पुस ८ मा परिषद् बैठक

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

1.6k
Shares

–अनेरास्ववियु भन्छ: १५ गते नै निर्वाचन हुनुपर्छ
काठमाडौं ।


त्रिभुवन विश्वविद्यालयले फागुन १५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने भएको छ । त्यसको लागि यही ८ गते स्ववियु परिषद्को बैठक बस्दै छ । बैठकले स्ववियुको कार्यतालिका, विद्यार्थी संघ संगठनसँग छलफल र गर्ने निर्णय गर्नेछ । त्रिवि केन्द्रीय निर्वाचन तथा अनुगमन समितिका सदस्यसचिव एवं त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले केही बैठकले स्ववियु निर्वाचन गर्ने विषय प्रक्रियाबारे निर्णय गर्नेछ ।


केन्द्रीय निर्वाचन परिषद्को अध्यक्ष शिक्षाध्यक्ष (रेक्टर) रहने व्यवस्था छ । सदस्यसचिव अधिकारीले ८ गते बस्ने बैठकपछि स्ववियु निर्वाचनको सबै विषयबारे जानकारी हुनेछ । गत वर्ष सम्पन्न त्रिवि सभा (सिनेट) बैठकले फागुन १५ मा स्ववियु निर्वाचन गर्ने निर्णय गरिसकेको छ । उपकुलपति प्राडा केशरजंग बरालले क्यालेन्डरमा फागुन १५ मा स्ववियु निर्वाचन गर्ने उल्लेख भएकोले सोही दिन निर्वाचन गर्ने बताउनुभयो । उपकुलपति प्राडा बरालले नीति तथा कार्यक्रममा फागुन १५ मा स्ववियु निर्वाचन गर्ने उल्लेख गर्नुभएको थियो ।


स्ववियु पदाधिकारीको दुईवर्षे कार्यकाल समाप्त भएसँगै त्रिविले स्ववियु निर्वाचन प्रक्रिया शुरू गर्न लागेको हो । उपकुलपति बरालले भन्नुभयो– ‘मिति तय भइसकेको छ, सोहीअनुसार कार्यक्रम सार्वजनिक गर्नेछौं ।’ दुई वर्षअघि स्थगित भएका उपत्यकाका ४ सहित उपत्यकाका बाहिरका ८ गरी १२ सहित ६२ वटा आंगिक र झन्डै ७ सय सम्बन्धनप्राप्त क्याम्पसमा एकैसाथ स्ववियु निर्वाचन गर्ने तयारी त्रिविको छ ।


स्थगित भएका र दुईवर्षे कार्यकाल पूरा भएका सबै क्याम्पमा स्ववियु निर्वाचन हुने निर्देशक अधिकारीले बताउनुभयो । उपत्यका ४ र उपत्यका बाहिरका ८ सहित देशभरका १२ क्याम्पसमा निर्वाचन स्थगित भएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत ६२ आंगिक क्याम्पस छन् । यसैबीच स्ववियु निर्वाचन गर्न दबाब दिन एमाले निकट अनेरास्ववियुले उपकुलपति कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको छ । संगठनले तोकिएकै मितिमा निर्वाचन गर्न दबाब दिन र १० दिनदेखि अनशनरत त्रिवि केन्द्रीय क्याम्पस स्ववियु सचिव रिद्धान्त भट्टले राखेका मागको सुनुवाइ गर्न दबाब दिन उपकुलपति कार्यालयमा पत्रकार सम्मेलन आयोजन गरेको थियो ।


त्यस अवसरमा अनेरास्ववियुका अध्यक्ष समिक बडालले १२औं सचिवालयको बैठकको निर्णय सुनाउँदै त्रिभुवन विश्वविद्यालयले तोकेकै समयभित्र स्ववियु निर्वाचन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘कुनै बहानामा निर्वाचन स्थगित गर्न पाइँदैन, हामी तयारीमा जुटिसकेका छांै, सबै विद्यार्थी संगठनसँग त्रिविले छलफल गरोस् ।’ उहाँले त्रिविलाई स्ववियु निर्वाचन गर्न दबाब दिन यही पुस २५ र २६ गते देशभरका अनेरास्ववियु जिल्ला अध्यक्षको उपस्थितिमा कार्यशाला गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

महासचिव नरेश रोकायाले अनेरास्ववियुको केन्द्रीय कमिटिको चौथो बैठक माघ ६देखि ८ सम्म काठमाडांैमा गर्ने, चैत मसान्तभित्र राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने निर्णय भएको जानकारी दिनुभयो । उपाध्यक्ष नारायण घर्तीले ३५ बुँदे माग राखी उपकुलपतिको कार्यालयमा २४ घण्टा अनशन बस्नुभएका त्रिवि क्याम्पस स्ववियु सचिव रिद्धान्त भट्टको मागको विषयमा त्रिविले तत्काल नीतिगत निर्णय गर्नुपर्ने बताउनुभयो ।

उहाँले स्ववियु निर्वाचन सम्पन्न गर्न सबै विद्यार्थी संगठन एकजुट हुनुपर्ने बताउनुभयो । अध्यक्ष बडालले स्ववियु निर्वाचनमा अनेरास्ववियु एक्लै लड्ने जानकारी दिनुभयो । त्रिविले विद्यार्थी संघ संगठनसँग छलफल गरेर निर्वाचन प्रक्रिया अघि बढाउने जनाएको छ । क्याम्पस र विद्यार्थी संघ संगठनको कारण देशभरका एकदर्जन क्याम्पस स्ववियुविहीन छन् । देशको सबैभन्दा धेरै विद्यार्थी भएको पृथ्वीनारायण क्याम्पसमा समेत निर्वाचन स्थगित भएको छ ।

गत वर्ष देशभर ५० आंगिक र करिब ३ सय ५० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । अझै करिब ६ सय ५० क्याम्पसमा निर्वाचन भए नभएको रेकर्ड छैन । त्रिविको शैक्षिक क्यालेन्डरमा प्रत्येक २–२ वर्षमा फागुन १५ मा निर्वाचन गर्नेगरी क्यालेन्डर तयार भएको छ ।

यसैबीच मंसिर २७ गते सम्पन्न सिनेट बैठकमा सामाजिक सञ्जालको दुरुपयोग गरी जथाभाबी पोस्ट गरेको विषयमा प्रश्न उठाउँदै अध्यक्ष बडालले फेक समाचार सम्प्रेषण गरी व्यक्तिको चरित्रहत्या गर्ने गलत मनसायले हुने गतिविधि रोक्न त्रिविलाई आग्रह गरेको बताउनुभयो ।