एनओसीको अध्यक्षमा श्रेष्ठ तेस्रोपटक निर्वाचित


काठमाडौं ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गत अध्यक्ष पदमा भएको अनलाइन निर्वाचनमा वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ निर्वाचित भएका छन्।

शनिवार अनलाइनमार्फत भएको निर्वाचन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को प्रतिनिधिको रोहबरमा भएको दाबी गरिएको छ। यसको लागि एक दिनअगावै आइओसीका प्रतिनिधिले अनलाइन निर्वाचन गर्न प्रशिक्षणसमेत दिएको पनि जनायो।

एनओसीको निर्वाचनमा श्रेष्ठसहित तत्कालीन महासचिव निलेन्द्रराज श्रेष्ठ र उपाध्यक्ष तेजबहादुर गुरूङले उम्मेदवारी दिएका थिए । तर, तेजबहादुरले श्रेष्ठको समर्थनमा उम्मेदवारी फिर्ता लिएका थिए। अनलाइन निर्वाचनमा खसेको सबै २० भोटमध्ये श्रेष्ठले प्राप्त गरेका हुन् । एनओसीमा २७ संघका प्रतिनिधि मताधिकार प्राप्त छन्।

अध्यक्षका अर्का उम्मेदवार निलेन्द्रराजसहित सुनिलकुमार श्रेष्ठ, समिम मियाँ अन्सारी, पुष्पदास श्रेष्ठ, मनिष जोशी र राजीवविक्रम शाहीले मतदानमा भाग नलिएको एनओसीले जानकारी दियो। यसअघि एनओसीका कुल १९ मध्ये १८ पदका लागि सबै उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन्।

सर्वोच्चको अवज्ञा

यो निर्वाचन गरेर एनओसीले सर्वोच्च र उच्च अदालतको आदेशलाई अवज्ञा गरेको छ। उच्चले दिएको आदेशविरुद्ध एनओसीले गत मंसिर १७ गते विशेष साधारणसभा गरेर अध्यक्ष र महासचिव ४ कार्यकालसम्म बन्न सक्ने प्रावधान पास गरिएको दाबी छ।

सोहीअनुरूप एनओसीले निर्वाचन प्रक्रिया अघि बढायो। सरकारले निर्वाचन रोक्न गत पौष ८ गते एनओसीको भवनमा प्रहरी परिचालन गरेर प्रवेश रोक लगाइयो । तर, चतुर एनओसीका पदाधिकारीहरूले अनलाइनमार्फत मनोनयन दर्ता गरेका थिए। त्यसपछि सर्वोच्चले बिहीबार (पौष ११ गते) निर्वाचन रोक्न दिएको अन्तरिम आदेशलाई पनि एनओसीले अटेर गर्‍यो।

त्यही आदेशलाई आधार मानेर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एनओसी र त्यसमा आबद्ध संघका प्रतिनिधिलाई निर्वाचन नगर्न नगराउन सूचना जारी गरेको थियो । एनओसीले न अदालतलाई मान्यो, न राखेपलाई मान्यो एनओसीका १९ सदस्यीय कार्य समितिका पदाधिकारी चयन गरेरै छाड्यो ।

वर्तमान उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले भने सर्वोच्च अदालतको आदेश मान्दै निर्वाचनमा भाग नलिने निर्णय लिए । उनी अध्यक्ष पदमा मनोनयन दर्ता गर्ने तरखरमा थिए । तर, अन्य कोही पनि पदाधिकारीहरूले सर्वोच्चको आदेशको मान राखेनन् ।