ब्याडमिन्टनको अन्तर्राष्ट्रिय च्यालेन्ज हुने


काठमाडौं ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा नेपालमा दोस्रोपटक अन्तर्राष्ट्रिय च्यालेन्ज हुने भएको छ। विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसियाको स्वीकृतिमा योनेक्स सनराईज नेपाल च्यालेन्ज २०२४ मा विश्वका ५ महादेशका नेपालसहित २२ देशका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।

जसमा नेपालसहित भारत, अमेरिका, थाइल्यान्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानडा, मलेसिया, इन्डोनेसिया, इरान, इटाली, युनाइटेड अरब इमिरेट्स, जाम्बिया, युगाण्डा, इङल्यान्ड, न्युजिल्यान्ड, म्यानमार, अस्ट्रेलिया, युक्रेन, जापान रहेका छन्।

च्यालेन्जमा पुरुष/पुरुष एकल तथा युगल तथा मिक्स युगल गरी ५ विधामा प्रतिस्पर्धा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । जसमा १७४ खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । १५ हजार अमेरिकी डलरको पुरस्कार राशी रहेको प्रतियोगितामा सबै विधाका विजेता, उपविजेता, सेमिफाइनलिस्ट र क्वार्टरफाइनलिस्टका खेलाडीहरूले क्रमशः १२ सय डलर, ७२० डलर, ६ सय डलर र ४८० डलर प्राप्त गर्नेछन् ।

च्यालेन्ज यही पौष ८ गते सोमबारदेखि ११ गते बिहीबारसम्म सञ्चालन हुनेछ। त्यस्तै च्यालेन्जको लगत्तै १२ गते शुक्रवारदेखि १४ गते आइतबारसम्म योनेक्स सनराइज नेपाल जुनियर अन्तर्राष्ट्रिय सेरिज २०२४ आयोजना पनि हुनेछ। जसमा नेपालसहित भारत, न्युजिल्यान्ड, मलेसिया, थाइल्यान्ड, इरान, युनाइटेड अरब इमिरेट्सका खेलाडीहरूको सहभागिता रहने छ।

सिरिजमा पुरुष/महिला एकल तथा युगल र मिक्स युगल गरी ५ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन्। जसमा १०७ खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्। सिनियरतर्फ ९ पुरुष र ७ महिला तथा जुनियरतर्फ ८ पुरुष र ८ महिला खेलाडीहरूले प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए।

योनेक्स सनराइज कम्पनी, सिंगापुर मुख्य प्रायोजक रहेको च्यालेन्ज र सिरिजको लागत करिब १ करोड १६ लाख रहेको छ। योनेक्सले १५ हजार अमेरिकी डलरका साथ सहभागी नेपाली खेलाडीहरूलाई खेल पोशाक र ४ सेट ब्याडमिन्टन कोर्ट उपलब्ध गराउने छ।

त्यस्तै, बाँकी रकम राष्ट्रिय खेलकुद परिषद्, वागमती प्रदेश खेलकुद विकास परिषद् तथा विभिन्न बैंक तथा कम्पनीहरू र सहयोगी संघ संस्थाबाट पूर्ति गरिने अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए। च्यालेन्ज र सिरिजका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ।