काठमाडौं ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । पछिल्ला दुई कार्यकाल पदभार सम्हालिसकेका जीवनराम श्रेष्ठले समेत अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।
अन्य दुईमा वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र हेन्डबलका तेजबहादुर गुरुङले एनओसीको अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । तर, वर्तमान उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले पनि एनओसीका अध्यक्ष पदमा उम्मेदवारी दिने भने पनि नाम दर्ता गराएनन्।
फेन्सिङका श्रेष्ठले पाटन पुनरावेदन अदालतको आदेशको अवज्ञा हुने, राष्ट्रिय खेलकुद परिषद्को पुष ४ गते पत्रको उल्लंघन हुने र नेपाल सरकार युवा तथा खेलकुद र गृह मन्त्रालयको आदेशविपरीत हुने कारण देखाई निर्वाचनमा भाग नलिने पत्रमार्फत निर्वाचन समितिलाई जानकारी गराएका हुन् ।
७ उपाध्यक्ष निर्विरोध चयन
सात उपाध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेकोमा दुई जनाले नाम फिर्ता लिएपछि उपाध्यक्ष पदका लागि निर्वाचन गर्नु परेन। निर्वाचित हुनेमा वर्तमान उपाध्यक्ष एवं टेनिस संघकी अध्यक्ष ज्योती राणासहित पौडीका अशोकरत्न बज्राचार्य, टेबलटेनिसका चतुरानन्द राजवैद्य, तेक्वान्दोका प्रकाशसम्शेर राणा, दावा गुरुङ, हक्कीका अनिलप्रसाद शर्मा र साइक्लिङका गोपाल सुन्दरलाल कक्षपति हुन् । कबड्डीकी तुलसी थापा र जुडोका दीपकहर्ष वज्राचार्यले उपाध्यक्षमा उम्मेदवारी दिए पनि पछि हटेका हुन् ।
यस्तै, महासचिवमा भने नेपाल राफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठको एक्लो उम्मेदवारी भएको हुँदा निर्विरोध चयन भएका हुन् । त्यस्तै, एक सहमहासचिव पदका लागि ब्याडमिन्टनका रामजीबहादुर श्रेष्ठमात्रै मनोनयन हुँदा श्रेष्ठ पनि निर्विरोध चयन भए ।
यसै गरी कोषाध्यक्षमा गल्फका टासी घलेको एक्लो उम्मेदवारी परेकोले उनी पनि निर्विरोध चयन भए । तीन सचिव पदका लागि आर्चरीका रमेशप्रसाद शिवाकोटी, बास्केटबलका भीमसिंह गुरुङ र भारोत्तोलनका रामकृष्ण श्रेष्ठ बोसको मात्रै उम्मेदवारी भएको हुँदा उनीहरू पनि निर्विरोध निर्वाचित भएका छन् ।
पाँच सदस्यका लागि जिम्न्यास्टिककी गीता राणा, फुटबलका मनिष जोशी, उसुका लाक्पा छिरिङ शेर्पा, भलिबलका जितेन्द्रबहादुर चन्द र बक्सिङका राम अवालेबाहेक अन्यको उम्मेदवारी नआएकोले उनीहरू पनि निर्विरोध सदस्यमा निर्वाचित भएका छन् ।











प्रतिक्रिया