ब्राजिलमा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु


काठमाडौं ।

ब्राजिलमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। ब्राजिलको ग्रामाडो सहरमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।

सबै मानिस एकै परिवारका सदस्य थिए। यो एक निजी विमान थियो, जुन आइतबार बिहान ब्राजिलका व्यापारी लुइज क्लाउडियो ग्यालेजीले उडाएका थिए।

दुर्घटनामा उनी बाहेक उनकी श्रीमती, तीन छोरी र परिवारका अन्य केही सदस्यको मृत्यु भएको छ। उनको कम्पनीको तर्फबाट एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिइएको हो।

यो सानो विमान पहिले भवनको चिम्नीमा र त्यसपछि घर र पसलमा ठोक्किएको बताइएको छ। दुर्घटनामा सो क्षेत्रका भवनमा पनि क्षति पुगेको छ। यस घटनामा १७ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

जसमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ। ब्राजिलका सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय व्यापारी गालेज्जी आफ्नो परिवारलाई यात्रामा लिएर जाँदै थिए। विमान दुर्घटनाको कारण खराब मौसम रहेको बताइएको छ।