रियल इन्टरकन्टिनेन्टल च्याम्पियन


एजेन्सी ।

रियल मेड्रिड फिफा इन्टरकन्टिनेन्टल च्याम्पियन बनेको छ। मेक्सिन टोली पाचुकाविरुद्ध ३–० गोलअन्तरको सहज जित निकाल्दै रियलले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको हो।

कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्षअघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल पनि उनैले गरे।

उनले ३७ औं मिनेटमा पोस्टको नजिकबाट गोल गरेका हुन् । दोस्रो हाफको सातौं मिनेटमा रोड्रिगोले दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे । फिफा वेस्ट अवार्डमा वर्षका उत्कृष्ट खेलाडी बनेका जुनियरले ८४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीको ३–० को जित निश्चित गरे ।

इन्टरकन्टिनेन्टल कपको यो पहिलो संस्करणमा हो । फिफा क्लब विश्वकपको सट्टामा इन्टरकन्टिनेन्टल कप आयोजना गरिएको हो । ५ महादेशको क्लब च्याम्पियनले इन्टरकन्टिनेन्टल कपमा नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् । त्यसको विजेताले युरोपियन च्याम्पियन क्लबसँग फाइनल खेल्ने छ ।

कन्काकाफ च्याम्पियनसिप कपको विजेता पाचुकाले काफ लिग विजेता इजिप्टको अल अहालीलाई हराउँदै इन्टरकन्टिनेन्टल कपको फाइनल पुगेको थियो । युरोपियन च्याम्पियन रियलले अघिल्लो राउन्ड नखेली सीधै फाइनल खेलेको हो । फिफाले सन् २०२५ मा क्लब विश्वकपलाई ३२ टोलीमा विस्तार गर्ने घोषणापछि यो इन्टरकन्टिनेन्टल कप नयाँ ढाँचामा हुन लागेको अन्तिम संस्करण हो । रियलसँग पाँचपटक क्लब विश्वकप जितेको इतिहास पनि बोकेको छ ।

यससँगै ६५ वर्षीय कार्लो एन्सेलोट्टी क्लब इतिहासकै सबैभन्दा धेरै उपाधि जित्ने प्रशिक्षकसमेत बनेका छन् । एन्सेलोट्टीको यो १५औं उपाधि हो । उनले मिगुएल मुनोजको १४ ट्रफीको कीर्तिमान तोडेका छन् । एन्सेलोट्टी हालसालै फिफा ‘द बेस्ट’ अवार्डअन्तर्गत वर्षको उत्कृष्ट पुरुष प्रशिक्षकसमेत घोषित भएका थिए।

सन् २०२१ मा पुनः रियलको प्रशिक्षक बनेका एन्सेलोट्टीले आफ्नो दोस्रो कार्यकालमा ११ वटा उपाधि जितेका छन्, जसमा एक च्याम्पियन्स लिग पनि समावेश छ।