कर्मचारीतन्त्रमा आमूल रूपान्तरण जरुरी


अबका कर्मचारीले जनताले अपेक्षा गरे अनुसार आफूलाई रुपान्तरण गर्नै पर्छ । विभिन्न खाले राजनीतिक परिवर्तन भएका छन् । कर्मचारी जन अपेक्षा अनुसार चल्नुपर्छ । ती सबै राजनीतिक परिवर्तन र परिवर्तन पछि पनि यही कर्मचारीतन्त्र नै रहँदै आएको छ । सबै राजनीतिक कोर्समा यही कर्मचारीतन्त्रले आफूलाई मोबिलाइज्ड गर्दै आइरहेको छ।

यो कर्मचारीतन्त्र पञ्चायती सिस्टममा पनि थियो । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि यही कर्मचारीतन्त्र चल्दै आइरहेको छ। राजाले शासन हातमा लिँदा पनि यही कर्मचारी तन्त्र रह्यो र अहिले संघीय शासन प्रणाली स्थापित हुँदा पनि यही तन्त्र छ। कर्मचारीतन्त्रले सबैखाले परिवर्तनलाई नजिकबाट नियाल्दै आइरहेका छन्। तर परिवर्तनले स्थापित गरेका राजनीतिक मूल्य र मान्यताहरूलाई जनताको घरदैलोमा पुर्‍याउने महत्वपूर्ण भूमिकामा रहेका कर्मचारीहरूले त्यो महत्वपूर्ण भूमिकालाई आत्मसात् गर्न सकेका छैनन् । त्यसैले अब भने संघीय लोकतान्त्रिक गणतन्त्रले स्थापित गरेका मूल्य र मान्यताहरूलाई जनता समक्ष पु¥याउने कार्यमा कर्मचारीतन्त्र चुक्नु हुँदैन। यो उसको ऐतिहासिक जिम्मेवारी पनि हो । यो जिम्मेवारी पूरा गर्न कर्मचारीतन्त्र तन मन दिएर अग्रसर हुनै पर्छ।

जनताको अपेक्षा कर्मचारीतन्त्रप्रति खासै ठूलो छैन। जनताको व्यक्तिगत भन्दा पनि राष्ट्रिय खालका अपेक्षा रहेका छन्। व्यक्तिगत अपेक्षा छैन जनताको । विकास निर्माण हुनु पर्‍यो । सेवा प्रवाह राम्ररी हुनुपर्‍यो। जनताको मुख्य अपेक्षा नै यही हो । कुनै पनि काम सहज र सुलभ किसिमले हुनुपर्‍यो । कुनै विकृति हुन भएन । जनताको काम फटाफट हुनुपर्‍यो। बिना झन्झट काम हुनुप¥यो, कर्मचारीको व्यवहार परिवर्तन हुनुपर्‍यो भन्ने जनताको चाहना छ।

मालिकको व्यवहार हुनु भएन। जनताको करबाट तलब खाने कर्मचारीले शासक होइन, हामी त जनताको सेवक हौँ भन्ने किसिमले सोच्नुपर्छ। हामी जनताको सेवक हाँै भन्ने किसिमको अनुभूति कर्मचारीले गर्नुपर्छ र सोहीअनुसार जनताको काममा समर्पित भएर लाग्नुपर्छ।

सरकारी कर्मचारीसँग जागिर दिनुस्, नियुक्ति दिनुस् र मेरो व्यक्तिगत काम मात्रै गरिदिनुस् भनेर जनताहरू आउँदैनन् । त्यस्तो व्यक्तिगत काम लिएर आउने निकै कम छन् । जनताहरू कर्मचारीसँग मेरो गाउँको स्कुललाई सहयोग गरिदिनुस, अस्पताललाई राम्रो बनाइदिनुस्, रोड बनाइदिनुस्, खानेपानी पुर्‍याइदिनुस् ,बिजुली गाउँमा पुर्‍याइदिनु भनेर मात्रै जनताहरू कर्मचारी भएको ठाउँमा आउने गर्छन्। शान्ति सुरक्षाको व्यवस्था गरिदिनुुस्, हामीले एकदमै निश्चिन्त रूपमा उद्योग, व्यवसाय सेवा आफैँ गरेर खान पाउँ त्यो अनुसारको वातावरण बनाइदिनु पर्‍यो भनेर जनताहरू सरकारी कार्यालयमा आउने गरेका छन्।


जनताको अपेक्षा त्यस अनुसारको छ । हाम्रो कर्मचारीको सोच भने पुरातनवादी खालको छ । नतिजामा भन्दा प्रक्रियामा बढी ध्यान दिने, कामहरू अहिल्यै गर्नुभन्दा एक दुई दिन थाती राखिदिने, जिम्मेवारी पन्छाइदिने, ढिलो गरिदिने प्रवृत्ति वर्षौं अघिदेखिको हो । अहिलेको कर्मचारी प्रशासनमा काम राम्ररी नगरिदिने, जनताको कामलाई सामान्य रूपमा हल्का किसिमले लिने प्रवृत्ति हाबी छ । हाम्रो कर्मचारी प्रशासनले नतिजामा खासै ध्यान दिने गर्दैन।

अबको कर्मचारीतन्त्र जनअपेक्षा अनुसार आमूल रूपान्तरण हुनैपर्छ । कर्मचारी रूपान्तरण भई जनपक्षीय हुन सकेमा मात्रै संघीय शासन प्रणालीले आत्मसात् गरेका मूल्य र मान्यताहरू जनता समक्ष पुग्न सक्छन् र संघीय शासन प्रणाली पनि सफल हुनसक्छ । त्यसैले कर्मचारीतन्त्रको पहिलो काम आमूल रूपान्तरण नै हो।