको छ । नेपाली मुद्राको पेग भारतीय मुद्रासँग हुँदा दशकौंदेखि नेपालले धेरै सहजता र फाइदा पनि उठाएको छ तर पनि समय–समयमा नेपाली अर्थतन्त्रले हानि र जोखिम पनि नउठाएको भने होइन ।

के नेपालीहरुले बिस्तारै वित्तीय परियोजना र लक्ष्य बनाउँदै योग्य जनशक्ति र रणनीति लिएर स्वतन्त्र एवं उच्च नेपाली मुद्राको मूल्यांकनको रणनीति लिनुपर्ने आवश्यकता छैन र ? के नेपालले भारतीय अर्थतन्त्रको छायाबाट बाहिर निस्किएर स्वतन्त्र आर्थिक पहिचान बनाउन सक्छ ? वा भारतसँगको गहिरो व्यापारिक र सांस्कृतिक सम्बन्धलाई मजबुत गर्दै, स्थिर विनिमय दरकै संरक्षण गर्नुपर्ने हो ?

यो प्रश्नले नेपाली नीति निर्माता, व्यवसायी र नागरिकलाई सोचमग्न बनाएको छ त ? तर नेपालको आर्थिक भविष्यलाई नै पुनः परिभाषित गर्ने मोडमा पुर्‍याएको छ । नेपालको अर्थतन्त्रको यो संवेदनशील निर्णयले समग्र देशलाई आर्थिक समृद्धिको नयाँ दिशामा लैजान सक्छ वा मौद्रिक संकटको भुमरीमा फसाउन सक्छ, यो समयले मात्र बताउनेछ । तपाईं के सोच्नुहुन्छ ? नेपाली मुद्राको पहिचानको लागि अबको सही निर्णय के होला ?