च्यालेन्जमा नेपाललाई एक पदक पक्का


काठमाडौं ।

जारी नेपाल इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्ज प्रतियोगितामा नेपालले कम्तीमा एक पदक पाउने पक्का भएको छ। मिक्स युगलतर्फको क्वार्टरफाइनल खेलमा नेपाली खेलाडीबिच नै भिडन्त हुने भएको हुँदा नेपालको पदक पक्का भएको हो।

मिक्स युगलमा क्षितिज खनाल र शोभा गौचनको जोडीको सामना ओलम्पियन प्रिन्स दाहाल र रसिला महर्जनको जोडीले गर्ने भएको हो । बुधबार सम्पन्न खेलमा खनाल र गौचनको जोडीले श्रीलंकाका थुलिथ पल्लियागुरु र पान्चाली अधिकारीको जोडीलाई १८–२१, २४–२२ र २४–२२ ले हराएको थियो। यसअघि थाइल्यान्डका खेलाडीले नाम फिर्ता लिएपछि प्रिन्स र रसिलाको जोडीले अन्तिम आठमा स्थान पक्का गरेको थियो।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको च्यालेन्जमा अन्य नेपाली खेलाडीको प्रदर्शन भने निराशाजनक भएको थियो। मिक्स युगल तर्फकै अन्य खेलमा देव राना र शेष्ना सिर्पालीको जोडी थाइल्यान्डका नोन्ताकोर्न थोङ्ग–अन र कोडचापोर्न चाइछानाको जोडीसँग २१–९, २१–१४ ले पराजित भयो।

यस्तै, भोजबहादुर गुरुङ्ग र अन्जना राईको जोडी अमेरिकाका प्याट्रिक ची र नाताली चीको जोडीसँग २१–११, २१–८, अमन महर्जन र निता लम्सालको जोडी भारतका मोहित जगलान र लक्षिता जगलानको जोडीसँग २१–१०, २१–१२ तथा सुनिल जोशी र एलिना सुनारको जोडी थाइल्यान्डका अपिचासित थिराविवत र पन्नवी पोलियामको जोडीसँग २१–८, २१–६ ले पराजित भए।

पुरुष युगलतर्फ नेपालका आशलाग्दा खेलाडी प्रिन्स दाहाल र श्रीलंकन दुमिन्दु अवेविक्रमेको जोडीले पनि नेपालको लागि खुसी दिलाउन सकेन । उक्त जोडी पराजित भएको थियो । महिला युगल तर्फको खेलमा नेपालकी नम्बर एक खेलाडी रसिला महर्जन र अमिता गिरीको जोडी श्रीलंकाका हसिनी अबलङ्गगोदागे र हसरा विजयरत्नेको जोडीसँग पराजित भएको थियो।