अझै पनि रोग, भोक र गरिबीका कारण मुलुकमा ठूलो सङ्ख्यामा नागरिकहरू आक्रान्त छन्। विकट गाउँबस्तीमा सिटामोल समेत नपाएर मानिसहरूले अकालमै मृत्युवरण गर्नुपर्ने दुःखदायी अवस्था छ। हामी कहाँ धनी र गरिब बीचको खाडल झन् झन् गहिरिँदै छ । धनीहरू झन् झन् धनी र गरिबहरू झन् झन् गरिब हुनुपर्ने अवस्था छ।
वर्षौंदेखि सिंहदरबारमा हैकम जमाउन व्यस्त सरकारी निकाय जनताको मनमा बस्ने गरी काम गर्न पूर्णतया असफल हुँदै आइरहेको छ । आम जनताले अहिले पनि मुलुकमा सरकार भएको अनुभूति गर्न सकेका छैनन् । खै कहाँ छ सरकार ? के गर्दैछ सरकार ? विकट गाउँबस्ती र झुपडीमा बस्नेहरूको बारम्बारको प्रश्न हो यो ।
दूर–दराजमा बस्ने नागरिकहरूले मुलुकमा सरकार नभएको अनुभूति गरे पनि तिनै जनताको करबाट सिंहदरबारका आलिसान महलमा बसेका र अकुत सम्पत्ति आर्जन गर्न उद्दत मनुवाहरूको राजसी ठाँट देख्दा नागरिकमा आक्रोश पैदा हुनु स्वभाविक हो। जताततै भद्रगोल छ। राज्यसंरचना पुरै भ्रष्टीकरणले थिलोथिलो छ। कुशासनको जालोले सबै क्षेत्रलाई गाँठो पारेको छ। त्यसैले पनि मुलुकमा विकास र समृद्धि अवरुद्ध हुँदै आएको छ। यो सबै हाम्रा शासक र सरकारहरूले देखाउँदै आएको भ्रष्ट चरित्रको उपज हो। साथै उनीहरूको भ्रष्ट चरित्रले सिर्जना गरेको समस्या हो। हामी कहाँ जनतालाई समृद्ध र धनी बनाउने विषय शासकको दिमागमा कहिल्यै पनि आउँदैन । त्यसैले पनि गरिब जनताहरू सधैँ गरिबीको दुश्चक्रमा पिल्सिएर बस्न र विभिन्न खाले विपत्तिको सामना गर्न विवश छन् । विपत्तिको बढी मार सर्वसाधारण र विपन्न जनताले भोग्नुपर्छ ।
केन्द्र , प्रदेश र स्थानीय गरी मुलुकमा ७६१ वटा सरकार छन् तर पनि रोजगारी सिर्जना गर्ने विषय कुनै पनि सरकारको प्राथमिकतामा पर्दैन । मुलुकमा बढ्दो बेरोजगारीका कारण वर्षेनी १० लाख भन्दा बढी युवाहरू विदेशिनु पर्ने अवस्था छ । स्वदेशमा रोजगारी छैन । इलम गरेर खाने वातावरण सरकारले दिन सकेको छैन । स्वास्थ्य र शिक्षामा बढ्दो व्यापारीकरणले निकै महङ्गो हुन पुग्दा जनताहरू थप आक्रान्त बन्ने गरेका छन् । हाम्रा शासकहरूमा सदाचारको अभाव हुँदा देशवासीले समस्या र संकट व्यहोर्नु परेको हो । हाम्रा प्रधानमन्त्री, मन्त्री , मुख्य सचिव, सचिव तथा अन्य उच्च राजनीतिक नेतृत्व आफ्नो आदर्श मुल्य र मान्यतामा अडिग हुन सके र सदाचारी हुन सके भने पनि मुलुकमा देखिएको बेरोजगारी समस्या, शिक्षा, स्वास्थ्यको समस्यामा कमी भएर जान सक्थ्यो ।
सत्यलाई स्वीकार गर्ने, सत्यलाई सामना गर्ने र सत्यका निम्ति जस्तो सुकै दःुख बेहोर्न सक्ने हिम्मत नै सदाचारिता हो । सदाचार यस्तो गुण हो जुन जस्तोसुकै प्रभाव र दवाबबाट पनि भाचिँदैन । कसैले नहेरेको वा नदेखेको अवस्थामा पनि आफ्नै अन्तस्करणबाट आफू को हूँ र आफ्नो गन्तव्य के हो ? भन्ने कुरामा अविचलित रहने चरित्र नै सच्चरित्रता हो । चरित्रको पूर्णता, विस्तृता र व्यापकता नै सदाचारिता हो । यो सम्झौता वा छनौटमा आधारित हँुदैन । यो अविच्छिन्न, नित्य र सम्झौताहिन प्रकृतिको हुन्छ । यो परिस्थिति सापेक्ष हुँदैन । सबै परिस्थितिमा पनि व्यक्तिले प्रदर्शन गर्ने सोचाइ, बोलाइ र गराइको एकीकृत मुल्य प्रणाली हो । विजय वा पराजय, प्राप्ति वा अप्राप्ति जे सुकै भएपनि नैतिक मार्गदर्शनमा अविचलित हिँडिरहने प्रतिज्ञा नै सदाचारिता हो । अब हाम्रा शासकहरू तथा राजनीतिक नेतृत्व तन मनले सच्चिएर नैतिक बन्नै पर्छ । अन्यथा उनीहरू पतन हुन तयार रहनुपर्छ ।
व्यक्तिगत फाइदासँग शक्तिको साट्फेर भ्रष्टाचार हो । यस्तो प्रवृत्तिले सदाचारितालाई नष्ट गर्छ । सार्वजनिक ओहोदामा बसेकालाई अनैतिक बनाउँछ । नेपालका पछिल्ला शासकहरूको गतिविधिलाई राम्ररी नियाल्ने हो भने उनीहरू मध्ये अधिकांशले व्यक्तिगत फाइदाका लागि शक्तिको साट्फेर गरेका छन् । जसका कारण उनीहरू हदैसम्मको अनैतिक बनेका छन् । यदि उनीहरूको सम्पत्ति छानबिन गर्ने हो भने केही अपवादलाई छोडेर अधिकांश शासकहरू तस्करको रूपमा परिणत भइ जेलको बास बस्नु पर्ने अवस्था छ ।
सैद्धान्तिक रूपमा भन्नुपर्दा सार्वजनिक अधिकारी सार्वजनिक हित प्रवर्धनको लागि मात्र नियुक्त भएका हुन्छन् भष्टाचार गर्न होइन । यस अर्थमा भ्रष्टाचार सार्वजनिक अधिकारीको सामान्य होइन विचलित व्यवहार हो । सदाचार प्रवर्धन गर्ने भनेको शक्तिको व्यापार गर्ने असङ्ख्य अवसरबाट घेरिएको निर्वाचित वा नियुक्त सार्वजनिक अधिकारीलाई भ्रष्टाचार गर्नबाट रोक्नु हो। सदाचारिता गुमाएका ब्यक्तिको आचरणका सम्बन्धमा अनुमान गर्न सकिँदैन।
अनिश्चित स्वभाव भएका ब्यक्तिलाई विश्वास गर्न सकिँदैन। शासकीय पद्धतिमा त्यस्ता अविश्वसनीय ब्यक्तिहरूको उपस्थितिले शासन प्रणालीलाई भताभुङ्ग पार्दछ। यसर्थ सदाचारको विपरित अवस्था नै भ्रष्टाचार हो । मेहनत विना धन आर्जन गर्न खोज्ने व्यक्तिले छोटो उपायको खोजी गर्छन् । त्यस्ता छोटो उपाय खोज्ने राजनीतिक नेतृत्व तथा कर्मचारीले आफ्नो जिम्मेवारी , कर्तव्य र मुल्यहरूसँग सम्झौता गर्छन् र भ्रष्टाचारमा अभ्यस्त हुन्छन्। आज हामी कहाँ यस्तै व्यक्तिहरूको वर्चस्व छ।
राजनीतिक नेतृत्व होस् कि प्रशासनिक नेतृत्व होस्। भ्रष्टाचारको आहालमा डुबेका राजनीतिक र प्रशासनिक नेतृत्व सच्चिने लक्षण नै देखिएको छैन । त्यसैले पनि पछिल्ला निर्वाचनमा बालेन, रवि , हर्क , गोपीहरूको उदय हुन पुगेको हो । यदि अहिलेका शासकहरू अझै सच्चिएनन् भने बालेन, रविहरूले आगामी दिनमा पुराना दलहरूलाई संकटग्रस्त अवस्थामा पु¥याउने सहजै अनुमान लगाउन सकिन्छ । त्यसैले पुराना दल र शासकहरू सच्चिएर भ्रष्टाचार न्यूनीकरणमा ध्यान दिनै पर्छ आफ्नो अस्तित्व जोगाउनका लागि पनि ।
विभिन्न देशको अनुभवले के देखाउँछ भने भ्रष्टाचार एकै पटक उन्मूलन गर्न नसकिए पनि यसलाई विस्तारै न्यूनीकरण भने गर्न सकिन्छ । क्लिजगार्ड सदाचारिता मार्फत् भ्रष्टाचार उन्मूलन गर्न नसकिए पनि घटाउन चाहिँ सकिन्छ भन्दछन् । सिंगापुर, थाइल्याण्ड, हंङकंङ आदि देशको अनुभवले छोटो अवधिमा पनि भ्रष्टाचार नियन्त्रणमा सफतलता प्राप्त गर्न सकिन्छ भन्ने देखाएको छ।
कम विकसित देशमा भ्रष्टाचारको प्रमुख श्रोत सार्वजनिक कोष हो । निर्वाचन परिचालनको लागी वढ्दो खर्च, सदावहारको उन्मुक्ति, कर्मचारीको न्युन तलव, नियन्त्रण निकायमा देखिने राजनीतिक प्रभाव आदिका कारण नेपालमा भष्टाचार मौलाएको छ । कठोर राजनीतिक प्रतिबद्धता, राजनेताको त्याग र वलिदान, भ्र्रष्टाचार विरोधी निकायको पुनः संरचना , सम्पत्ति र आम्दानीमा पारदर्शिता, सार्वजनिक अधिकारी र सर्वसाधारणको व्यवहार परिवर्तन , भ्रष्टाचार विरोधी तथा नैतिकता र सदाचार प्रवद्र्धन गर्ने कानुन कार्यान्वयनमा प्रभावकारिताबाट भ्रष्टाचार घट्ने र सदाचारिता कायम हुने अन्तर्राष्ट्रिय अनुभवले देखाएको छ।
जनताले अब सदाचारी र नैतिकवान् शासक खोज्ने मात्रै होइन कुशासन विरुद्ध सशक्त अभियान थाल्नै पर्छ । नागरिक समाज सुशासन र सदाचारिताको लागि एकीकृत रूपमा जाग्नै पर्छ ।
त्यसै गरी शासकीय अंगहरू बीच नियन्त्रण र सन्तुलनको व्यवस्था, सार्वजनिक गतिविधि माथिको तेश्रो आँखाकोे बलियो निगरानी, स्वतन्त्र सञ्चार माध्यम, नागरिक समाजको संरक्षण र प्रवर्धन, निर्वाचन खर्चमा नियन्त्रण, मतदाता शिक्षा, कम खर्चिलो निर्वाचन प्रणाली र सरकार सञ्चालन व्यवस्था, सरकारका गतिविधिमा नागरिकको सहभागिता अभिवृद्धि, प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्था, उदार अर्थ राजनीति जस्ता उपायले पनि सदाचार कायम गर्न सघाउ पुग्छ ।
हामी कहाँ पनि केहि समय अघि सार्वजनिक पदाधिकारीहरूलाई पुर्ण रूपमा सदाचारितामा राख्ने गरी सदाचार नीति ल्याउन खोजिएको थियो । सदाचार नीतिको मस्यौदा समेत बनाइएको थियो तर सो मस्यौदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालमा नै गायब पारिँदै आइएको छ । प्रधानमन्त्री कार्यालयमा नै सदाचार नीतिको मस्यौदा गायब हुनुले शासकहरूको भ्रष्टीकरणलाई सहजै पुष्टि गर्छ । २०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री भएकै दिन सदाचार नीति ल्याउने निर्णय गरेपनि पछि उनी सो नीति ल्याउन असफल भएका थिए।
त्यसपछि फेरी प्रधानमन्त्री बनेका देउवा , त्यसपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड र हाल प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले समेत सदाचार नीति ल्याउने विषयलाई प्राथमिकतामा राख्न नसक्नुले सुशासन कायम गर्ने उनीहरूको बोली र व्यवहारमा उल्टोपन रहेको सहजै अनुभूत गर्न सकिन्छ । सो नीति आएमा सबै सरकारी पदाधिकारीहरू कडा आर्थिक र नैतिक अनुशासनमा बस्नुपर्ने हुदा पनि सरकारी पदाधिकारीहरू आफैँ सो नीति ल्याउने कार्यमा अवरोधकको रूपमा देखिएका छन् । उनीहरूको यस्तो कार्यले देशभरमा खोज्न थालिएको सदाचारी र नैतिक शासक पाउन समेत ठूलो कठिनाई उत्पन्न हुने देखिएको छ।
यसको असर र दुर्दशा अझै पनि देश र जनताले लामो समय सम्म भोग्नुपर्नेछ । सदाचारिता र सुशासनको अभावमा देश झनै बढी कुुशासनको चक्रमा पर्ने भय देखिएको छ । शासकहरूमा सुधार आउने कुनै लक्षण देखिएको छैन । जनताहरूले पनि सदाचारी शासकको खोजी मात्रै गरेका छन् तर सो अनुसार देशव्यापी अभियान सञ्चालन गर्न आम जनसमुदाय पनि असफल हुँदै आएका छन् । जनताले अब सदाचारी र नैतिकवान् शासक खोज्ने मात्रै होइन कुशासन विरुद्ध सशक्त अभियान थाल्नै पर्छ । नागरिक समाज सुशासन र सदाचारिताको लागि एकीकृत रूपमा जाग्नै पर्छ।
प्रतिक्रिया