अर्सनालाई तेस्रो स्वर्ण


काठमाडौं ।

वडा १७ की अर्सना महर्जनले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शनिवार स्वर्ण जितेकी छन्।

अर्सनाले फाइनलमा वडा १२ की रोनिशा महर्जनलाई १३–११, ११–५ र ११–८ ले पराजित गर्दै स्वर्ण जितिन्। योसँगै अर्सनाले प्रतियोगितामा व्यक्तिगत तेस्रो स्वर्ण समेत जितेकी छन् । यसअघि उनले यु–१२ गर्ल्स सिंगल्स र महिला टिम इभेन्टमा स्वर्ण जितेकी थिइन् । वडा ८ की सुरम्य शाक्य र वडा १७ की अर्पिता महर्जन तेस्रो भए।

ललितपुर महानगरपालिका वडा ९ द्वारा आयोजित प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा वडा १६ की साइरा शाक्य र यु–१२ ब्वाइज सिंगल्समा सोही वडाका स्वर्णिम शाक्य पहिलो भए। पाटनको गःछेंःमा भएको गर्ल्स फाइनलमा साइराले वडा १९ की एमरिन महर्जनलाई ११–७, ११–६ र ११–७ को सोझो सेटमा हराइन् । वडा ८ की सुरम्य शाक्य र वडा १२ की इशान्वी महर्जन तेस्रो भए।

ब्वाइजको प्रतिस्पर्धात्मक फाइनलमा स्वर्णिमले आफ्नै वडाका रिभानमुनि वज्राचार्यलाई ११–९, ११–१३, ११–८, ११–१३ र ११–७ को सेटमा पाखा लगाए । वडा ११ का निर्भिक शाक्य र वडा १८ का सुभान खड्का तेस्रो बने।

भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा वडा १३ का पूर्णशंकर श्रेष्ठ पहिलो भए। उनले फाइनलमा वडा १० का आनन्द धाक्वालाई ११–९, ५–११, ११–७, ८–११ र ११–९ को सेटमा पन्छाए । वडा ३ का किरणकुमार विष्ट र वडा १९ का जगदीश्वरप्रसाद जोशीले तेस्रो स्थानमा चित्त बुझाए ।

यसअघि वडा ५ की ममतासिंह राजभण्डारीले भेट्रान ४० वर्षमाथि महिला सिंगल्स, वडा ७ ले पुरुष टिम इभेन्ट र वडा २० ले पुरुष भेट्रान टिम इभेन्टमा पहिलो स्थान हात पारेका थिए ।