सुर्खेतमा कोईला बालेर सुतेका आमाछोरा निसास्सिएर मृत्यु, छाेरी घाइते

5.26k
Shares

सुर्खेत ।

वीरेन्द्रनगरमा कोठाभित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु भएको छ, भने छाेरी घाइते भएकी छन् । वीरेन्द्रनगर–४ भैरवस्थानको समावेशी टोलमा कोईला बालेर सुतेका आमा, छोरा र छोरीमध्य आमा र छोराको निस्सासिएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३० वर्षीय देवीसरा थापा घर्ती र ६ वर्षीय छोरा रियान घर्ती छन् । गम्भीर घाइते नौ वर्षीय रिया घर्तीको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

‘बुधबार राती खाना खाएर सुतेका तीन जना विहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ,’ उनले भने, ‘प्रहरी पुगेर ढोका फोडेर उनीहरुलाई तत्कालै अस्पताल पु¥याइएको थियो । तर चिकित्सकले आमा र छोरालाई मृत घोषणा गरिदिएका बताए । छोरी रियाको मुटुको चाल चलिरहेको पाइएपछि सघन उपचार कक्षमा अहिले उपचार भइरहेको छ ।’

उनीहरूलाई उद्दार गरिरहेको बेला अर्धअचेत अवस्था भएकाले तत्कालै अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ । उनीहरु सुतेको कोठामा झ्याल लगाइएको र तसलामा कोईला बलिरहेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

कोठामा कोईला बाल्दा कार्बनमोनोअक्साइड ग्यास भरिएको र अक्सिजनको मात्रा कम भएकाले निसास्सिएर नै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।