सिरियामा इजरायली आक्रमणको उद्देश्य

470
Shares

आजका शक्ति सम्पन्न राष्ट्रहरू विश्वभर नै आफ्नो आधिपत्यता कायम गर्न व्यस्त छन् । आधिपत्य कायम गर्ने आधार स्रोत साधन, सैन्य शक्ति, ठूलो जनसंख्या, ठूलो क्षेत्रफल आदि बढी देखिएको छ। उदाहरणका लागि रुस ठूलो क्षेत्रफल भएको देश हो। चीन केही समय अघिसम्म विश्वमै सबैभन्दा ठूलो जनसंख्या भएको देश हो। जापान प्रविधिका आधारमा अहिले पनि विश्वमा उच्च श्रेणीमा अंकित छ । स्रोत र साधनका हिसाबले संयुक्त राज्य अमेरिका विश्वमै सर्वोच्च स्थान हासिल गरेर बसेको छ । यी देशहरूको सबैको साम्राज्यवादी सोच र उच्च महत्वाकांक्षाका कारण ठूला ठूला युद्धहरू भएका छन् । आजका दिनसम्म पनि विभिन्न क्षेत्रमा विश्वका शक्ति सम्पन्न राष्ट्रहरूका बीचको गठबन्धन कै कारणले द्वन्द्व सिर्जना भएको छ । सामान्य र कमजोर देशहरू पनि यो आधिपत्यता कायम गर्न तल्लीन देशको चपेटामा परिराखेका छन् । उनीहरूको सार्वभौमसत्तामा समेत बेलाबखत अतिक्रमण हुने गरेको छ ।

इराकमा संयुक्त राज्य अमेरिकाको सैन्य हस्तक्षेप हुनु र सद्धाम हुसेनलाई मृत्युदण्ड दिनुका पछाडि पनि यस्तै शक्ति सम्पन्न देशहरूको इज्जत र प्रतिष्ठाले ठूलो भूमिका खेलेको थियो । भियतनाम अमेरिकी युद्ध, अफगानिस्तानमा रुस र अमेरिकी चासो र अतिक्रमण, अरब इजरायल युद्ध, लिबियामा कर्नेल गद्दाफीको अन्त्य विद्रोहीहरूको कब्जामा राखी हुने परिस्थिति सिर्जना गर्नु, पाकिस्तानमा रहेका ओसामा बिन लादेनलाई पाकिस्तानको कुनै अनुमति नै नलिई संयुक्त राज्य अमेरिकाका सेनाहरू प्रवेश गरी हत्या गर्नु आदिलाई प्रतिनिधि घटनाका रूपमा लिन सकिन्छ । मध्ये प्रदेशमा कर्नेल गद्दाबी र सद्दाम हुसेनलाई दिइएको मृत्युदण्ड यी सबैका पछाडि त्यहाँ रहेको अपार प्राकृतिक स्रोत साधनको दोहन शक्ति सम्पन्न राष्ट्रहरूले गर्ने वातावरण तयार पार्नका लागि हो । यसमा विमति राख्ने राष्ट्रसेवक राष्ट्रप्रेमी नेताहरू नै किन मारिएका छन्। देशबाटै पलायन गरिएका छन्।

पछिल्लो समय रुस, इरान र टर्कीविरुद्ध संयुक्त राज्य अमेरिकाको अस्वस्थ स्वार्थलोलुप प्रतिस्पर्धा सिरियामा लामो समयदेखि भएको थियो । बसर अल असदले तथाकथित निर्वाचनमार्फत आफूलाई राष्ट्रपति घोषणा गर्दै २४ वर्ष निरन्तर शासन गरे । उनका पिताजीले यसअघि नै करिब २५ वर्ष शासन गरिसकेका थिए । बसर अल असद र उनका पिताजीसमेत गरी यो वंशको तानाशाही शासनको चपेटामा सिरियाली जनताहरूले ५० वर्षसम्म नारकीय जीवन बिताउन बाध्य हुनु प¥र्यो । बसर अल असद तानाशाही प्रवृत्ति मै शासन सञ्चालन गर्न अभ्यस्त रहे । उनले करिब पाँच लाख स्वतन्त्र प्रेमी सिरियालीहरूलाई हत्या गरिदिए । यी नागरिकहरूको पक्षमा संयुक्त राज्य अमेरिका र तानाशाही शासक बसर अल असदको पक्षमा संयुक्त राज्य अमेरिका रुसको नेतृत्वमा इरानले संलग्नता दिइरहेको थियो । ५० वर्षको तानाशाही शासनलाई सिरियाली जनताले अन्त्य गरे । बसर अल असद रुसको शरणमा छन्।

सिरियाली जनता स्वतन्त्रता प्राप्त गरेको खुसियाली मनाइरहेका छन् । यही घडीमा इजरायलले सिरियामा राजधानी सहरमासमेत हवाई आक्रमण गरिराखेको छ । सन् १९७४ देखि सैन्यविहीन क्षेत्र वा बफर जोनको रूपमा रहने गरी सम्झौता भई राखेको गोलान हाइट क्षेत्रमा स्थल सेनासमेत तैनाथ गरी सिरियामाथि इजरायलले आक्रमण तीव्र बनाएको छ । आखिर यो आक्रमण किन भइराखेको छ ? यसको गन्तव्य के हुन सक्छ ? के यो आक्रमणले निरन्तरता पाइरहने सम्भावना छ त ? यसपछिको सिरियाको भविष्य कस्तो हुने हो ? यसले आफ्नो सत्ताको रक्षा गर्न सक्ने हो वा होइन ? यिनै विषयहरूमा यस आलेखलाई केन्द्रित गर्ने प्रयास गरिएको छ।

चीन व्यापारिक स्वार्थका कारणले मात्रै लोकतान्त्रिक देशहरूसँग सम्बन्ध विस्तार गरिराखेको छ । अन्यथा यसले पनि साम्यवादी मुलुकसँग सम्झौता गर्दै हातेमालोका साथ युद्धमा होमिने सम्भावना बढी राखेको छ । दक्षिण कोरिया स्वभावतः संयुक्त राज्य अमेरिकालगायत पश्चिमा मुलुकसँग नजिक छ। उत्तर कोरिया साम्यवादी देश भएकै कारणले रुससँग मिलेर युक्रेनमा लोकतान्त्रिक देशसँग आमनेसामन्ने गरिराखेको छ।

सिरियाबाट खेदिएका तानाशाही शासक बसर अल असद रुसमा शरण लिरहेका छन् । सिरियाली जनता स्वतन्त्रता प्राप्त गरेकोमा खुसियाली मनाउँदै छन् । यही घडीमा इजरायलको आक्रमण सिरियामाथि हुँदा उनीहरू आश्चर्यमा छन् । संक्रमणकाल गुज्रिरहेको अवस्थामा सरकारसम्म बन्न सकेको छैन । सिरियालाई कसरी एउटा जिम्मेवार र लोकतन्त्र वा नागरिक तन्त्र प्रेमी शासकको जिम्मा लगाई स्वतन्त्रताको सास फेर्न सकिन्छ ? भनी तयारी अवस्थामा रहेका सिरियालीहरू माथि अर्को थप पीडाको सामना गर्नु परिराखेको छ । उनीहरू किंमकर्तव्यविमूढ छन् । आफ्ना सैनिक केन्द्रहरू, हातहतियार खरखजाना भण्डारहरू, अन्तर्राष्ट्रिय विमानस्थलहरूमाथि अन्धाधुन्द हमला भइराखेको पीडादायी दृश्य हेर्न विवश भएका छन् ।

संयुक्त राष्ट्र संघको पहलकदममा सन् १९७४ मै सिरिया इजरायलसमेत संलग्न गराई गोलान हाइट क्षेत्रलाई सैन्यविहीन क्षेत्रको रूपमा कायम गरी बफर क्षेत्र कायम गर्ने समझदारी गरेको क्षेत्रमा नै अहिले इजरायली सैनिकहरू रहेका छन् । त्यहाँका विद्यालय, बस्ती कृषि व्यवसाय सबै खतरामा छन् । विद्यालयमा अनलाइन शिक्षा दिन थालिएको छ । त्यस वरिपरिका क्षेत्र सिरियाका अन्य पाँच गाउँहरूमा इजरायली सैनिकले त्यहाँका बासिन्दालाई घरबाट बाहिर ननिस्कन आदेश दिएका छन् । यो युद्ध र आक्रमण आवश्यकताअनुसार निरन्तरता पाइरहने उत्घोष इजरायली प्रधानमन्त्री नेता न्याहुले गरेका छन् । इजरायलका रक्षामन्त्री यो बफर जोनमा सधैँका लागि इजरायली सैनिक तैनाथ हुने र गोलान हाइट क्षेत्र पूरै इजरायलले लिई त्यसभन्दा उताको भागमा मात्र सिरिया र इजरायलको क्षेत्र कायम हुने भनिराखेका छन् । यो आक्रमणको उद्देश्य गोलान हाइट क्षेत्रमात्र कब्जा गर्ने हो भन्ने सन्दर्भमा पनि विश्लेषकहरूले आशंका गरिराखेका छन् । इजरायल एक्लै यो लडाइँ गरिराखेको छैन । उसको मात्रै बलबुतामा सिरियामाथि आक्रमण भएको किमार्थ होइन । यसका पछाडि शक्ति सम्पन्न राष्ट्र संयुक्त राज्य अमेरिकाको सहयोग रहेकोमा धेरैजसो विश्वस्त छन् । गाजा क्षेत्रमा भएको व्यापक नरसंहार जारी नै छ । यसमा अरब क्षेत्रका राष्ट्रहरू द्वन्द्वमा छन् । उनीहरू यो आक्रमणको बदला लिने सोचमा रहिरहेको अवस्थामा सिरियामाथि भएको आक्रमण इजरायल मात्रैले गरेको हो भन्ने पुष्ट्याइँ गर्न सकिन्न । विश्व राजनीतिमा अध्ययन गर्ने जो कोहीले पनि यसका पछाडि विश्वशक्तिहरूको ध्रुवीकरण हुने विश्लेषण गरिराखेका छन् ।

इजरायलको यस प्रकारले सिरियामाथिको आक्रमणको उद्देश्य के हुनसक्छ ? के यो आक्रमणमा पुरै सिरिया नै नियन्त्रण गर्ने रणनीति हो ? अथवा यस सम्बन्धमा अन्य कुनै निहित स्वार्थ इजरायलको रहेको छ । यस बारेमा विविध प्रकारका विश्लेषण भइराखेका छन् । प्रधानमन्त्री नेता न्याहु र रक्षामन्त्रीको अभिव्यक्ति सुन्दा इजरायलको आक्रमण लामो समयसम्म सिरियामाथि जारी रहने आभास मिलेको छ । यसका पछाडि उसले रणनीतिक हिसाबले महत्वपूर्ण देखिएको हर्मन पहाडलाई आफ्नो नियन्त्रणमा लिई राख्ने सबैभन्दा ठूलो उद्देश्य रहेको देखिन्छ । प्यालेस्टाइनहरूले पटक पटक इजराइलमाथि धाबा बोलेको, सिरियाली पटक पटक इजरायलमाथि आक्रमण गरिराखेको र इरानले पनि यही रवैया अपनाउँदै गएका कारणले पनि इजरायल बढी सतर्क हुनै पर्ने स्थिति छ । यो हर्मन पहाड त्यस एरियाको सबैभन्दा अग्लो स्थानमा रहेको छ । यसमा सुरक्षा सैन्य तैनाथ गरी आफ्नो देशको सुरक्षाको लागि ठूलो मद्दत पुग्ने सोचाइबाट इजरायली आक्रमण भएको पाइन्छ । जसरी सन् १९६२ मा चीनसँग युद्ध हारेपश्चात भारतले नेपालको लिम्पियाधुरा क्षेत्रमा आफ्नो सैन्य तैनाथ गर्ने सोच बनाई नेपालका शासकहरुसँग समझदारी गरेर त्यो काम गरिराखेको छ । इजरायलको सन्दर्भमा निरपेक्ष रूपमा यही प्रयोजन हर्मन पहाडको भएको देखिन्छ। सिरियाको संक्रमणकालीन अवस्था भएको कारणले यो कार्य गर्न इजराएललाई सहज हुने अवस्था देखिन्छ। अर्कोतर्फ सिरियाका तानाशाही शासक अल असदलाई त्यहाँबाट धपाउन अमेरिकन सहयोग पर्याप्त मिलेको थियो।

सयुंक्त राज्य अमेरिका र इजरायलको सम्बन्ध अत्यन्त सुमधुर छ । राजनीतिक हिसाबले नजिक छन् । यस अर्थमा पनि अमेरिकन सहयोग इजरायल सैन्यलाई पछि हटाउन मिल्ने अवस्था छैन । त्यसैले मध्यपूर्वका केही देशसँग इजरायलले लडाइँ गर्नुपर्ने स्थिति हुनसक्छ । संयुक्त राज्य अमेरिकाको सहयोग यो मामिलामा इजराएललाई हुने सम्भावना पनि उत्तिकै देखिन्छ । यस अर्थमा इजरायलको गन्तव्यमा पुगी सफलता हासिल गर्न सक्ने स्थिति देखिएको छ। त्यसैले मौकाको फाइदा इजरायलले उठाउने रणनीति लिएको स्पष्ट छ। अर्का उद्देश्य शत्रु राज्यका सैन्य आफ्नो सीमा क्षेत्रमा राख्न नदिने पनि देखिएको छ।

विशेषगरी सिरियाको दक्षिणी क्षेत्र र राजधानी सहर दमस्कसमा पटक पटक इजरायलले आक्रमण गरेको छ । यो आक्रमणबाट ८० प्रतिशत हतियार, जहाजहरू, मिसाइल, लडाकु जहाज र सैन्य सामग्री ध्वस्त भएको अनुमान छ । त्यसैले सिरियालाई धेरै कमजोर बनाउन र यदि उक्त देशले इजराएलसँग लडाइँमा उत्रिने हो भने मध्यपूर्वी क्षेत्रका अन्य देशसमेतसँग मिलेर संयुक्त रूपमा युद्ध गर्नुपर्ने देखिन्छ । संयुक्त राष्ट्र सघंले सम्झौता गराई गोलायण हाइट क्षेत्रलाई सैन्यविहीन इलाका रूपमा परिणत गरिदिएको अवधिभन्दा पहिले यसका धेरै भूभाग इजरायलको भूभागको रूपमा थियो। आफ्नो भूभाग छिनेको आभास इजरायल यसैको बदला अहिलेको आक्रमण हुन सक्दछ। गोलान हाइट क्षेत्रमा इजराइलले आफ्नो कब्जा जमाई इजराइलको झण्डा गाडिसकेको छ।

सिरियालाई इजरायलले शत्रु राष्ट्रको रूपमा लिएको छ । पटक पटक यस देशसँग युद्ध भइसकेको छ । हुने सम्भावना फेरि पनि छ । सिरियामा अमेरिकन हातहतियारहरूको भण्डारै छ । त्यसैले विशेषगरी जमिनबाट लामो दूरीसम्म मार हान्ने क्षेप्यास्त्रहरू सबै नष्ट गरी शत्रु राष्ट्रलाई कमजोर बनाउने इजरायलको अर्को रणनीति हो । त्यसमा इजरायल धेरै सफल भई पनि सकेको छ । यसबाट उत्साहित भइराखेको इजरायल थप भूभागसमेत नियन्त्रण कायम गर्ने गरी अघि बढ्ने सम्भावना प्रबल देखिँदैछ ।

विश्वका ठूला ठूला शक्ति सम्पन्न देशहरूको रणनीति हेर्दा अब कमजोर र साना देशलाई आफ्नो सार्वभौमसत्ताको संरक्षण गर्न अत्यन्त कठिन बनेको छ । कुनै पनि समय ठूला शक्ति सम्पन्न राष्ट्रहरूले आफ्नो भूभागमाथि आक्रमण गरी नियन्त्रणमा लिन सक्ने सम्भावनाले सबै देशहरू प्रायः चिन्तित बनेका छन् । इजरायलको यो आक्रमणमा फ्रान्स, जर्मनी र अरबका केही देशहरूले गरिराखेका छन् । इजरायली प्रधानमन्त्री नेता न्याहुँलाई अन्तर्राष्ट्रिय अदालतले अपराधी घोषित गरी वारेन्टसमेत जारी गरिसकेको छ । युक्रेनमा रुसले आक्रमण गर्दा पनि संयुक्त राष्ट्र संघले भर्सना गरेकै हो । विश्व संस्था संयुक्त राष्ट्र संघ नै हालको अवस्थामा साना र कमजोर राष्ट्रहरूको संरक्षण गर्न असफल प्रतीत भएको छ । युक्रेनलाई रुसले लिने सम्भावना बढ्दै गएको छ।

भारत र बंगलादेश बीचको सिमानाको विवाद अन्तर्राष्ट्रिय अदालतले दिएको आदेशलाई समेत भारतले वास्ता नगर्दा संयुक्त राष्ट्र संघको हैसियत स्पस्ट भएकै हो । तर, वार्ताकै माध्यमबाट ४२ वर्षपश्चात बंगलादेशले फिर्ता गरेको छ । यस मामिलामा संयुक्त राष्ट्र संघले केही गर्न सकेको देखिएन । बाराका ओबामा प्रशासनले पाकिस्तानको भूभागमा पसी ओसामा बिन लादेनलाई हत्या गर्दा संयुक्त राष्ट्र संघ मौन बसेको थियो । इराकमा सद्दाम हुसेनलाई प्राणदण्ड दिइरहँदा पनि संयुक्त राष्ट्र संघले त्यहाँ हस्तक्षेप गर्न चाहेन । अहिलेको विश्वमा भिटो प्रयोग गर्न सक्ने सीमित देशहरूको पकडमा रहेको छ । यी देशहरूको बीचमा मात्रै मतैक्यता हुने हो भने कुनै पनि कमजोर देशहरूको सार्वभौमसत्ता अल्प अवधिमा छिनिन सक्छ । अहिले सिरिया आफ्नै घरेलु समस्याबाट गुज्रिराखेको छ ।

एउटा तानाशाहलाई देशबाट बहिरगमन गर्न बाध्य बनाएकोमा गर्वका साथ दिल खोलेर खुसियालीसमेत सिरियाली जनताहरूले मनाउन पाएका छैनन् । इजराएली आक्रमण अन्धाधुन्द भइराखेको छ । यही अवस्थामा केही दिनअघि बढ्ने हो भने सिरियाको ठूलो भूभाग इजराइलको नियन्त्रणमा आउन सक्दछ । टर्की, रुस र इरान तीनवटा देशहरू अल असदलाई सघाउन प्रत्यक्ष रूपमै लागि पर्दा पनि उनीहरू असफल भए । अब इजरायललाई पछि हटाउन यो शक्ति सफल हुने सम्भावना कम छ । किनकि सयुंक्त राज्य अमेरिका निश्चय पनि यस मामिलामा तटस्थ रहँदैन । उसले सिरिया र इजरायल बीचको द्वन्दको सुलह गरिदिन सक्दछ । अन्यथा इजरायललाई सहयोग गर्ने स्पष्ट देखिन्छ । त्यसैले यो आक्रमण लामो समयसम्म रहन सक्ने अनुमान हुँदैछ । हर्मन पहाड र गोलान हाइट क्षेत्र इजरायलले छाड्ने सम्भावना अत्यन्तै न्यून छ । उल्लेख गरेका अतिरिक्त इजरायलले ग्रेटर इजरायलको नारासमेत दिइसकेको छ । यसअघि धेरैपटक इरानसँग युद्ध गर्न परेको अवस्थाको पीडादायी स्मरण इजरायलले गरिराखेको छ । त्यसैले पनि इरानलाई निशानामा राखी यो युद्ध हुनसक्छ ।

ठूला राष्ट्रहरूसँग मुकाबिला गर्न नसक्ने संयुक्त राष्ट्र संघको उपादेयता कहाँनेर हुनसक्छ ? परीक्षण गर्नुपर्ने अवस्था छ । विश्व घटनाक्रमलाई नजिकबाट विश्लेषण गर्दा हालको संयुक्त राष्ट्र संघ दोस्रो विश्व युद्धभन्दा अगाडिको लिग अफ नेसन कै अवस्थामा पुगिसकेको छ । युक्रेन युद्धमा रुस होमिएपछि सुषुप्त अवस्थामा रहेको वारसा प्याकटलाई क्रियाशील बनाउने अभियानमा रुस जुटेको छ । सयुंक्त राज्य अमेरिकालगायत पश्चिमा देशहरू नेटोमा आबद्ध रहेका छन् । साना ठूला विशेषगरी शक्ति सम्पन्न राष्ट्रहरूका बीच शीत युद्ध चरम बिन्दुमा पुगेको छ । कुनै पनि बखत विश्व शक्ति दुई खेमामा मात्र ध्रुवीकरण भयो भने आश्चर्य मान्नुपर्ने अवस्था छैन । किनकि, चीन व्यापारिक स्वार्थका कारणले मात्रै लोकतान्त्रिक देशहरूसँग सम्बन्ध विस्तार गरिराखेको छ । अन्यथा यस देशले पनि साम्यवादी मुलुकसँग सम्झौता गर्दै हातेमालोका साथ युद्धमा होमिने सम्भावना बढी राखेको छ । दक्षिण कोरिया स्वभावत संयुक्त राज्य अमेरिकालगायत पश्चिमा मुलुकसँग नजिक छ।

उत्तर कोरिया साम्यवादी देश भएकै कारणले रुससँग मिलेर युक्रेनमा लोकतान्त्रिक देशसँग आमनेसामन्ने गरिराखेको छ। यस हिसाबले विश्लेषण गर्दा यदि त्यस्ता विकृति र विसंगतिहरू निराकरणका लागि विश्व संस्था संयुक्त राष्ट्र संघका लागि नपरेमा अथवा क्रियाशीलता नदेखाएमा तेस्रो विश्व युद्धको सम्भावना प्रबल हुँदै गएको छ । यसले विश्व शान्तिमा खलल पु¥यानेउछ । संयुक्त राष्ट्र संघको औचित्यमा प्रश्न चिह्न खडा हुन्छ । साना र कमजोर राष्ट्रमाथि शक्ति सम्पन्न राष्ट्रको थिचोमिचो अत्यन्त ज्यादा बढ्दै जान्छ । यस अवस्थामा शक्तिको आडमा सबै प्रकारका विकृति र विसंगतिलाई अंगीकार गर्दै राष्ट्रहरू अघि बढ्ने छन् । यो अवस्था सिर्जना हुनु भनेको सम्पूर्ण मानव जगतका लागि पीडादायी अवस्था बन्नु हो । यो यथार्थतालाई सम्बन्धित सबैले यथा समयमा स्मरण गरी चिन्तन गरी विश्व शान्तिको लागि एकताबद्ध हुनु आजको आवश्यकता हो ।