पवटीबाट १२ करोड भन्दा बढीको सुन्तला निर्यात

10.62k
Shares

दोलखा ।

सुुन्तलाको गाँउ पवटीमा अहिले थोक बिक्रेताहरु धमाधम सुन्तला सङ्कलनमा जुुटेका छन् । सुन्तलाको बोटमा फूल खेल्न थालेदेखि पुरै बगैचा किन्ने थोक बिक्रेताहरु सुन्तला टिप्ने सिजन भएपछि सङ्कलनमा जुटेका हुन् ।

दोलखाको मेलुङ गाँउपालिका वडा नम्बर– १ मा पर्ने पवटीको अमले, रुखेनी, ढकाल गाँउ, काब्रे, च्याने, आचार्य टोल र कालिमाटीमा जिल्ला भरीमै सबैभन्दा स्वादीलो र धेरै सुन्तला उत्पादन हुने गरेको छ । गत बर्ष पवटीबाट करिब १२ करोडको सुन्तला निर्यात भएको मेलुङ गाँउपालिका वडा नम्बर– १ पवटीका वडा सदस्य कमल बहादुर बुढाथोकी बताउछन् ।

सुन्तलाको थोक व्यवसाय गर्दै आएका वडा सदस्य कमल बहादुर बुढाथोकी यो बर्ष पवटीबाट १२ करोड भन्दा बढीको सुुन्तला निर्यात हुुने बताउछन् । यो बर्ष सुन्तला उत्पादन केही घटेको छ, तर मूल्य बढेकोले सुन्तला निर्यातबाट पवटीका किसानहरुले गत बर्षको भन्दा बढी आम्दानि गर्नसक्नेछन्– बुढाथोकीले भने ।


पवटीका अधिकांश किसानहरुले अहिले सुन्तला बिक्रि गर्दै आएका छन् । एक जना किसानले सुुन्तला बिक्रिबाट कम्तिमा ३० हजार देखि सात लाखसम्म आम्दानि गर्दै आएको वडा सदस्य एवम् सुन्तलाका थोक बिक्रेता बढाथोकी बताउछन् । केही बर्ष देखि सुन्तलाको व्यवसायीक खेती सुरु गरेको ठूली तमाङले यो बर्ष आफ्नो बगैचाको सुन्तला दुई लाख ५० हजारमा बिक्रि गरेकी छन् । गतबर्ष करिब दुुई लाखमा सुन्तला बिक्रि गरेकोमा यो बर्ष ५० हजार बढीमा बिक्रि भएको ठूली तमाङले बताईन ।

ढकाल गाँउका स्थानीय किसान बिवराम ढकाल आफुले सुुन्तलाको व्यवसायीक खेतीको लागि एक सय ४० बोट नयाँ विरुवा लगाएको बताउछन् । पुरानो ७०-८० बोटमा फल्ने सुन्तला आफुले खाने, आफन्त र पाहुनालाई दिने गरेर बचेको २५÷३० हजारसम्ममा बिक्रि गरेको ढकालको भनाई छ ।

पवटीको बिभिन्न बगैचामा पुगेर सुन्तला सङ्कलन गरिरहेका थोक बिक्रेता जीत बहादुुर राउत यो बर्ष पवटीबाट आफुले झण्डै ३० लाखको सुन्तला खरीद गरेको बताउछन् । रातोमाटो भएको र अधिकांश ठाउँमा पारिलाे रहेकोले दोलखा जिल्लामै पवटीकाे सुन्तला सबैभन्दा स्वादीलो हुने थोक बिक्रेता जीत बहादुर राउत बताउछन् ।

पवटीको सुन्तला दोलखाको बिभिन्न बजार बाहेक काठमाडौँ, सिन्धुली र भारतमा समेत निर्यात हुने गरेको थोक बिक्रेता राउतको भनाइ छ । पवटीको सुन्तलालाई प्रवद्धन गर्दै उत्पादन बृद्धिको लागि मेलुङ गाँउपालिकाले विरुवा खरीद, उपचार, प्रबिधि र प्राविधिक सहयोग गर्दै आएको पालिका प्रमुख हिरा कुमार थोकर बताउछन् । किसानहरुकै सल्लाहमा पवटीको सुन्तला प्रवद्धन र उत्पादन बृद्धिमा के गर्न सकिन्छ पालिकाले निरन्तर सहयोग गर्ने प्रमुख थाेकर बताउँछन् ।


पालिकाले गत बर्ष सुन्तला लगायत अमिलो जातिको फलफुलमा लाग्ने औसा रोग नियन्त्रणको लागि बागमति प्रदेश अन्र्तगत बालि संरक्षण प्रयोगशालासंग समन्वय गरी किट्नासक औषधि र स्प्रे मेशिन उपलब्ध गराएको पालिकाको कृषि शाखा प्रमुख बिष्णु जिरेलले बताए ।

यो बर्ष संघिय सरकारबाट सुन्तला पकेट विकास कार्यक्रम अन्र्तगत १२ लाख प्राप्त भएको र पालिकाले पाँच लाख छुट्टाएकोले उक्त रकम वडा नम्बर– १ सँग समन्वय गरी पवटीका सुन्तला उत्पादक किसानसंगको समन्वयमा सुन्तला प्रवद्धनकै लागि खर्च गरीने कृषि शाखा प्रमुख जिरेल बताउँछन् ।

सामुदायीक विकास मञ्च (सिडिएफ) नेपालले हेर्पडको सहकार्यमा पवटीको सुन्तला खेती प्रर्वद्धनको लागि आर्थिक बर्ष २०८०-०८१ मा १२ हजार दुई सय ६५ वटा सुन्तलाको विरुवा नि:शुल्क रुपमा वितरण गरेको परियोजना संयोजक फणिन्द्र चौलागाईले बताए ।