पोखरा ।
पुस अन्तिम साता प्रधानमन्त्री (पीएम) कप र फागुन महिनामा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । त्यसैको तयारी गर्दै कास्की जिल्ला क्रिकेट संघले दोस्रो संस्करणको वुमेन्स च्यालेन्जर कप क्रिकेटको आयोजना गर्न लागेको हो।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा कास्की जिल्लाभित्रका महिला खेलाडीहरूलाई समेटेर प्रतियोगिता आयोजना गर्न लागिएको हो। संघ र प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पीएम कप र दशौंको तयारी गर्दै कास्की जिल्लास्तरीय छनौट खेलको रूपमा प्रतियोगितालाई लिइएको बताए।
उनका अनुसार कास्कीमा विभिन्न क्रिकेट क्लब भए पनि महिला क्रिकेटको विकास हुन नसक्दा खुल्ला क्याम्पको आयोजना गरिएको थियो । दुई दिनसम्म चलेको क्याम्पमा ६५ जना खेलाडीको सहभागिता रहेपछि उनीहरूलाई चार टिममा विभाजित गरेर प्रतियोगिताको आयोजना गर्न लागेको उनले जानकारी दिए।
‘हामीले पुरुषतर्फ क्लबस्तरीय प्रतियोगिता गरेका थियौं । महिला खेलाडी कम भएकाले हामीले खुल्ला क्याम्प गरायौं । त्यहाँ ६५ जनाको सहभागिता भएपछि हामीले चार टिम तयार गरेका छौं’ उनले भने, ‘हामीले चार प्रशिक्षकलाई टिम दिएका छौं यो दशौं राष्ट्रिय खेलकुद र प्रधानमन्त्री महिला क्रिकेट कप (पीएम कप) का लागि जिल्ला छनौटसमेत हो ।’
प्रतियोगितामा भद्रकाली, बाराही, विन्ध्यवासिनी र अकला टिमको सहभागिता रहेको छ। बुधबारको पहिलो खेलमा टिम अकलाले टिम बाराहीको सामना गर्नेछ । यस्तै, टिम भद्रकालीले टिम विन्ध्यवासिनीसँग दोस्रो खेल खेल्नेछ।
प्रतिक्रिया