काठमाडौँ।
गत असोज १२ गते आएको बाढी पहिरोको चपेटामा परेका समुदायलाई लक्षित गरी नेपाल नेपाल परिवार नियोजन संघ उपत्यका शाखाले विभिन्न ८ ठाउँमा न्यूनतम प्रारम्भिक सेवा अन्तरगतका सेवा सहित निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
जस अनुसार उपत्यका शाखाले बागमती गाउँपालिका अन्तरगत वडा नं ३ स्थित भटेडाडा हेल्थपोष्ट, वडा नं ४ प्यूटारस्थित थाङ्गसिङ्गटार अस्पताल र वडा नं ५ ईकुडोल स्वास्थ्य केन्द्रमा वृहत् प्रजनन स्वास्थ्य शिविरको आयोजना गर्यो ।
जसमा स्त्री तथा प्रसुती सेवा, पाठेघरको मुखको क्यान्सर, पाठेघर खसेकाहरुका लागि रिङ्ग राख्ने, नवजात शिशु तथा गर्भवती आमाहरुको स्वास्थ्य सेवा, यौनरोगको परीक्षण तथा एचआईभि परीक्षण, परिवार नियोजनको स्थायी तथा अस्थायी सेवा, लैडिङ्गकतामा आधारित हिंसा सम्बन्धी परामर्श तथा परीक्षण, वृद्ध उमेरका व्यक्तिहरूको लागि स्वास्थ्य सेवा र सुरक्षित गर्भपतन सेवा तथा प्रयोगशाला सेवा समेत उपलब्ध गराइएको थियो ।
काठमाडौँ उपत्यकाभित्र पर्ने ललितपुर जिल्लाको ग्रामीण भेगलाई नेपालको दोस्रो कर्णाली भन्ने गरिन्छ । चापागाँउबाट भट्टेडाँडा, ईकुडोल र प्यूटार पुग्न सवारी साधनमा तीनदेखि ४ घण्टा लाग्ने गर्छ भने त्यहाँको दैनिकी निकै कष्टकर रहेको स्थानीय बासिन्दा बताउँछन् ।
शिविरमा १७० जनाको पाठेघरको मुखमा हुने क्यान्सर परीक्षण गरिँदा २ जनामा पोजिटीभ पाईएको शाखाका प्रवन्धक शरदकुमार अर्यालले बताए । सो शिवीरमा ११० जनाको यौनरोग परीक्षण,४० महिलाको गर्भवती परीक्षण, ७० जनाको एचआईभि परीक्षण र २ जना पुरुषलाई स्थायी बन्ध्याकरण सेवा दिइएको थियो ।
उक्त निःशुल्क स्वास्थ्य शिविरको लागि संघको उपत्यका शाखाका शाखा प्रबन्धक शरद कुमार नेतृत्वमा डा.कृपा क्षेत्रीसहित १० सदस्य रहेका थिए ।
प्रतिक्रिया