काठमाडौं ।
क्रिसमस डे २५ डिसेम्बरसम्म युरोपियन लिगको झण्डै आधा खेल सकिएको हुन्छ। मुख्यतया चार शीर्ष युरोपियन लिगको कुरा गर्नुपर्दा इंग्लिस प्रिमियर लिग, जर्मन बुन्डेसलिगा, स्पेनी ला लिगा र इटालियन सिरी ए तर्फ को स्थिति के के रहेछ यहाँ प्रस्तुत गरिएको छ।
क्रिसमस डेसम्म इंग्लिस प्रिमियर लिगमा शीर्ष चार स्थानमा लिभरपुल, चेल्सी, आर्सनल र नटिंगम फोरेस्ट रहेका छन्। १६ खेलमा लिभरपुल ३९ अंकसहित शीर्ष स्थानमा रहेको हो। लिभरपुललाई एक खेल बढी खेलेको चेल्सीमाथि ४ अंकको स्पष्ट अग्रता छ। तर, पछिल्ला चार उपाधि जितेको म्यानचेस्टर सिटी भने १७ खेलमा २७ अंक लिएर सातौं स्थानमा रहेको छ।
यस्तै, बुन्डेसलिगामा बायर्न म्युनिख ३६ अंकसहित शीर्ष स्थानमा छ । बायर्नलाई दोस्रो स्थानको बायर लिभरक्युसेनसँग ४ अंकको अग्रता रहेको छ। तेस्रो र चौथो स्थानमा क्रमशः इन्ट्राक्ट फ्रेन्कफर्ट (२७ अंक) र आरबी लिइपजिग (२७ अंक) रहेका छन्। बुन्डेसलिगामा १५ चरणका खेल सम्पन्न भइसकेको छ।
स्पेनी ला लिगामा एटलेटिको मेड्रिड शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रियल मेड्रिड र तेस्रो स्थानमा बार्सिलोना रहेका छन्। एथ्लेटिक क्लब चौथो स्थानमा छ । १८ चरण सकिसकेको ला लिगामा अंकमा खासै धेरै अन्तर छैन। ४१ अंक जोडेको एटलेटिको रियलमाथि केवल एक अंक र बार्सिलोनामाथि ३ अंकले अघि छ । एथ्लेटिकको ३६ अंक रहेको छ।
सिरी ए मा भने एटलान्टाले अग्रता लिएको छ । एटलान्टा १७ खेलमा ४० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । यस्तै, दोस्रो स्थानमा रहेको नापोलीसँग ३८ अंक छ भने तेस्रो स्थानको इन्टरमिलानसँग ३७ अंक छ। ३४ अंकसहित लाजियो चौथो स्थानमा रहेको छ । यसमा इन्टरमिलानले १६ खेल खेलेको छ भने अन्य तीन टोलीले १७ खेल खेलिसकेका छन्।
प्रतिक्रिया