एनपीएलको उपाधि जनकपुर बोल्ट्सलाई

सुदूरपश्चिम रोयल्स ५ विकेटले पराजित

658
Shares

काठमाडौं ।

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० फ्रेन्चाइजी प्रतियोगिताको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। शनिबार त्रिवि मैदानमा भएको फाइनल खेलमा जनकपुरले प्रतियोगिताको उपाधि दाबेदारीमा रहेको सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराएको हो।

योसँगै जनकपुरले लिग र क्वालिफायर पहिलो खेलमा बेहोरेको हारको बदला पनि लिएको छ। सुदूरपश्चिमले दिएको १ सय ८५ रनको ठूलो लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा प्राप्त गरेको हो । यसअघि सुदूरविरुद्ध ५१ रन र १ सय ४० रन बनाएको जनकपुरले फाइनलमा भने त्यो गल्ती गरेन । टोलीलाई उपाधि दिलाउन ओपनर लाहिरू मिलान्था र कप्तान आसिफ शेखले शानदार सुरुवात दिलाए ।

पहिलो विकेटका लागि नै उनीहरूले ७ ओभरमै ७३ रनको साझेदारी गरेका थिए । यहीँबाट नै सुदूरपश्चिममाथि अन्त्यसम्म दबाब दिन सफल भयो। ३३ रनमा आसिफ आउट भएपछि १ सय ५ स्कोरमा मोहम्मद मोहसिन (९ रन) आउट भए।

यति बेलासम्म सुदूरपश्चिम खेलमा फर्कन सक्ने मौका थियो। तर, तेस्रो विकेटका लागि मिलान्थाले हर्ष थाकरसँग ६१ रन साझेदारी गरेर टोलीलाई उपाधि निकट पुर्‍याए। ९ चौका र ४ छक्का प्रहार गरेका मिलान्था ८७ रनमा आउट भएका थिए । उनी आउट हुँदा जनकपुर १९ रनले उपाधिबाट टाढा थियो ।

यसपछि जेम्स निसाम (४ रन) र आकाश त्रिपाठी (२ रन) को विकेट गुमाएको जनकपुरलाई हर्षले ४ बल बाँकी राखी जित दिलाए । हर्ष ३० रनमा नटआउट रहे । सुदूरका बलरमा दीपेन्द्रसिंह, कुगेलिन, सैफअली र इशान पाण्डेले एक–एक विकेट लिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ को बलियो स्कोर तयार गरेको थियो । टोलीका लागि ओपनर ब्याटर सैफअली जेबले सर्वाधिक ६९ रन बनाए । यस्तै, अर्का ओपनर ब्याटर विनोद भण्डारी भने ४१ रनमा आउट भए ।

यी दुवै ब्याटरले पहिलो विकेटका लागि १२ ओभरमा १ सय १७ रनको शतकीय साझेदारी गरे पनि उनीहरू आउट भएपछि सुदूरपश्चिमको रन गति पनि कम भयो । जसका कारण लगातार विकेट पतन भयो र २ सय रन कटाउन सम्भावना भएकोमा त्यसमा पनि सफल हुन सकेनन् ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीसमेत दबाबमा रन बनाउन असफल भएका थिए। उनी ९ रनमा पभेलियन फर्केका थिए। यस्तै, ब्रान्डन म्याकमुलेन र हरमित सिंह समान १४ रनमा आउट भए भने स्कट कुगेलिन १३ रनमा आउट भएका थिए।

जनकपुरका बलरमा किशोर महतो र मोहसिनले ३–३ विकेट लिँदा निशाम र ललित राजवंशीले १–१ विकेट हासिल गरेका थिए ।

पुरस्कार
पहिलो : जनकपुर बोल्ट्स, १ करोड १० लाख
दोस्रो : सुदूरपश्चिम रोयल्स, ५१ लाख
तेस्रो : कर्णाली याक्स, २५ लाख
चौथो : चितवन राइनोज, १५ लाख
दीपेन्द्रसिंह ऐरी ओमोडाको ६२ लाख मूल्यको कार