काठमाडौं ।
नेपाल ओलम्पिक कमिटीको अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । एक जना अध्यक्ष पदका लागि पछिल्ला दुई कार्यकाल पूरा गरिसकेका जीवनराम श्रेष्ठका साथै वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलका तेजबहादुर गुरुङले उम्मेदवारी दिएका छन् । एनओसीका अध्यक्ष श्रेष्ठको यो दोस्रो कार्यकाल हो । अध्यक्ष हुनुअघि दुई कार्यकाल महासचिवका रुपमा एनओसीको प्रशासन हाँकेका श्रेष्ठ विधान संशोधन नभएको भए यही चुनावसँगै बाहिरिनुपथ्र्यो ।
वर्तमान उपाध्यक्ष सुनीलकुमार श्रेष्ठले भने उम्मेदवारी दिएका छैनन् । अध्यक्षमा उम्मेदवारी दिने चर्चामा रहे पनि श्रेष्ठ अन्तिम समयमा पछि हटेका हुन् । उनले उच्च अदालत पाटनको आदेशको अवज्ञा, राष्ट्रिय खेलकुद परिषदको मिति पौष ४ गतेको पत्रको उल्लंघन र नेपाल सरकार युवा तथा खेलकुद र गृह मन्त्रालयको आदेश विपरित हुने भएकोले निर्वाचन प्रकृयामा भाग नलिने पत्रमार्फत निर्वाचन समितिलाई जानकारी दिएका छन् ।
आगामी शनिबार हुने निर्वाचनका लागि अनलाइनमार्फत उम्मेदवारी दर्ता गर्न सोमबार अन्तिम मिति थियो । सोमवार उम्मेदवारी दर्ताका लागि समय तोकिएपनि सातदोबाटोस्थित एनओसी भवनमा सरकारको निर्देशनमा प्रहरीले प्रवेश निषेध गरेको थियो । जसका कारण भौतिक रुपमा उपस्थिति भएर मनोनयन पत्र दर्ता सम्भव भएन । अदालतको आदेशको पालना नगरेको भन्दै सरकारले प्रहरी परिचालन गरेको थियो । अन्तराष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) सँगको समन्वय र निर्देशनमा अनलाइन मार्फत सोमवार नै मनोनयन दर्ता गरिएको हो ।
त्यसैगरी सात उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष एवं टेनिस संघकी अध्यक्ष ज्योती राणासहित ९ जनाको उम्मेदवारी परेको छ । पौडीका अशोकरत्न बज्राचार्य, टेबलटेनिसका चतुरानन्द बैद्य, तेक्वान्दोका प्रकाशसम्शेर राणा, हक्कीका अनिल शर्मा, कबड्डीकी तुलशा थापा, जुडोका दीपकहर्ष बज्राचार्य, सुटिङका पुष्पदाश श्रेष्ठ र साइक्लिङका गोपाल सुन्दरलाल कक्षपतीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पद बाहेक बाँकी सबै पदमा निर्विरोध भएको छ । जसअनुसार महासचिवमा नेपाल र्याफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ निर्विरोध निवार्चित भएका छन् । त्यस्तै, सह-महासचिवमा ब्याड्मिन्टनका रामजीबहादुर श्रेष्ठ तथा कोषाध्यक्षमा गल्फका टासी घले छन् । तीन सचिव पदका लागि आर्चरीका रमेश सिवाकोटी, बास्केटबलका भिमसिंह गुरुङ र भारोत्तोलनका रामकृष्ण श्रेष्ठ (बोस) पनि निर्विरोध चुनिएका छन् ।
यता, सदस्यमा जिम्न्यास्टिककी गिता राणा, फुटबलका मनिष जोशी, उसुका लाक्पा शेर्पा, भलिबलका जितेन्द्रबहादुर चन्द र बक्सिङका राम अवाले निर्विरोध चयन भएका छन् । विगतमा भन्दा यसपटक पदाधिकारीको संख्या बढाइएको छ । ५ बाट उपाध्यक्षको संख्या ७ पर्ुयाउँदा सदस्य संख्या ७ बाट ५ मा झारिएको छ ।
प्रतिक्रिया