एजेन्सी ।
नाइजेरियाका २७ वर्षीय फरवार्ड एडेमोला लुकम्यान यस वर्षको ‘अफ्रिकी वर्ष खेलाडी’ घोषित भएका छन्। लुकम्यानले उक्त अवार्डका लागि मोरक्कोका अच्राफ हाकिमी, गिनीका सेरहाउ गुइरासी, आइभोरी कोस्टका सिमोन एडिंग्रा र दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सलाई उछिनेका हुन्।
उक्त अवार्ड राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानहरू सम्मिलित प्यानलले मतदानमार्फत चयन गरेको हो। अवार्ड जितेपछि लुकम्यानले सो अवार्डलाई वरदान भनेका छन्।
अफ्रिकाको उत्कृष्ट खेलाडीको रूपमा मान्यता पाउनु अविश्वसनीय कुरा रहेको उनले बताएका छन्। लुकम्यान यो अवार्ड जित्ने सातौं नाइजेरियाली खेलाडी बनेका छन्। यसअघि नाइजेरियाका नवान्को कानु (दुई पटक), इमानुएल अमुनिके, भिक्टर इक्पेबा र रसिदी येकिनीले यो अवार्ड जितेका थिए। गत वर्ष पनि सो अवार्ड नाइजेरियाकै भिक्टर इक्पेबाले पाएका थिए।
लुकम्यानले गत मे महिनामा डब्लिनमा भएको युरोपा लिगको फाइनलमा ह्याट्रिक गर्दै आफ्नो इटालियन सिरी ए क्लब एट्लान्टालाई बायर लेभरकुसेनविरुद्ध जित दिलाएका थिए। साथै यस वर्षको सुरुआतमा नाइजेरियालाई अफ्रिका कप अफ नेसन्सको फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। प्रतियोगितामा उनले तीन गोल गरेका थिए।
लन्डनमा जन्मिएका लुकम्यानले प्रिमियर लिगमा एभर्टन, फुलह्याम र लेस्टर सिटीबाट खेलेका थिए। सन् २०२२ मा उनले इटालियन सिरी ए क्लब एट्लान्टामा आबद्ध हुँदै उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन्। उनले गत सिजन एट्लान्टाका लागि १७ गोल गरेका थिए।
प्रतिक्रिया