बुटबल ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकारवाट जनताले विकासको अनुभुति नगरेको र सरकार सञ्चालनमा भएकाहरु अल्मलिएको बताउनुभयो । उहाँले काँग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभुति नगरेको, सरकार सञ्चालनमा भएकाहरु अल्मलिएकोले जनता सन्तुष्ट नभएको टिप्पणी गर्नु भयो।
रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा नेतृ संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पुरा गर्न सफल नभएको जिकिर गर्नु भयो । तत्काल संविधान संसोधनको प्रक्रिया अगाडी बढाउँनुपर्ने कुरामा नेतृ संग्रौलाको जोड थियो ।
काँग्रेसले सञ्चालन गरेको अभियान संगठनलाई मजवुद बनाउँन, जनतासँग नेताहरु पुगी समस्या पहिलाउन र समाधान गर्नका लागि देशभर प्रतिनिधी खटिई क्रियाशिल वितरण पनि अगाडी बढाएको बताउनुभयो। क्रियाशिल वितरणको काम सुरु भएसँगै महाधिवेशनको तयारी सुरु भएको बताउँदै समयमै काँग्रेसको महाधिवेशन हुने कुरामा विश्वस्त भएको बताउनु भयो ।
वर्तमान सत्ता गठबन्धन सत्ताको लागि मात्र होईन, अस्थिरता अन्त्य सँगै संविधान संशोधनकै लागि काँग्रेस एमाले एक ठाउँमा सत्ता सहकार्य गर्न पुगेको संग्रौलाको कथन थियो । वर्तमान सरकार विधीको शासनलाई पालना गर्दै स्टन्टबाजी गर्नेहरुलाई, भष्ट्राचार गर्नेलाई कार्वाही गर्ने, जोकोही भएपनि कसैलाई छोड्न नहुनेमा जोड दिनु भयो ।
पुर्वसांसद समेत रहेकी नेतृ संग्रौलाले काँग्रेसको आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्नका लागी उत्तराधिकारी कसैको कोही नहुने बताउँदै भिजन र मिशन भएको व्यक्तिले पार्टीको नेतृत्व गर्ने बताउनु भयो ।
यो सरकार २०८४ सालसम्म नै एमालेसँगको सहकार्यमा सञ्चालन हुने भएकाले सहमतीअनुसार नै चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउँवाले गर्ने बताउँदै माओवादीले जनतालाई पटक–पटक धोका दिएकाले माओवादीसँग सहकार्य नहुने स्पष्ट पार्नु भयो । कार्यक्रम रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ लु्म्बिनी प्रदेश उपाध्यक्ष मिना ढकाललाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया