कर्मचारी र राजनीतिकर्मीमा सुधारको खाँचो


देशलाई मुख्य गति दिने भनेको राजनीति र राजनीतिक नेतृत्वले नै हो । हामी कहाँ देश बनाउने स्पष्ट भिजन भएका र त्यस्तो भिजनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्ने नेतृत्वको अभाव हुँदै आयो । जसका कारण मुलुकले विकास, समृद्धि र प्रगति हासिल गर्न सकेन । राजनीतिक नेतृत्वको काम त एउटा भिजन दिएर मुलुकलाई ड्राइभ गर्ने हो । त्यो भिजन उनीहरूले निरन्तर ल्याउनु पर्छ । त्यसका लागि उनीहरूले राष्ट्रिय आवश्यकता र प्राथमिकता अनुरूपको भिजन बनाएर अघि वढ्नु पर्ने हो । यो कुनै पार्टी विशेषको भन्दा पनि समग्र देशको हो भन्ने किसिमले भिजन ल्याउनु पर्छ । जसले शुरू गरे तापनि राम्रा भिजन र योजनाहरूलाई निरन्तरता दिन सक्न्ुपर्छ । योजनाहरू अनावश्यक रूपमा थप्नु हुँदैन । अनावश्यक रूपमा योजनाहरू थप्दै जाँदा प्राविधिक रूपमा तयारी नपुग्ने त्यसले गर्दा समस्यामाथि समस्या देखिने गरेको छ । त्यस्ता कयौँ योजनाहरू अलपत्र अवस्थामा छन् । अनुगमन पनि प्रभावकारी रूपमा हुन सकेको छैन।

राजनीतिक नेतृत्वले भाषण गर्दा धेरै राम्रा भिजनहरू पस्कने गरेका छन् । तर ती भिजनलाई योजनाको रूपमा ल्याएर कार्यान्वयन गर्ने सवालमा उनीहरू नराम्ररी चुक्दै आइरहेका छन् । भिजनलाई कसरी व्यवहारमा उतार्ने भन्ने विषयलाई राजनीतिक नेतृत्वले खासै प्राथमिकता दिने गरेको पाइँदैन । त्यसैले पनि देश र जनताका पक्षमा योजनाहरू आउने र कार्यान्वयन हुने क्रम निकै न्यून छ । उता हाम्रो ब्युरोक्रेसीमा पनि त्यो भिजनलाई व्यवहारमा उतार्ने सम्बन्धमा क्षमताको अभाव छ । लामो समयदेखिको प्रशासनमाथिको हस्तक्षेपले प्रशासन निकै कमजोर हुँदै आइरहेको छ ।

संघीयताको शसक्त कार्यान्वयन गर्न पनि राजनीतिक र प्रशासनिक नेतृत्व दुबै पक्षले गाम्भीर्य देखाउन सकेका छैनन् । संघीयता कार्यान्वयनको लागि राजनीतिक नेतृत्वले दिशा निर्देश गर्ने र सोही अनुसार ब्युरोक्रेसी परिचालन हुनुपर्ने हो । अहिले यो हुन सकिरहेको छैन । परिवर्तनका भ्यालुज्हरूलाई जनस्तरमा पु¥याउन नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्छ । राजनीतिक रूपमा पनि संविधानमा भएका कुरालाई व्यवहारमा उतार्न आवश्यकता अनुसार कार्ययोजना बनाउनु पर्छ । तर त्यस्तो हुन सकेको छैन । मुख्य समस्या भनेको पद्धतिको होइन कार्यान्वयनको हो । त्यसैले संघीयता कार्यान्वयनमा सामूहिक दायित्व खोजिनु पर्छ । यसको लागि सेवा प्रवाह प्रभावकारी बनाउनै पर्छ । अब सुशासन कायम गर्दै जनतालाई दिने भनेको सेवा समयमा नै मितव्ययी हिसाबले गुणस्तरयुक्त रूपमा दिन सक्नु पर्छ । सेवा प्रवाह भित्र सुशासन खोज्नु भनेको जनताका काम दक्षतापूर्वक गर्नु नै हो ।

स्ुशासन कायम गर्नु हरेक सार्वजनिक पद धारण गरेका सबैको जिम्मेवारी हो । कार्यविवरण अनुसार उनीहरूले काम गर्नुपर्छ । स्ुशासन कायम गर्न सबैभन्दा पहिला राजनीतिक स्थिरता चाहियो । अस्थिरता भित्र पनि सुशासन कायम गर्न राजनीतिक नेतृत्व सक्षम हुन सक्नुपर्छ । रिजल्टको लागि राजनीतिक नेतृत्वले आवश्यकता अनुसार ब्युरोक्रेसीमा सकारात्मक हस्तक्षेप गर्दा राम्रो हुन्छ । तर आफ्नो र आफ्नो स्वार्थ समूहको हितका लागि हस्तक्षेप गर्नुहुँदैन । देश र जनताको पक्षमा काम गर्नका लागि ब्युरोक्रेसीलाई चलायमान बनाउन सक्नुपर्छ । संघीयतामा रहेका सबै निकायले व्यावसायिक दक्षतापूर्वक काम गर्न सकेमा सेवा प्रवाह धेरै हदसम्म प्रभावकारी हुनसक्छ । त्यसैले ती निकायहरू पनि जिम्मेवार बन्नै पर्छ । सबैले आफ्नो जिम्मेवारी अनुसारको काम गर्नुपर्छ । एकले गर्ने काममा अर्को पक्षले हस्तक्षेप गर्नु हुँदैन ।