सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य


काठमाडौँ।

नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जित्नका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ राजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।

११ ओभरसम्म विकेटविहीन रहेको जनकपुरले त्यस यताको खेलमा पुनरागमन गरेको हो ।

सुदूरपश्चिमका ओपनरद्वय सैफ जाइब र विनोद भण्डारीले ११७ रनको साझेदारी गरे । ११ ओभरको अन्तिम बलमा उनीहरुको साझेदारी टुटे लगत्तै जनकपुरले लगालग विकेट लिएको हो ।

सैफले ४३ बलमा ५९ रन र विनोदले ३१ बलमा ४१ रन जोडे । उनीहरुबाहेक सुदूरपश्चिमका अन्य ब्याटर चल्न सकेनन् ।