कार्यकर्ताको नेतृत्व गर्न नसकेको व्यक्तिले ३ करोड जनताको नेतृत्व गर्छु भन्दा कसरी विश्वास गर्ने?


हामी ब्याचलर,मास्टर्स डिग्री अध्ययन गरिरहेका अध्ययनशील बर्गले आफ्नो बिचार,दृष्टिकोण र क्षमतालाई फराकिलो सहित गहकिलो बनाएर लैजानु पर्छ। हरेक हिसाबले समाजमा सकारात्मक प्रभाव पार्न सक्ने ताकत राख्ने हामी आफै अरुको प्रभावमा रह्यौ भने सामाजिक सद्भाव खलबलिने र अराजक मौलाउने हुन सक्छ। समाज परिवर्तन गर्ने सपना बितेर जाने कुरामा दुईमत छैन। हामी घुलित हुनुपर्छ तर हामी  चिनि जस्तो गुलियो होइन,नुन जस्तै चर्को बन्न सक्नु पर्छ। अराजकता,अन्याय र हेपाह प्रवृत्तिका विरुद्धमा राजनीतिक,सामाजिक र व्यावहारिक कुरामा सचेत हामी कुनै व्यक्तिमाथि ठाडो अन्याय हुँदा बोल्न सक्नुपर्छ।

१० औं  महाधिवेशनमा आफूसँगै  उम्मेदवार बनेकै भरमा नेकपा (एमाले) पूर्वउपाध्यक्ष डा.भीम रावलमाथि पार्टी नेतृत्वले गरेको व्यवहार र नेतृत्वले गरेको गलत निर्णय प्रति सिङ्गो पार्टी मौन बन्नु पार्टीलाई थप निरंकुशता तर्फ प्रोत्साहन गर्नु हो। यदि पार्टी भित्र सामान्य नागरिक अट्न ठाउँ  छैन भने कसरी ३ करोड नेपाली नागरिक अट्न सक्छन? कुनै एकजना व्यक्तिको अभिव्यक्ति राख्नपाउने स्वतन्त्रतामाथि प्रतिबन्धको अन्कुश लगाउने निर्णय पार्टी नेतृत्वले गर्नु तानाशाह प्रवृत्ति झल्किनु हो। उक्त व्यक्तिको अभिव्यक्तिसँग  डराएको हो। कोही कार्यकर्ताले पार्टी सुधारका लागि  यो गर्न जरुरी छ भन्दा कारबाहीको भागेदार बन्नुपर्ने कारण खासै केही देखिँदैन।नेतृत्वको यस्तो प्रवृत्तिले चाकडीबाज,झोले,र कमिसनखोर कार्यकर्ता उत्पादन गर्नुबाहेक अन्य विकल्प देखिँदैन। रचनात्मक क्रीयाशिल तथा सैद्धान्तिक भावी नेता उत्पादन गर्न तर्फ ध्यान देखिँदैन। असली नेता त्यो हो जसले आफू जस्तै १०० नेताहरु उत्पादन गर्न सक्छ। असली नेता त्यो होइन असले कार्यकर्ता उत्पादन तिर मात्रै ध्यान केन्द्रित गर्छ र आफूलाई मात्र नेताको दर्जा दिन्छ अनि आत्म रतिमा रमाएर बस्छ। अहिले नेकपा (एमाले) भित्र आत्मरति मा रमाउने प्रवृत्ति हावी हुँदै गइरहेको देखिन्छ।

आफ्ना बिचार र मतलाई कुण्ठित पार्नु पर्छ र आफू भन्दा अगाडीको व्यक्तिले गलत नै गरेपनि गलतलाई सही भन्नुपर्छ भन्ने किसिमको जुन मानसिकता निर्माण गर्न खोजिँदैछ पार्टी सङ्गठन भित्र त्यो एकदमै दु:खद कुरा हो। कुनै व्यक्ति आफ्नो प्रतिस्पर्धा बन्न भिन्न मत बोकेर आयो वा आफ्नो कुरासँग सहमत भएन भन्ने कुरामा कारबाही गर्नु कत्तिको जायज हुनसक्छ? यदि सिङ्गो पार्टी एक जनाको ईशारमा हिँड्ने हो। लाखौँ कार्यकर्ताको मनोभावनाको कदर नगर्ने हो भने अहिलेको नेकपा (एमाले) र पुरानै तानाशाह हरुमा के भिन्नता रहन्छ? त्यसैले पार्टी सङ्गठन भित्र जुनसुकै तहको नेतृत्व होस यदि उसले निरंकुशता लादेर तानाशाह प्रवृत्ति प्रदर्शन गर्न खोज्छ भने हामी त्यसको विरोधमा रहेर त्यही पदले मातेर तानाशाहको मात लागेका हरुलाई सच्याउन सक्ने आठ राख्नुपर्छ।

 सुदूरपश्चिम र सिङ्गो कर्णालीमा प्रभुत्व कायम गर्न सक्ने एमाले भित्रको एकमात्र नेता रावल हुन। २०७९ को चुनावमा उनी प्रतिनिधिसभा उम्मेदवार नबेकै कारण र पार्टीले गरेको अपहेलनाको कारण त्यहाँको एमालेको पक्षमा आएको हारको परिणाम हामीलाई ताजै याद छ। हामी अहिले एकदमै कमजोर अबस्थामा रहेको कुनै क्षेत्र छ भने त्यो यिनै दुई ठाउँमा हो सधै जितेर आफ्नो किल्ला स्थापित गर्ने क्षेत्रमा पनि हार बेहोर्नु पर्‍यो। त्यो ठाउँमा जितको झन्डा फहराउन डा.रावल को विकल्प छैन। यदि अझै कारबाही गरेर डा.रावल लाई अर्को खामासम्म पुर्‍याएर एमालेको विरुद्धमा लाउने प्रपञ्च कायमै रह्यो भने एमाले भन्ने गरेको मिसन 84 स्वभाबिक तवरले सोचेअनुरुप भन्दा भिन्नै परिणाम निस्किनी कुरामा दुईमत छैन। त्यसैले तुरुन्तै डा.भीम रावल माथि गरिएको प्रतिसोधपुर्ण कारबाही यथाशीघ्र फिर्ता लिनुपर्छ। पार्टीको लागी यही  फलदायी हुनेछ।

पार्टी महासचिव क.शंकर पोखरेलले पार्टीप्रति कटिबद्ध हुन अनुशासन र आचरणको अपरिहार्यता बारे एआईलाई सोधेर सम्प्रेषण गरेको कुराले नै स्पष्ट के देखिन्छ की डा.रावललाई कारबाही गर्ने विधानको कुनै धाराले निर्देश गरेको थिएन। यो केवल आफूले समर्थन नपाएको र भिन्न मत राख्दै केही सल्लाह दिने आट गरेकै भरमा प्रतिशोध सहितको कारबाही विधान सम्मत नरहेको पुष्टि हुन्छ। के एआईको बिचार नै पार्टीको विधान होर? के विधान र हरेक कालखण्डमा बनाएका पार्टीगत नीतिहरू कमजोर बनेकै हुन? यदि त्यसो हो भने अब  हामीले पनि आफ्नो बिचार,दृष्टिकोण,लक्ष्य सहितको संकल्प र सत्यकुरामाथि वकालत गर्न खोज्यो कारबाही हुन्छ। अब आफ्नो सबै सोच त्यागौँ। एआईले खोजेर दिएको बिचारलाई अङ्गीकार गरौँ। कारबाही मुक्त बनौँ भन्नु बाहेकको विकल्प रहेन।

पार्टी र भातृ सङ्गठन भित्र खुबी भएका, आफ्नो बिचार बोक्ने, समाज सुहाउँदो तार्किक कुरा गर्न सक्ने, वैचारिक सिद्धान्तलाई डटेर अङ्गीकार गर्ने, अत्यधिक कार्यकर्ताले रुचाएका, कसैको लोभ प्रलोभनमा नपर्ने, नेतृत्वले गलत गर्दा सच्याउन सक्ने, डर धम्की र त्रासलाई जितेर आफू अनुकूल,समाज र देशको सर्वोपरि हित अनुकूल तथा पार्टी संगठन अनुकूल आफ्नो एजेन्डा स्थापित गर्न सक्ने बौद्धिक ब्यक्तीहरुलाई खोजी-खोजी भित्तामा पुर्‍याउनु पर्छ भन्ने किसिमको बिचारमा कमजोर,सिद्धान्तमा अन्योल, आन्दोलन तुहाउने र मानसिक चिन्तनको अभाव पार्टी सङ्गठन नेतृत्वमा रहेका अग्रजहरुमा देखिन्छ। भनिन्छ नि नजिकको तिर्थहेला हो ठ्याक्कै त्यस्तै आफ्नो पार्टी सङ्गठनमा जो साँच्चिकै सङ्हर्शको भट्टीबाट जन्मिएर पार्टी  सङ्गठनको सैद्धान्तिक बाटोमा बलियो देखिने नैतिकवान् नेताहरुलाई पार्टी सङ्गठन को जिम्मेवार बाट वञ्चित गर्ने र भित्तामै पुर्‍याउनुपर्छ भनेर नचाहिने शीर्षकमा कारबाहीको सिकार गर्ने अनि अन्य पार्टी सङ्गठनका दलाल,चोर,फटाहा,नैतिकहिन,गैरजिम्मेवार व्यक्ति हरूलाई पार्टीमा भित्र्याउन देश दौडाहामा होमिनु पार्टीको लागी एक ठुलो बिपद हो।

आफ्नो घरभित्र भएका सामान्य विवाद मिलाउन नसक्ने तर बाहिर बाहिर अर्काको घरबाट दलाल,चोर फटाहहरुलाई आफ्नोमा भित्र्याउन खोज्नु र अभिव्यक्तिमा सबैलाई मिलाएर लैजान सक्छु भन्ने किसिमको भ्रमित कुराहरु सुन्दा आफैलाई लाज लागेर आउँछ। पार्टी नेतृत्व सुनको खोजीमा दौडिरहँदा हिरा गुमाएको देख्दा एक कर्मनिष्ठ पार्टी प्रति कटिबद्ध सङगठन प्रति चासो चिन्ता भएको एक जिम्मेवार नागरिक को हैसियतले एकदमै दु:खद कुरा हो।
यो प्रतिसोधपुर्ण मानसिकता पार्टीका भातृ सङ्गठनमा पनि देखा पर्न थालेका छन्। पार्टीको नर्सरी को रुपमा काम गर्ने भातृ सङ्गठन मध्यको एक ठुलो सङ्गठन (विद्यार्थी सङ्गठन) अनेरास्ववियु पनि हो।

म आफैपनि अनेरास्ववियु क्याम्पस तहको कमिटीमा आबद्ध भएको र सिङ्गो अनेरास्वबियु सङ्गठन भित्र देखेका तथ्य घटनाक्रमहरु जो साच्चै अराजनीतिक,गैरब्याबहारिक, तथा असामाजिक छन्। यस्ता किसिमका गतिबिधि अखिल नेतृत्वमा रहेका अग्रजहरु आफैले जानेर वा आफ्नो बल बुद्धिको प्रयोग गरेर सिर्जित भएका होइनन। यि घटनाक्रम पार्टी नेतृत्वकै सिको गर्दै आएको र केही पार्टी नेताको छहारीमुनि रहेर अरुको बल बुद्धि र सामर्थ्यले फैलाउन खोजिएको अराजकता हो भन्ने ठम्याई छ।

आफ्नै भित्रका चाकडिबाज, झोले, चम्चागिरि गर्दै नाराबाजीको होडबाजी चलाउने, सहीलाई सही र गलतलाई गलत छुट्याएर भन्न नसक्ने, नेतृत्वले सेतोलाई कालो अनि कालोलाई सेतो भन्दा होहो भन्दै कुरेला मार्ने, दुईजना नयाँ  व्यक्तिसँग  बिचारको बहस गर्न नसक्ने, कुनै एकजनाको भक्त बन्ने, पार्टी सङ्गठनको खुलेर कुरा गर्न नसक्ने,चाप्लुसी बाजहरुको हातमा शक्ति थुपारेको देख्दा अबको पार्टी सङ्गठन कतातर्फ लम्किरहेको छ भन्नेकुरा पनि अन्योलमै छ। यस्ता ढोङ्गीहरुको हातमा शक्ति केन्द्रित गर्दाको परिणाम ०८४ मा एमाले पार्टीको हालत अहिलेको माओबादिको स्थितिमा नपुग्ला भन्न सकिँदैन। विभिन्न किसिमका सम्भावनाका आयामहरु बोकेका क्षमतावान ब्यक्तिहरुलाई वञ्चित गराउनु पार्टी सङ्गठनक लागि ठुलो खाडल सहित बन्चरो तेर्साउनु हो।

अनेरास्ववियु पार्टी होइन उसको एउटा भातृ सङ्गठन हो। यो पार्टी बलियो बनाउने नम्बर एक नर्शरीको रुपमा स्थापित छ। तर अहिले भने अराजकता, निरंकुशता सहितको तानाशाह प्रवृत्ति नेतृत्व हरुमा देखा परिरहेको छ। विभिन्न कुराको हिसाब राख्ने विद्यार्थीहरु जो-साच्चिकै भविश्यका कर्णधार हुन र हरेक तवरले बौद्धिक प्रतिस्पर्धा गर्न मैदानमा तयार रहन्छन। उनीहरुलाई सङ्गठन प्रति आकर्षित गर्नु पर्ने,प्रेरित गर्नुपर्ने ठाउँमा उल्टै सङ्गठन भित्रका केही क्षमतावान ब्यक्तीहरुलाई छानि छानि लखेटि लखेटि कारबाही गरेर बाहिर्याउन खोज्नु निकै नै दुखदायी छ। कुन व्यक्तिले कहाँ गयो कोसँग गयो कुन ठाउँना बस्यो र के-के कुरा गर्‍यो भन्नेकुराको सुराकी गर्न पठाउने र व्यक्तिगत कुरालाई सङ्गठन सँग जोडेर कारबाही गर्ने बाटो तय गर्ने अहिलेका नेतृत्वहरु यो कुराले आफैमा एकदमै कमजोर देखिन्छन्।

तोकिएको जिम्मेवारीमा ठाडो हस्तक्षेप गर्ने र विवाद सिर्जना गर्ने कार्य पनि अखिल नेतृत्वबाट भई रहेकोकुरा सबैमाझ छर्लङ्ग छ। अनेरास्ववियु केन्द्रीय सदस्य क.उज्ज्वल भण्डारीमाथि गरेको कारबाही एकदमै लाजमर्दो र घिनाउने तरिकाको बाटो अपनाएर गरेको कुराले नेतृत्वलाई कार्यकर्ता प्रति  घृणित नजर कायम गरेको छ। नेतृत्वको बिचारमा सहमत नभएर त्याको बस्तुस्थितको विषयमा आफ्नो बिचार राख्न खोज्दा त्यो मतलाई निमिट्यान पार्नलाई गरिएको ठाडो हस्तक्षेप हो क.उज्ज्वल माथिको कारबाही। आफ्नो बिचारमा सहमत नहुने,आफूसँग नहिँड्ने हरेक प्रभावशाली व्यक्तिलाई खोजिखोजी कारबाही गरेको कुराले नेतृत्व आफैमा एक अराजनीतिक हुन भन्ने ठहर हुन्छ। प्रभावशाली व्यक्ति क.उज्ज्वल जस्ता व्यक्तिलाई प्रोत्साहन गरेर सङ्गठन बनाउन खटाउनु पर्ने हो। क्षमता भएकाब्यक्तिलाई कारबाही गरेर आसेपासेलाई जिम्मेवारी दिनु भन्दा यस्तै क्षमता भएका ब्यक्तिहरुको खोज गरी अन्य जिम्मेवारी पनि प्रदान गर्नु पर्ने हो। 
तर, आफूसँग हिड्ने,आफ्नो गलत कुरालाई पनि स्वीकार गर्ने, आफ्नो रुचाइएको जिल्ला,क्षेत्रमा जसले जे गरेपनि हुन्छ भन्ने किसिमको मानसिकताले गुज्रिएको नेतृत्व आफै अक्षम देखिन्छन्। त्रिबिमा समानन्तर गतिविधि गर्‍यो भन्ने नाजायज तर्क दिने सङ्गठन नेतृत्वले आफ्नै गृहजिल्लामा आफैले समानन्तर गतिविधिमा तल्लीन रहँदा नीति,नियम र विधान को उल्लंघन नहुने जस्तो देखिन्छ। पार्टी सङ्गठन भित्रपनि नेतृत्वमा रहेका ब्यक्तिहरुका लागी कानुन छैन । उनीहरूले आफ्नो आसेपासे लाई पोस्न जुनसुकै हदसम्म गिर्न सक्ने केही घटनाक्रम को तथ्यले देखाएको छ।

भिन्न मत राख्नै नहुने, निरंकुशताको पराकाष्ठा, नेतृत्वमा बसेर विवादै-बिबादको सृन्खला सिर्जना गर्ने, सामान्य विवादको निर्मलीकरण गर्ने खुबी र सामर्थ्य राख्न नसक्ने, आफ्नो क्षेत्र,जिल्ला र आफू निकट व्यक्तिले जेसुकै गरुन, जस्तो रमिता देखाउन त्यो रमिताको अगाडि अन्धो बन्ने, ग्राउन्ड सत्यतथ्य नबुझेर दुईचार जना चाकडिबाजहरुको सल्लाहमा कठपुतली टान्डप देखाउने व्यक्ति सबै कार्यकर्ताको नेतृत्व (नेता) हुनै सक्दैन। भिन्न मत राख्न खोज्यो कि सक्काउनु पर्छ भन्ने गैरमानसिकता बोक्नेले ठुलो समर्थकको जमात जसभित्र पक्ष विपक्ष मतभेद हुन्छ। यी सबैलाई मिलाएर एउटै मालामा उनेर आन्दोलनलाई अगाडि बढाउन सक्दैन भने त्यो नेता होइन। र मान्न सकिँदैन पनि। मुखले आफू नेता हुँ भन्नलाई पाइएला र आत्मरतिमा रमाउने कुरा फरक छ तर कार्यकर्ता माझ बाट लखेटिनु पर्ने किसिमको माहोल सिर्जना अवश्य बन्छ। जाबो केही हजार संख्यामा अनेरास्ववियुमा आबद्ध भएका विद्यार्थी नेता-कार्यकर्ताको भिन्न मतको कदर गर्न नसक्ने मान्छेले देशका सबै विद्यार्थीको पक्षमा वकालत गर्दा र नेतृत्व गर्न सक्न्छु भन्दा कसरी बिश्वार गर्न सकिन्छ?  

पार्टी सदस्यता लिएका केही लाख कार्यकर्ताको नेता बन्न नसकेको मान्छे कसरी ३ करोड जनताको नेता बन्न सक्छ भनेर विश्वास गर्नु? यो एक नेपाली नागरिकको मात्र प्रश्न होइन। यो एक पार्टी र संगठन प्रति चासो,चिन्ता बोकेको र देशका खातिर आफ्नो यात्रा पार्टी संगठन तिरै तय गरेर अगाडी बढिरहेको नेकपा (एमाले) को सिद्धान्त कटिबद्ध एक होनहार युवा विद्यार्थी कार्यकर्ताको प्रश्न हो। सिधा-सिधा भन्नुपर्दा नेतृत्व प्रति गरिएको अविश्वास हो।

(लेखक गोपाल जङ्ग शाही अनेरास्ववियु अस्कल क्याम्पस कमिटीको सचिव हुन् )