वुमन्स च्यालेन्जर कपको उपाधि टिम अकलालाई


पोखरा । पोखरामा सम्पन्न दोस्रो वुमन्स च्यालेन्जर कप टी २० क्रिकेट प्रतियोगिताको उपाधि टिम अकलाले जितेको छ ।

राउन्डरोविन लिगको आधारमा भएको प्रतियोगितामा रनरेटमा टिम विन्ध्यवासिनी र भद्रकालीलाई पछि पार्दै अकला च्याम्पियन बन्न सफल भएको हो ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन भएको थियो । चार टिम सहभागि तीन दिनसम्म चलेको प्रतियोगितामा टिम भद्रकाली, अकला र विन्ध्यवासिनीले समान ३ खेल खेल्दा २ जित र १ हार व्यहोर्दै समान ४–४ अंक प्राप्त ग¥यो । टिम बाराही भने ३ खेलमै हार व्यहोर्दै जितिविहिन भयो ।

शुक्रबार सम्पन्न प्रतियोगिताको पहिलो खेलमा ११४ रनको विजयी लक्ष्य पाएको अकला २० ओभरमा ६विकेट गुमाउँदै १०५ रनमा सिमित हुँदा भद्रकालीले ८ विकेटको जित हासिल गर्न सफल भएको हो । अकलाका लागि सिर्जना पौडेलले ४५ रनको योगदान दिइन् ।कृष्टीना अर्यालले ११ रनको योगदान दिइन् । भद्रकालीका लागि रेजिना विकले २ तथा पुुर्णिमा गुरुङले १ विकेट लिइन् ।

टस जितेर ब्याटिङ थालेको भद्रकालीले २० ओभरमा ३ विकेट गुमाउँदै ११३ रन बनायो । भद्रकालीका लागि रेखा तामाङले ५४ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलिन् । उनी जारी प्रतियोगितामा अर्धशतक बनाउने पहिलो खेलाडी हुन् । यस्तै सिर्जना विकले १९ रन जोडिन् । अकलाको लागि सुशिला डिमडुङ र सिर्जना पौडेलले १-१ विकेट लिइन् ।

बाराहीलाई विन्ध्यवासिनीले ३८ रनले हराएको छ । १२३ रनको विजयी लक्ष्य पाएको बाराही १३.२ ओभरमा ८४ रनमा अलआउट हुन पुग्यो । बाराहीका लागि विनिता नेपालीले सर्वाधिक २४ रनको योगदान दिइन् । यस्तै विन्दु ठकुरीले १७ तथा यशोदा भुजेलले १४ रनको योगदान दिइन् । विन्ध्यवासिनीका लागि मेघा खड्गी र चन्द्रमाया बरालले समान ३-३ विकेट लिइन् ।


त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विन्ध्यवासिनीले २० ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाउन सफल भयो । विन्ध्यवासिनीका लागि चन्द्रमाया बरालले ४३ रनको योगदान दिइन् । सफलता भुजेलले १८ रनको योगदान दिइन् । बाराहीका लागि यशोदा भुजेलले ३ तथा सोफिया गुरुङले २ विकेट लिइन् ।


सम्पन्न प्रतियोगिताबाट प्रधानमन्त्री कप र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्की जिल्लाबाट खेलाडी छनौट गरिनेछ ।