तोकेकै समयमा स्ववियु निर्वाचन गर


त्रिभुवन विश्वविद्यालयले फागुन १५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने भएको छ। परिषद्को निर्णयसँगै देशैभरका क्याम्पसमा निर्वाचनको सरगर्मी बढेको छ । केही विद्यार्थी संगठन निर्वाचनको तयारीमा छन् भने केहीले केही बोलेका छैनन् । सरकार आबद्ध अनेरास्ववियुले फागुन १५ मै निर्वाचन गर्नुएपर्ने भन्दै तयारी थालेको छ।

अन्य विद्यार्थी संगठन नबोल्नुको कारण संगठनभित्रै आन्तरिक द्वन्द्व हो । अनेरास्ववियु क्रान्तिकारीमा उमेर विवादको कारण महाअधिवेशन हुन सकेको छैन। नेविसंघमा शेखर कोइराला र शेरबहादुर देउवा पक्षको विवादको कारण समस्या बढ्ने देखिएको छ।

जे जस्तो परिस्थिति भएपनि गतवर्ष नै त्रिविसभाले निर्णय गरी यस वर्ष फागुन १५ मा निर्वाचन गर्ने निर्णय गरेको थियो । यसरी त्रिविसभाले निर्णय गरिसकेको विषयमा कसैले विरोध गर्नु हुँदैन । योसँगै स्ववियु परिषद्ले निर्णय गरेको विषयमा विद्यार्थी संगठनले निर्वाचन गर्न सहयोग गर्नुको विकल्प छैन। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयलाई निर्वाचन गर्ने जिम्मा दिएको हो । सो बैठकले निर्णय गरेर कार्यान्वयन गर्नु निर्देशनालयको कर्तव्य हो। निर्देशनालयले त्रिविका पदाधिकारीसँग छलफल गरी निर्वाचनको तालिका सार्वजनिक गर्नेछ।

कानुनतः एक महिनाअघि कार्यतालिका सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। त्यसलगत्तै विद्यार्थी संघ संगठनसँग छलफलगरी थप प्रक्रिया अघि बढाउने प्रावधान छ। निर्देशनालयले निर्वाचनको आचारसंहिता सार्वजनिक गर्ने, उम्मेदवार मनोनयनदेखि निर्वाचन गर्नेसम्मको प्रक्रियाको विषयमा विद्यार्थी संघ, संगठनसँग छलफल गर्नेछ।

त्रिविले आफ्नो कार्यतालिकाअनुसार नै निर्वाचन गर्ने घोषणा गरिसकेको छ। त्यसको लागि त्रिविका कुलपति एवं प्रधानमन्त्री र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग छलफल गर्नेछ। त्यसबाहेक निर्वाचन सुरक्षाको लागि तीनै सुरक्षा निकायसँग छलफल गर्ने तयारी गरेको छ। स्ववियु पदाधिकारीको दुईवर्षे कार्यकाल सकेसँगै त्रिविले स्ववियु निर्वाचन गर्न लागेको हो । त्यससँगै दुई वर्षअघि स्थगित भएका उपत्यकाका ४, उपत्यका बाहिरका ८ गरी १२ सहित ६२ वटा आंगिक क्याम्पसमा निर्वाचन हुनेछ । त्यसबाहेक झण्डै ७ सय सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुनेछ । त्रिविअन्तर्गत ६२ आंगिक र १ हजार ५३ सम्बन्धन प्राप्त क्याम्पस छन् ।

त्रिविले गएको निर्वाचन प्रणालीअनुसार प्रत्यक्ष र समानुपातिका प्रणालीमा निर्वाचन गर्नेछ। स्ववियु अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिनेछन् भने उपाध्यक्ष, सहायक सचिव र ५० प्रतिशत सदस्य सामानुपातिक प्रणालीमार्फत चुनिनेछन् । निर्वाचनमा भागलिने स्ववियु पदाधिकारी र सदस्यको उमेर हद २८ वर्ष नै कायम हुने निर्णय गरेको छ।

निर्वाचन गर्ने तयारीमा जुटेका त्रिविलाई सबै विद्यार्थी संघ र संगठनले सहयोग गर्नु कर्तव्य हो। यो वा त्यो बहानामा निर्वाचन रोक्न खोज्नु विद्यार्थी संघसंगठनको गम्भीर गल्ती हुनसक्छ। त्यसैले मिनि संसद्को निर्वाचनको रूपमा लिइएको स्ववियु निर्वाचन समयमै सम्पन्न गर्न सबै सरोकारवाला निकायको दायित्व हो।