मिसन ०८४ को तयारी: ठूला दलहरू नागरिकमाझ के लिएर जाँदै छन् कोसेली

3.57k
Shares

काठमाडौं ।

पुराना दलहरूप्रति विकसित असन्तुष्टि, वितृष्णा र अविश्वासका कारण बढ्दै गएको अस्थिरतालाई स्थिरतासहितको विश्वासयोग्य वातावरण निर्माणका लागि मुख्य राजनीतिक दलहरू जनतामाझ पुग्ने अनेकन कार्यक्रम बनाइरहेका छन् । सत्ता पक्षमा रहेका कांग्रेस–एमाले र प्रतिपक्षी दल नेपका माओवादीले आगामी २०८४ लक्षित कार्यक्रम बनाउन थालेका हुन् ।

राजनीतिमा वैकल्पिक शक्तिका रूपमा आएका नयाँ दलहरुको गतिविधिसमेत पुराना दलहरूको भन्दा खराब हँुदै गएपछि मुलुकको राजनीतिक व्यवस्था र सुधार हुन नसकेको नागरिकको अवस्था हेरेर देश छाड्ने युवाहरूको लर्को दैनिक रूपमा बढ्दो छ । यसैलाई मध्यनजर गर्दै नेताहरू मुलुक र जनताको भविष्यप्रति सकारात्मक सन्देश दिने प्रयासमा लागेको बताउँछन्। नागरिकको स्वास्थ्य, शिक्षा र रोजगारसँगै विकासका क्षेत्रमा सरकारले काम गर्दै आएकाले अवस्था सुधार हुनेमा सत्ता पक्षका नेताहरूको जिकिर छ ।

सरकारले गरेका काम कारबाही र आगामी योजनासहित पार्टीको नीतिगत योजनाहरू लिएर नागरिकमाझ जाने तयारीमा रहेको नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । सत्तारुढ दल नेपाली कांग्रेसले १०० दिने सांगठनिक अभियान सक्नै लाग्दा सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि ३ महिने विशेष अभियानको तयारी थालेका हुन् ।

नेपाली कांग्रेसले चलाएको १०० दिने अभियान पुस १६ मा सकिँदै छ । यो अभियानले नागरिकमा देखिएको वितृष्णामा कमी हुँदै गएको नेपाली कांग्रेसका सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माको अनुभव छ । ‘हामी १०० दिने अभियानको मध्यान्तरमा छौं’, विश्वकर्माले भन्नुभयो– ‘यो अभियानले पार्टी कार्यकर्ताको मात्रै नभई नागरिकका समस्यालाई पनि बुझ्ने अवसर प्राप्त भयो। हामीले ७७ वटै जिल्लाका वडा, टोल तहमै पुगेर मिहिन ढंगबाट आमनागरिक, पार्टी कार्यकर्ता, जनप्रतिनिधिसँग समेत छलफल अन्तरक्रिया गरेका छौं। कांग्रेसले केही कमीकमजोरीलाई सच्याएर जनतामाझ जाँदा अझै लोकतन्त्र र नेपाली कांग्रेसको विकल्प छैन भन्ने नागरिक तहबाट सुझावहरू आएका छन्। हामीले त्यसलाई राजनीतिक पुँजीका रूपमा लिएर पार्टीको आर्थिक सामाजिक र वैचारिक दृष्टिकोणका बारेमा जनतालाई बुझाउन सक्दा जनताले कांग्रेसको विकल्प कांग्रेस नै हो भन्ने र राजनीतिक वितृष्णा हटेर जाने अवस्था देखिन्छ।’

अहिलेदेखि संगठन बलियो बनाएर पार्टीको आन्तरिक विमतिहरूलाई साझा बुझाइमा रूपान्तरण गर्दै जाँदा आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत प्राप्त गर्ने शक्ति प्रदान हुने र राजनीतिक स्थिरता पनि कायम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । सत्ताको नेतृत्वकर्ता दल नेकपा एमाले र माओवादी केन्द्रले पनि विगत एक वर्षदेखि नभएको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । उक्त बैठकबाट पार्टीको जनजागरण अभियान तय गर्ने छन् । आगामी २०८४ मा हुने निर्वाचनमा आफ्नो पक्षमा बहुमत जुटाउने योजनासहित गाउँ अभियानका कार्यक्रमहरू तय गर्न लागेको नेताहरूले दाबी गरेका छन् । तीन वर्षपछि हुने निर्वाचन कार्यक्रम तय गर्न एमाले पुस तेस्रो साता र माओवादीको पुस २१ मा केन्द्रीय कमिटी बोलाएका हुन् ।
एमालेको २०८० फागुन र माओवादीको २०८० माघयता केन्द्रीय कमिटी बैठक बसेको थिएन । उक्त बैठकमा एमालेले सरकारको कामकारबाहीको समीक्षा, संगठन सुदृढीकरण मुख्य मुद्दा छ भने माओवादीले संसद्मा प्रमुख प्रतिपक्षको सशक्त भूमिका र संगठन निर्माणको प्रस्ताव तयार गर्दै छ ।

सरकारको काम प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले निकट नेतासँग छलफल जारी राख्नुभएको छ । यही साता दुई दिन राष्ट्रिय कार्यशाला गरी वडा तहसम्म पुग्ने संकल्प गरेको एमालेले आगामी बैठकले तीनै कार्यक्रमलाई अनुमोदन गर्दै थप योजना बनाउने लक्ष्य राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । ‘केन्द्रीय कमिटीले मिसन ०८४ लाई सफल बनाउने गरी थप कार्ययोजना बनाउनेछ’, उहाँले भन्नुभयो– ‘कार्यशालाले आधारभूत तहसम्म कमिटी निर्माण गरी निस्क्रिय सदस्यहरूको सदस्यता नवीकरण गर्ने, हाल तीन लाख संगठित सदस्य भएकोमा त्यसलाई बढाउने गरी कार्यक्रम तय गरेको छ।

युवाहरुलाई नयाँ सदस्य बनाउने र पुरानालाई सक्रिय बनाउने मुख्य नीति छ ।’ स्थानीय तहको उपनिर्वाचनमा एमालेले अपेक्षित नतिजा नल्याएपछि त्यसको समीक्षा गरी कार्यक्रम बनाउने निर्णय यसअघि सचिवालय बैठकले गरिसकेको नेता गौतमले जानकारी दिनुभयो ।

०८० फागुनमा विधान सम्मेलन गरेको माओवादीले त्यसयता केन्द्रीय कमिटीको बैठक नगरी पदाधिकारी, स्थायी कमिटी बैठकले आवश्यक निर्णय गर्दै आएको छ । पुस २१ देखि शुरू हुने केन्द्रीय समितिको बैठकले संगठन सुदृढीकरणको कार्यदिशा बनाएर कार्यक्रम बनाइने माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘माओवादी सत्तातिर होइन, जनतातिर फर्कनुपर्छ भन्ने मुख्य नीति हो । माओवादी सुशासन, भ्रष्टाचारविरुद्ध छ भन्ने कुरा जनतासमक्ष थप सन्देश लिएर जान्छौं ।’ नागरिकको मन जित्ने गरी आ–आफ्नै ढंगबाट पार्टीका नीति कार्यक्रम लिएर जनतासँगको सम्बन्धलाई परिष्कृत रूपमा नवीकरण गर्ने अभियानमा लागेका दलहरूको लक्ष्य भने मिसन ०८४ रहेको छ।

नेपाली कांग्रेसले केही कमीकमजोरीलाई सच्याएर जनतामाझ जाँदा अझै लोकतन्त्र र कांग्रेसको विकल्प छैन भन्ने नागरिक तहबाट सुझावहरू आएका छन् । त्यसलाई राजनीतिक पुँजीका रूपमा लिएर पार्टीको आर्थिक सामाजिक र वैचारिक दृष्टिकोणका बारेमा जनतालाई बुझाउन सक्दा जनताले कांग्रेसको विकल्प कांग्रेस नै हो भन्ने र राजनीतिक वितृष्णा हटेर जाने अवस्था देखिन्छ ।
–मीन विश्वकर्मा, सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख
एमालेकोे राष्ट्रिय कार्यशालाले वडा तहसम्म पुग्ने संकल्पसहित हाल रहेका तीन लाख संगठित सदस्यतालाई बढाउने, आधारभूत तहसम्म कमिटी निर्माण गरी निस्क्रिय सदस्यहरूको सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । आगामी बैठकले कार्यशालाले तय गरेका कार्यक्रमलाई अनुमोदन गर्दै मिसन ०८४ लाई सफल बनाउने गरी थप कार्ययोजना बनाउने लक्ष्य राखेको छ ।
–राजेन्द्र गौतम, प्रचार विभाग प्रमुख
पुस २१ देखि शुरू हुने केन्द्रीय समितिको बैठकले संगठन सुदृढीकरणको कार्यदिशा बनाएर कार्यक्रम तय हुनेछन् । माओवादी सत्तातिर होइन, जनतातिर फर्कनुपर्छ भन्ने मुख्य नीति हो । माओवादी सुशासन, भ्रष्टाचारविरुद्ध छ भन्ने कुरा जनतासमक्ष थप सन्देश लिएर जनतामाझ जान्छौं ।
–अग्निप्रसाद सापकोटा, माओवादी प्रवक्ता