ह्वाइटफिल्ड अन्तरविद्यालय बास्केटबल सम्पन्न


काठमाडौं ।

नयाँबजारस्थित ह्वाइटफिल्ड स्कुलले आयोजना गरेको उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा मेगस स्कुल पहिलो भएको छ। बिहीबार भएको कक्षा ९ सम्मका (जुनियर) विद्यार्थीतर्फको फाइनल खेलमा कीर्तिपुरको मेगस स्कूलले रेडियन्ट पब्लिक स्कुललाई ४२–२९ को अन्तरले हराएको हो।

यो हारले नागार्जुनको रेडियन्ट स्कुल दोस्रो स्थानमै सीमित भएको थियो । यस तहमा मेगसका सिमोन रामजाली सर्वोत्कृष्ट खेलाडी घोषित भए। त्यसै गरी कक्षा १२ सम्मका (सिनियर) विद्यार्थी तर्फको उपाधि कालोपुलको जेभियर इन्टरनेसन कलेजले जित्यो । फाइनलमा जेभियरले पुरानो बानेश्वरको गोल्डेन गेट कलेजलाई २०–१७ अंकले हराएको हो । यस तहमा जेभियरका ऋदुस केसी सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

गत पौष ५ गतेदेखि सञ्चालित यस प्रतियोगिता ५×५ (कक्षा ९ सम्मका विद्यार्थी) र ३×३ (कक्षा ११ र १२ सम्मका विद्यार्थी) गरी २ तहमा विभाजित थियो । लिग कम नकआउट आधारमा खेलाइएको प्रतियोगिताको दुवै तहमा १२/१२ टिमको सहभागिता रहेको थियो।

समापन तथा पुरस्कार वितरण कार्यक्रममा ह्वाइटफिल्ड स्कुलका विद्यार्थीहरूले गीत र नृत्य प्रस्तुत गरी कार्यक्रमलाई मनोरञ्जनपूर्ण बनाएका थिए भने उपस्थित अतिथिहरूलाई विद्यालयका प्रिन्सपल पारस श्रेष्ठले स्वागतगर्दै व्यक्ति स्वस्थ रहन सकेमा मात्र समाज स्वस्थ हुन सक्ने तर्क राख्दै जीवन, समुदाय र समग्र देशको लागि खेलकुद अति महत्वपूर्ण भएको बताउनु भयो ।

यस समापन कार्यक्रमका प्रमुख अतिथि काठमाडौं क्षेत्र न. ८ का प्रतिनिधि सभा सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलगायत अन्य अतिथिबाट विजयी विद्यालय र विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो । यस कार्यक्रममा बोल्दै उहाँले देश विकासको लागी राजनीतिक स्थायीत्व र पारदर्शिता अहिलेको आवश्यकता उल्लेख गर्दै खेलकुदको विकासको लागि आफू निरन्तर लागीरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।