–त्रिवि केन्द्रीय क्याम्पस सभापति ओझा भन्नुहुन्छ : अब कहिल्यै खेल हुन दिँदैनौं
–क्यानका प्रवक्ता लामा भन्नुहुन्छ : एक साताभित्र सफा गरिसक्छौं
काठमाडौं ।
नेपाल क्रिकेट संघले (क्यानले) आयोजना गरेको पहिलो क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) सकिएको आज ३ दिन भयो । त्रिवि खेलमैदानमा फोहोेरको डङ्गुर थुप्रिएको छ। झन्डै एक अर्ब बढी व्यापार गर्न सफल सो प्रतियोगितामा क्यानले त्रिभुवन विश्वविद्यालयलाई कुनै आर्थिक सहयोग गरेको छैन। उल्टै खेलमैदान र वरपर फोहोर छाडेर गएको छ।
फोहोरका कारण त्रिवि क्षेत्र दुर्गन्धित हुन थालेको छ । २२ दिनसम्म आयोजना गरेको प्रतियोगिताको हरेक दिन सफा गर्ने गरेको क्यानको दाबी छ । तर, त्रिविले भने सामान्य सफाबाहेक जताततै फोहोर नै फोहोर देखिएको जनाएको छ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका निर्देशक पशुपति अधिकारीले क्रिकेटको क्रेजले विश्वभर चर्चा बटुल्न सफल भए पनि त्रिविको अवस्था दयनीय देखियो। यतिका दिनसम्म बाटोमै फोहोर थुप्रिएको छ। चौर हेरिनसक्नु छ। यहाँसम्म कि मञ्चमा भएको कुर्सीसमेत उठाएको छैन।
दशौं हजार खेलप्रेमीले त्रिवि मैदान भरिभराउ भयो। नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न सकेकोमा क्यानको वाहवाही भयो । तर, खेलमैदानलगायत परिसरको अवस्थाको बारेमा क्यानले कुनै ध्यान दिन सकेन।
त्रिवि केन्द्रीय क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति श्यामराज ओझाले यस्तो अवस्था भइरहे अब कहिल्यै पनि त्रिवि क्रिकेट मैदानमा खेल्न हुन नदिने चेतावनी दिनुभयो।
उहाँले भन्नुभयो– ‘एक त विद्यार्थीको पढाइ बर्बाद अर्कोतर्फ फोहोरको कारण क्रिकेट मैदानको बाटो हिँड्नै समस्या।’ क्यानलाई चेतावनी दिँदै उहाँले भन्नुभयो– ‘अब कहिल्यै पनि त्रिवि खेलमैदानमा खेल हुन दिँदैनौं।’
फोहोर गर्ने निकायले एक अर्ब बढी कमाउँदा पनि त्रिविलाई बेवास्ता गरेको उहाँको आरोप थियो। उहाँले भन्नुभयो– ‘त्रिविले वा स्ववियुले पैसा दिनुपर्यो भनेर मागेको होइन, हाम्रो सम्पत्ति प्रयोग गर्दा अर्थात् क्रिकेट खेलाउँदा फोहोर भएका संरचनाहरू सफा गर्नुस् मात्र भनेका हौं।’ ‘क्यानले बेवास्ता गर्यो, आज मंगलबारबाट स्ववियु आफैंले फोहोर उठाउने तयारी गरेका छौं’ –उहाँको भनाइ थियो।
खेलका कारण त्रिविको पढाइमा गम्भीर असर परेको आरोप लगाउँदै सभापति ओझाले भन्नुभयो– ‘अब त्रिविमा खेल गर्न दिँदैनौं, सरकारले अन्तै व्यवस्था गरोस्।’ यसअघि सोही मैदानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू भएका थिए। त्यस बेला यतिको फोहोर देखिँदैनथ्यो।
क्यानका प्रवक्ता छुम्बी लामाले मैदान र वरपर फोहोर भएको विषयमा क्यान गम्भीर भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामीले प्रत्येक खेल सकिनासाथ सधैं सरसफाइ गरेका थियौं। विविध कारणले फाइनलमा तत्काल सफा गर्न सकेनौं । फाइनल खेल सकिनासाथ कोही थकान भए, कोही अति व्यस्त रहे आजबाट अलि फुर्सद भएको छ।
क्रिकेट मैदान र त्यसको वरिपरि पूर्ण रूपमा सरसफाइ गर्नेछौं।’ उहाँले एक साताभित्र फोहोर भएका सबै क्षेत्रमा पूर्ण सफा गरिसक्ने स्पष्ट पार्नुभयो।
क्रिकेट मैदाननजिकै विद्यार्थीको छात्रावास र प्राध्यापकहरूको निवास छ। फोहोरका कारण त्यस क्षेत्रमा बस्न सक्ने अवस्था छैन। यति ठूलो प्रतियोगितामा शौचालय थिएन। हजारौं दर्शकले खुला ठाउँमा गरेको शौचको दुर्गन्ध छात्रावास र निवाससम्म पुगेको थियो। स्ववियु सभापति ओझाले यस्तो अवस्था हुँदा पनि क्यानले पूरै बेवास्ता गरिरहेको आरोप लगाउनुभयो।
प्रतियोगिता चलिरहेको समयमै त्रिविसभा सदस्यले क्रिकेट मैदानको कारण पढाइमा समस्या भएको बताएका थिए। अस्ति सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै त्रिवि सभा सदस्य एवं त्रिवि प्राध्यापक संघका अध्यक्ष प्राध्यापक वसन्त ढकालले क्रिकेट प्रतियोगिताले पढाइमा गम्भीर असर पारेको बताउनुभयो।
फरक प्रसंगमा उहाँले भन्नुभयो– ‘खेल सकिएपछि मैदान र वरिपरि सफा गर्नुपर्दैन ? फोहोरले गर्दा त्यस क्षेत्रमा जान सक्ने अवस्था छैन ।’ उहाँले क्यानलाई सो क्षेत्रको फोहोर तत्काल व्यवस्थापन गर्न आग्रह गर्नुभयो।











प्रतिक्रिया