शुद्ध खानेपानी वितरण सुनिश्चित गर्न मन्त्रीको निर्देशन



काठमाडौं ।


खानेपानी मन्त्री प्रदीप यादवले नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।


मंगलवार काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय पानीपोखरीमा रहेको खानेपानीको भरपर्दो र दिगो एवं न्यायोचित वितरण सुनिश्चित गर्नमा सहयोग पु¥याउन अनुगमन, नियन्त्रण र तत्थ्याङ्क प्राप्तिकरण प्रणालीको अनुगमन तथा निरीक्षणका मन्त्री यादवले सो निर्देशन दिनुभएको हो ।


अनुगमन एवं निरीक्षणका क्रममा मन्त्री यादवले भन्नुभयो– ‘काठमाडौं उपत्यकामा खानेपानीको भरपर्दो र दिगो एवं न्यायोचित रूपमा नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्नुहोला । सबै नागरिकले शुद्ध अनि सफा पानी खान पाऊन् ।’
सोही क्रममा मन्त्री यादवले स्काडाको काठमाडौंस्थित पानीपोखरी नियन्त्रण कक्षबाट स्वचालित रूपमा खानेपानीको वितरण तथा सञ्चालन गर्ने खानेपानी वितरणसँग सम्बन्धित विभिन्न तथ्याङ्क प्राप्त गर्ने, पानीको चुहावट नियन्त्रण गर्ने कायर्मा बाँकी रहेका कामहरू यथाशीघ्र सम्पन्न गर्नसमेत निर्देशन दिनुभयो ।


उहाँले भन्नुभयो– ‘काठमाडौं उपत्यकामा स्वचालित रूपमा पानी वितरण गरिने र बन्द गरिने प्रणालीसँग सम्बन्धित रहेका सबै कामहरू चाँडो सम्पन्न गर्नुस् । नागरिकले स्वच्छ र शुद्ध पानी समयमै प्रयोग गर्न पाएको आभास गर्न सकून् ।’

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयबाट हाल सञ्चालनमा रहेका खानेपानी सम्बन्धिका सबै कामहरू समयमै सम्पन्न गर्न-गराउनसमेत मन्त्री यादवले निर्देशन दिनुभयो ।