कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा


काठमाडौं ।

कर्णली डेभलपमेन्ट बैंक समस्याग्रस्त बैंकको रुपमा घोषणा भएको छ। बुधबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले उक्त बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो। यसअघि राष्ट्रबैंकलाई कर्णालीलाई समस्याग्रस्त उन्मुख बैंक भनेको थियो।

‘नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजत प्राप्त वित्तीय संस्था कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्ज बाँकेलाई समस्याग्रस्त संस्था घोषणा गरिएको छ’ राष्ट्रबैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ ख बमोजिम उक्त संस्थालाई समस्थाग्रस्त संस्था घोषणा गरिएको हो। आजको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि राष्ट्र बैंक ऐनको दफा ८६ ग बमोजिम कर्णाली विकास बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा हुने पनि बताइएको छ। उक्त बैंक संचालनकालागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह पनि गठन गरिएको छ।

समूहमा वित्तीय संस्था सुपरीवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ। समूहले पुस ११ गतेदेखि नै उक्त बैंकको जिम्मेवारी सम्हाल्नेछ।