काठमाडौं ।
काठमाडौं जेभियर्स पब्लिक स्कुल र हेम्सले १३ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन्। दोहोरो उपाधि चुमेको काठमाडौं जेभियर्स जुनियर ब्वाइज र सिनियर गर्ल्समा च्याम्पियन बन्यो। हेम्सले सिनियर ब्वाइजमा बाजी मार्यो।
जुनियर ब्वाइजमा काठमाडौं जेभियर्स र सियिनर ब्वाइजमा हेम्स लगातार तेस्रोपटक च्याम्पियन बनेका हुन्। शंखमूलस्थित लिभरपुल स्कुलमा भएको जुनियर ब्वाइजको फाइनलमा काठमाडौं जेभियर्सले मार्बलसलाई ३९–३१ ले पराजित गर्यो। विजयी टिमका लागि अनमोल कुशुवारले ३० अंक जोडे । सनसाइन तेश्रो भयो।
सिनियर गल्र्सको उपाधि भिडन्तमा काठमाडौं जेभियर्सले ११ औं र १२ औं संस्करणको उपाधि विजेता इनोभेटिभलाई २५–१६ ले हराउदै ह्याट्रिक उपाधि जित्नबाट रोक्यो । काठमाडौं जेभियर्सकी दिप्रेन्जा बोहराले १७ स्कोर गरिन् । एसियन पब्लिकले तेश्रो स्थानमा चित्त बुझायो ।
प्याब्सन मध्य क्षेत्रीय समितिद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजको फाइनलमा हेम्सले सनसाइनलाई ५४–४० ले पाखा लगायो । हेम्सका लागि सुशान्त आचार्यले १८ अंक जोडे । मार्बलस तेस्रो बन्यो ।
सिनियर ब्वाइजमा हेम्सका सुशान्त आचार्य, सिनियर गर्ल्समा जेभियर्सकी सुहानी बानियाँ र जुनियर ब्वाइजमा जेभियर्सका अनमोल कुशुवार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा सनसाइनका सोनाम तामाङ, सिनियर गल्र्समा इनोभेटिभकी विद्या कुमाल र जुनियर ब्वाइजमा मार्बलसका नवीन कार्की प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।
सिनियर ब्वाइजमा अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए), सिनियर गल्र्समा लिभरपुल र जुनियर ब्वाइजमा हेम्सले अनुशासित टिमको ट्रफी पाए । विजेतालाई काठमाडौं जिल्ला प्याब्सनका अध्यक्ष प्रेमकुमार राई र वरिष्ठ उपाध्यक्ष नवराज भट्ट, बागमती प्रदेश प्याब्सनका वरिष्ठ उपाध्यक्ष मुरारीप्रकाश सन्जेल, काठमाडौं महानगर प्याब्सनका अध्यक्ष गगनसिंह ऐर, प्याब्सन मध्य क्षेत्रीय समितिका अध्यक्ष धनप्रसाद सुब्बा र पूर्व अध्यक्ष दिनेश पाण्डे, प्रतियोगिता संयोजक समेत रहेका आयोजकका उपाध्यक्ष तेजप्रकाश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
पुस ६ गतदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १४ तथा जुनियर ब्वाइज र गल्र्समा समान १२–१२ टिम सहभागी थिए । लिभरपुल बाहेक खेलहरु नयाँ बानेश्वरस्थित काठमाडौं जेभियर्समा पनि भएको थियो ।
प्रतिक्रिया