जनस्वास्थ्यका क्षेत्रमा स्वागतयोग्य काम


आम नागरिकको नैसर्गिक अधिकारका रुपमा संविधानले नै स्थापित गरेको विषय हो, स्वास्थ्य । व्यावहारिकरुपमा जनस्वास्थ्यका विषय धेरै ओझेलमा पारिएको अवस्था छ। कानुनीरुपमा व्यवस्था भए पनि व्यावहारिकरुपमा दक्ष जनशक्ति, उपकरण, भौतिक संरचना, सडक तथा यातायातका साधनको अभाव, औषधिको आपूर्तिमा भएको ढिलासुस्तीलगायतका थुप्रै समस्याले जेलिएको छ।

यसलाई मध्यनजर गरेर यस्ता विषयमा नजिकबाट नियालिरहेका विज्ञहरुको एक समूहलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले समेटी पाँच सदस्यीय विज्ञ सल्लाहकार समूह गठन गर्नुभएको छ। यस सल्लाहकार समितिमा प्रताप पौडेल, डा. भगवान कोइराला, डा. सुधा शर्मा, अमित भण्डारी र रघुराज काफ्ले रहनुभएको छ।

यस समितिमा समेटिका सबै व्यक्तित्व स्वास्थ्य क्षेत्रका साथै नीति निर्माणमा समेत अनुभवी हुनुहुन्छ। यसरी सल्लाहकार समिति बनाउनु अत्यन्तै आवश्यक र स्वागतयोग्य कुरा हो। यस समितिले गर्ने कार्य र परिणामले आम नागरिकको स्वास्थ्य सुधारका लागि नीति बनाउने कार्यमा सहयोग पुगोस्।

यस समितिका सदस्य प्रताप पौडेलले गगन थापा स्वास्थ्यमन्त्री हुँदा प्रमुख सल्लाहकारका रुपमा काम गरिसक्नुभएको थियो । उहाँ स्वास्थ्यमा भए÷गरेका काम र गर्नुपर्ने कामका लागि आवश्यक नीति, नियम, जनशक्ति, उपकरण, भौतिक संरचना कहाँ कुन अवस्थामा छ भन्ने पूर्ण ज्ञान भएका व्यक्तित्व हुनुहुन्छ।

साथै उहाँले संघीयका साथै प्रदेश र स्थानीय तहमा स्वास्थ्य कानुन निर्माणमा परामर्श दिने एकीकृत स्वास्थ्य पूर्वाधार, विद्यालय नर्सिङ कार्यक्रम, स्वास्थ्य अनुसन्धान रणनीति, शहरी स्वास्थ्य प्रवद्र्धनलगायतमा योगदान गरिसक्नुभएको छ । यसका यसका अतिरिक्त उहाँले जनस्वास्थ्य ऐनको प्रारम्भिक मस्यौदा निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्नुभएको छ । यसै गरी अर्का सदस्य डा. भगवान कोइराला मुटुरोग विशेषज्ञ हुनुहुन्छ । विभिन्न सरकारी अस्पतालको नेतृत्व लिनुका साथै उहाँले विभिन्न स्वास्थ्य नीति निमार्णका मस्यौदा तयार पार्न महत्वपूर्ण भूमिका खेल्नुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै मुटु उपचारमा उहाँले ख्याति कमाइसक्नुभएको छ । उहाँ हाल बाल अस्पताल निमार्णका क्षेत्रमा सक्रिय रुपमा लाग्नुभएको छ।

यस्तै समितिका अर्का सदस्य डा. सुधा शर्मा पूर्व–स्वास्थ्य सचिव हुनुहुन्छ। उहाँले पनि आफू स्वास्थ्य सचिव हुँदा स्वास्थ्यका नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। उता अमित भण्डारी जनस्वास्थ्य विज्ञ भएकै कारण विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाको नेतृत्व तहमा कार्यरत हुनुहुन्छ।

नेपालको स्वास्थ्य सेवा निकै महँगो र विदेशको मुख ताक्नुपर्ने अवस्थामा निर्भर भएको बेला उहाँले विदेशी दातृ निकायहरुसँगको सहकार्यका लागि आवश्यक ठोस नीति बनाउन महत्वपूर्ण भूमिका खेल्ने जनविश्वास रहेको छ । समितिमा रहेका अर्का विज्ञ सल्लाहकार रघुराज काफ्ले गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसक्नुभएका अनुभवी व्यक्तित्व हुनुहुन्छ । यसरी अनुभवी एवं विज्ञ सल्लाहकार समितिबाट आउने प्रतिवेदन, सुझावहरु नीति तथा कार्ययोजना बनाउन महत्वपूर्ण हुने विश्वास गर्न सकिन्छ ।

हुन त सरकारले यसरी गठन गरेका थुप्रै विज्ञ समूहको मेहनत फाइलमै सीमित हुने गरेका पनि छन् । त्यसैले स्वास्थ्य मन्त्रालयले यो विज्ञ समितिको जिम्मेवारी, सल्लाह र सुझावलाई व्यावहारिकरुपमा लागू गर्नेतर्फ तत्परता देखाओस् । सरकारले गठन गरेको र अब गरिने यस्ता विज्ञ समूह कागजमा मात्र सीमित नहुन्। समितिले सरकारलाई दिएका राय–सल्लाह जनमुखी हुन् । के–कस्ता राय–सल्लाह आए, सार्वजनिक गरी थप परिमार्जनसहित नीति निर्माण तहमा प्रयोगमा ल्याइयोस्। सल्लाहकार समूह गठन गरिरहँदा स्वास्थ्यमन्त्रीले सार्वजनिक गर्नुभएको अभिव्यक्तिजस्तै समितिले दिएको सुझावले मन्त्रालयले बनाउने नीति र त्यसको कार्यान्वयनका क्षेत्रमा निर्णायक भूमिका खेल्न सकोस्।