कीर्तिमानी हिउँ चितुवा आङरिता शेर्पा


विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा आरोहण गर्ने इच्छा सबैको हुन्छ तर सबैले आरोहण गर्न सक्दैन । पहिलो पटक सन् १९५३ मे २९ तारिखको दिन बिहान ११ः३० बजे नेपाली नागरिक तेन्जिड नोर्गे शेर्पा र न्युजिल्याण्डका एडमण्ड हिलारीले सगरमाथाको आरोहण गरेका थिए । त्यसपछि सगरमाथा आरोहण शुरू भएको देखिन्छ र विभिन्न आरोहीहरूले सगरमाथा आरोहणका बिभिन्न कीर्तिमान राख्दै आएका छन् ।


यहाँ चर्चा गर्न लागिएको कीर्तिमानी आरोही चार बर्षअघि निधन भएका हिउँ चितुवाको नामले परिचित आङरिता शेर्पा हुन् ।
विश्वका अधिकांश मानिसका लागि किंवदन्ती लाग्ने खालका कीर्तिमान राखेका आङरिता शेर्पाले विना अक्सिजन १० पटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान राखेका छन् । उनको वि.सं. २०७७ असोज ५ गते ७२ वर्षको उमेरमा निधन भएको थियो ।

आरोहण क्षेत्रमा बनाएको कीर्तिमानका कारण हिउँ चितुवाको उपनाम पाएका शेर्पाले सन् १९८० र सन् १९९० को दशकमा पर्वतारोहण जगतमा विभिन्न कीर्तिमान कायम गरेका छन् । सन् १९८३ मा उनले पहिलो पटक उहांले पहिलो पटक बिना अक्सिजन सगरमाथा आरोहण गरेका थिए । उनले अष्ट्रियाका पिटर हेब्लर र इट्लीका राइनहोल्ड मेस्नरसँगै विना अक्सिजन सगरमाथा आरोण गरेका हुन् ।

१५ वर्षको उमेरमा भरियाका रूपमा पर्वतारोहण पेसा शुरू गरेका शेर्पाले लगातार १० पटक अक्सिजनविना सगरमाथा आरोहण गरेर विश्वलाई आश्चर्यचकित बनाएका थिए । सन् १९८३ मा पहिलो पटक जर्मन र अमेरिकी आरोहण टोलीसँग दक्षिण पूर्वी मोहडाबाट सगरमाथाको आरोहण गरेका भएका शेर्पाले सन् १९९६ सम्म आइपुग्दा १० पटक अक्सिजनविना सगरमाथा आरोहण गरेका थिए । उनी विना अक्सिजन सगरमाथाको आरोहण गर्दा आत्मविश्वास र पेसाप्रतिको आफ्नो लगाव बढेको बताउने गर्थे ।

सगरमाथा आरोहण आफैंमा साहसिक र जोखिमपूर्ण काम हो । शेर्पाले सगरमाथा आरोहण गर्दा आफूलाई जोखिमपूर्ण अवस्थामा राखेर आफ्नो आरोहण दलको सुरक्षामा आफूलाई अब्बल प्रमाणित गरेको आरोहण दलका सदस्यहरुले आफ्नो आत्मकथामा उल्लेख गरेको पाइन्छ ।

शेर्पाले सन् १९८५ को अप्रिल महिनामा नर्वेली आरोहण दलका टोली नेतालाई आँधी आइरहेको समयमा सगरमाथाको चुचुरोमा पुरयाएर आफ्नो अदम्य साहस प्रस्तुत गरेका थिए । त्यस्तै सन् १९८७-८८ को हिउँद याममा एउटा दक्षिण कोरियाली समूहलाई कठिन अवस्थामा सघाएर आफ्नो नाम विश्वमाझ दर्बिलो बनाएका थिए । त्यसबेला खराब मौसमका कारण एक जना कोरियाली पर्वतारोहीसँगै आफू हराएको र दुबै जनाले शरीरलाई न्यानो बनाएर जिउ जोगाइराख्न रातभरी एरोबिक व्यायाम गरेका थिए ।


उनले सन् १९९० मा नेपाली सेनाका सदस्य सम्मिलित टोलीलाई सगरमाथा आरोहण गर्न सघाउनु भएको थियो । सन् १९९६ मा अन्तिम पटक सगरमाथाको आरोहण गरेका शेर्पाले त्यसपछि भने सगरमाथा आरोहण गर्न सकेनन् । सन् १९४८ मा जन्मिएका शेर्पाले औपचारिक शिक्षा तथा पर्वतारोहण सम्वन्धि तालिम भने लिएका थिएनन् ।

उनले एकपटक धौलागिरी आरोहणका लागि कम उचाइसम्मको भरियाका रूपमा भनेर काममा लगाइदा आफूले जुत्ता वा अरू हिमाल चढ्न आवश्यक सामान बिना तेश्रो शिविरसम्म गएको पनि बताएका थिए । खुम्बु क्षेत्रको यीलाजुङ गाउँमा सन् १९४८ मा जन्मिएका शेर्पाको बाल्यकाल चौँरी चराएर र तिब्बतसम्म व्यापारका लागि समान बोकेर बित्ने गरेको थियो ।