गेटवेद्वारा उपाधि रक्षा


काठमाडौं ।

डिफेन्डिङ च्याम्पियन गेटवे एकेडेमीले १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ।
मूलपानी मैदानमा भएको फाइनलमा गेटवेले ब्रम्हकुञ्जलाई २–१ गोलअन्तरले पराजित गर्‍यो।

हाइली क्रिएटिभ तेश्रो भयो। हाइली क्रिएटिभले ओरियन्टललाई ५–१ गोलले सहजै हरायो। शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे।

फेकाद्वारा आयोजित प्रतियोगितामा ओरियन्टलका मनोज राम उत्कृष्ट खेलाडी घोषित भए। डिफेन्समा ब्रम्हकुञ्जका एलेक्स कुँवर, गोलरक्षकमा ब्रम्हकुञ्जका सन्दिप राई, मिडफिल्डमा गेटवेका प्रतीक रायमाझी र प्रशिक्षकमा गेटवेका सुजन नापित उत्कृष्ट चुनिए।

ओरियन्टलका रोशन पक्वाल उदीयमान खेलाडी बने भने प्रतियोगिताभर ६ गोल गरेका गेटवेका प्रदिप खत्री सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । कौस्तुभ एकेडेमीले अनुशासित टिमको उपाधि हात पार्‍यो।

विजेतालाई कागेशवरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, फेकाका अध्यक्ष श्रीराम दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर २८ गतेदेखि शुरू प्रतियोगितामा २५ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको थियो।