मेयर कप भेट्रान फुटबल हुने


काठमाडौं ।

श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ को संयुक्त आयोजनामा दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता पुस २२ गतेदेखि हुने भएको छ। प्रतियोगितामा २२ टिमले सहभागिता निश्चित गरिसकेको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष निरज खड्काले जानकारी गराए। ३२ को संख्यामा टिम सहभागी हुने आयोजकको अपेक्षा छ।

सहभागी टिमको दर्ता शुल्क १० हजार तोकिएको छ । काठमाडौं बाहिरबाट सहभागी हुने टिमलाई भने शुल्क लाग्ने छैन । एट ए साइड स्वरूपमा हुने प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका ४, ४५ वर्षमाथिका ३ र ५० वर्षमाथिका १ खेलाडी समावेश गर्नुपर्ने छ।

विजेताले २ लाख तथा उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ। प्रतियोगिता सञ्चालन गर्न करिब १६ लाख खर्च हुने आयोजकले जनाएको छ।

आयोजक वडाले ५ लाख रुपियाँ उपलब्ध गराएको जानकारी दिइयो। पुस २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू जावलाखेल मैदानमा खेलाइने छ। गत संस्करणको उपाधि कुपण्डोलले जितेको थियो।