सरकारसँग गाँसिएको राष्ट्रियता


नेकपा एमाले र नेपाली कांग्रेस लगायतका दल मिलेर बनेको अहिलेको सरकारको आयुका बारेमा बेला बेलामा विभिन्न टिका टिप्पणी हुने गरेका छन् । सरकार नढल्ने विषयमा सरकारमा सामेल ठूला दलका शीर्ष नेताहरूले प्रष्टीकरण दिनु परेको छ।

नेपालमा रहेका विपक्षी दलका नेताहरूले सरकार गठन भएको भोलिपल्टैबाट यो सरकारको आयु महिना नकट्ने बताउँदै आएका थिए । तर वर्तमान सरकार आफ्नो कार्यकालको आधा वर्षमा प्रवेश गरेको छ। खास गरी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ता सरकारका विरुद्ध हात धोएर लागेका छन्।

उनीहरूले भाडामा मानिस जम्मा गरेर सार्वजनिक कार्यक्रममा सहभागी हुन जाँदा प्रधानमन्त्री बिरुद्ध नारा बाजी गर्ने र वर्तमान सरकार जनता विरोधी हो भनेर भाष्य स्थापित गर्न खोजेको देखिन्छ । भलै अहिलेको सरकारले जनताको पक्षमा देखिने केही काम गरेको देखिँदैन ।

जनताका पक्षमा जति काम गर्नु पर्ने हो यो सरकार त्यसतर्फ लाग्न नसक्नुलाई विडम्वना नै मान्नु पर्दछ । मुलुक भित्रबाट सरकारमाथि खबरदारी हुनुलाई सुखद् पक्ष मानिए पनि छिमेकी मुलुकको एजेन्ट भन्दै अहिलेको सरकारमाथि धावा बोल्नुलाई पक्कै पनि राम्रो मान्न सकिँदैन । आफूलाई भारतीय गुप्तचर संस्था रअको एजेन्ट भएको बताउने एक व्यक्तिले यो सरकारको आयु एक महिना मात्रै भएको र सरकार छिट्टै ढल्ने भन्दै विभिन्न संचारमाध्यममा सार्वजनिक अभिव्यक्ति दिनुले नेपालको सरकार कति कमजोर धरातलमा उभिँदा रहेछन् भन्ने प्रष्ट हुन्छ ।

एकातिर सरकारले गति लिन नसक्नु अर्कोतर्फ आन्तरिक तथा बाह्य शक्तिले यो सरकारमाथि धावा बोलिरहने हो भने नेपाल र नेपालीको अस्तित्व के हुने यो सोचनीय विषय बनेको छ । आज मुलुकमाथि चौतर्फी रूपमा आक्रमण हुदाँ एक ठाउँमा उभिन नसक्ने दलहरूको नियतमाथि शङ्का गर्नुपर्ने अवस्था र्सिजना भएको छ । आफ्ना व्यक्तिगत लाभ पूरा गर्न दल तथा दलका नेताहरूले अपनाएको रबैया हेर्दा मुलुक थप संकटतर्फ धकेलिने हो कि भन्ने भान हुन थालेको छ । भूराजनीतिक हिसावले नेपाल दक्षिण एसियाको उर्वर भूमिको रूपमा विकसित हुँदै गएको छ । त्यसकारण पनि यहाँ कसको सरकार बन्छ र त्यो सरकारले के गर्छ भन्ने चासो आम रूपमा देखिँदै आएको छ ।

अहिलेको सरकारलाई पश्चिमाहरूले चीन समर्थित सरकारको सज्ञा दिएर दक्षिणको छिमेकी मुलुकलाई समेत उचाल्नुले पनि यो सरकारको अवस्था सजिलो भने छैन। नेपालमा नयाँ सरकार बनेपछि सबै भन्दा पहिले भारतको औपचारिक भ्रमण गर्ने परम्परा नै बन्ने गरेको थियो। तर, यस पटक भने त्यस्तो भएन। भारतले खासै महत्व नदिएपछि प्रधानमन्त्री केपी ओलीले चीन भ्रमण गर्नु परेको थियो। चीन भ्रमण पनि सोचेजस्तो फलदायी नभएको हो कि भन्ने आशङ्का गरिँदै छ भने भारत भ्रमणका लागि चाँजोपाँजो मिलाउन पटक पटक नेपालको तर्फबाट पहल भए पनि त्यसले सार्थक रूप लिन नसक्नुले पनि यो सरकारमाथि प्रश्न उठेको हो कि भन्ने भान परेको छ।