सत्ता समीकरण असफल भयो भने देशमा कुनै विकल्प रहदैन् : कैलाशप्रसाद ढुङ्गेल


काठमाडौं ।

नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले वर्तमान सत्ता समीकरण पनि असफल भयो भने देशमा कुनै विकल्प बाँकी नरहने बताउनुभएको छ ।

आइतबार नेकपा एमाले रामेछापले रामेछाप जिल्ला भूगोलबाट नेपाल पत्रकार महासंघ केन्द्र तथा जिल्लामा निर्वाचित पत्रकारहरूलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढुङ्गेलले त्यसैले यो सत्ता समीकरणलाई असफल हुने छुट नभएको बताउनुभयो । ‘नेपालको लोकतान्त्रिक अभ्यासमा अब यसको विकल्प छैन’, उहाँले भन्नुभयो ।

अहिलेको सत्ता समीकरण भाँड्न अराजकतावादीहरू लागिरहेका ढुङ्गेलले बताउनुभयो । अराजकतावादी र लोकतन्त्रका पक्षधरहरूको राजमार्ग एउटै हुन नसक्ने बताउँदै ढुङ्गेलले अराजकतावादीहरूले निरंकुशताको पक्षपोषण गर्ने स्पष्ट पार्नुभयो ।

लोकतन्त्रलाई कमजोर बनाउन चाहनेहरूले एमाले र एमालेको नेतृत्व माथि आक्रमण गर्ने काम गरिरहेका ढुङ्गेलले बताउनुभयो । ‘केपी ओली अराजकतावादीहरूको निसाना बन्नु भएको छ, केपी ओली चाइना जाँदा चाइना कार्ड प्रयोग गर्‍यो भन्ने आरोप लगाइन्छ, केपी ओलीको विदेशी कम्पनीमा लगानी छ भनेर भ्रम फिँजाइन्छ, यसले मुलुकलाई कमजोर बनाउने काम भएको छ’, ढुङ्गेलले भन्नुभयो ।

अराजकतावादीहरूले देशमा केही भएको छैन भन्ने भ्रम फिँजाउने प्रयत्न गरेका बताउँदै ढुङ्गेलले देशमा अनुभूत हुने खालका धेरै काम भएको बताउनुभयो । यो सबै लोकतन्त्रको देन भएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताउँदै ढुङ्गेलले हरेक समस्याको समाधान यही व्यवस्था भित्र खोज्नु पर्नेमा जोड दिनुभयो । अहिले लोकतन्त्रवादी शक्तिमा विभाजन ल्याई अनेक फण्डा मच्चाउने प्रयत्न भएको बताउँदै ढुङ्गेलले त्यसबाट सतर्क हुनुपर्ने बताउनुभयो ।

पत्रकारिता समाजको ऐना भएकोले समाजका विकृतिलाई पत्रकारिताको माध्यमबाट चिर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पत्रकारिता क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले मिस इन्फरमेसन र डिस इन्फरमेसनले अहिले सामाजिक अराजकता मच्चाउने काम गरेको बताउँदै त्यसबाट जोगिएर काममा गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघको नयाँ निर्वाचित टिमले नयाँ मानक राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा वाग्मती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, नेकपा एमाले रामेछापका उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाशकुमार कार्की, मन्थली नगरपालिका कमिटी अध्यक्ष रामबाबु घिमिरे, जिल्ला कमिटीका सदस्यहरू, अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्की लगायतको सहभागिता रहेको थियो ।