ललितपुर ।
नेपाल बुद्धिचाल महासंघको क्यालेन्डरीअनुसार राष्ट्रिय प्रतियोगिताअन्तर्गत क्लब टिम चेस च्याम्पियनसिप ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बुधबारदेखि शुरू हुने भएको छ।
बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा आज लिग चरणका खेल शुरू हुने सातौं तुलसीलाल स्मृति च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत महासंघले जानकारी गरायो।
महासंघका प्रवक्ता राजु ताम्राकारकाअनुसार विश्व बुद्धिचाल महासंघ (फिडे) को तत्वावधानमा सञ्चालन हुने प्रतियोगिताको फिडे ईभेन्ट कोड ३९१८७३ रहेको छ । खेल क्लासिकल स्टान्डर्ड ९० मिनेट ३० सेकेन्ड इन्क्रिजमेन्टको हुनेछ ।
कुल सहभागी २० चेस टोलीको नाम दर्ता भइसकेको प्रतियोगितामा हरेक टोलीबाट ५ जना खेलाडी र एक जना टिम व्यवस्थापक रहने छ । अन्तर्राष्ट्रिय फम्र्याटमा खेलाइने प्रतिस्पर्धामा ३ जना खुल्लातर्फका शीर्ष खेलाडी, एक जना महिला वा युवा १६ वर्षका खेलाडीले सामूहिक स्पर्धा गर्ने छन् भने एक जना खेलाडी रिजर्भ रहने छ ।
विजेता टिमले २ लाख र उपविजेता टिमले १ लाख २० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टिमले ६० हजार, चौथो टिमले ४० हजार प्राप्त गर्नेछन् । हरेक बोर्डमा उत्कृष्ट हुने ५ खेलाडीले नगद १० हजार सान्त्वना पुरस्कार हासिल गर्नेछ । कुल नगद पुरस्कार ४ लाख ७० हजार रहेको छ ।
प्रतिक्रिया