भिनिसियस र आइतानालाई फिफा द वेस्ट अवार्ड



एजेन्सी ।

फिफा द वेस्ट अवार्ड यो वर्ष पुरुषतर्फ भिनिसियस जुनियर र महिलातर्फ आइताना बोनमतीले जितेका छन्। विश्व फुटबल महासंघ (फिफा) ले हरेका वर्ष प्रदान गर्ने उक्त अर्वाड यसपटक स्पेनिस क्लब रियल मेड्रिडका ब्राजिली फरवार्ड भिनिसियसलाई र बार्सिलोनाकी स्पेनी खेलाडी बोनमतीलाई प्रदान गरिएको हो।

कतारमा आयोजना भएको उक्त अवार्ड कार्यक्रममा भिनिसियस र बोनमती फिफा वर्ष खेलाडी बनेका हुन्।
गत सिजनमा २४ वर्षीय भिनिसियसले रियल मेड्रिडलाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए। उनले टोलीका लागि ३९ खेलमा २४ गोल गरेका थिए। भिनिसियसले म्यानचेस्टर सिटीका स्पेनी मिडफिल्डर रोड्री र रियल मेड्रिडका इंग्लिस मिडफिल्डर जुड बेलिङघमलाई पछि पारेका थिए।

यसैगरी, महिलातर्फ मिडफिल्डर बोनमतीले भने लगातार दोस्रो वर्ष फिफा द बेस्ट महिला खेलाडीको अवार्ड जितेकी हुन्। २६ वर्षीया बोनमतीले सन् २०२४ मा क्लब र राष्ट्रको लागि उत्कृष्ट प्रदर्शन गरेकी हुन्।

बोनमती सम्मिलित स्पेन टोलीले २०२३ मा महिला विश्वकपको उपाधि जितेको थियो । उनले जाम्बियाकी बार्बरा बान्दा र नर्वेकी क्यारोलिन ग्राहाम ह्यान्सनलाई पछि पारेकी थिइन्। रियल मेड्रिडका कार्लो एन्सेलोटीले फिफा द बेस्ट पुरुष प्रशिक्षकको अवार्ड जिते । महिलातर्फ अमेरिकी महिला फुटबल टोलीकी प्रशिक्षक एम्मा हेजले अवार्ड जितिन्।

वेस्ट गोलकिपरको अवार्ड पुरुषमा इंग्लिस क्लब एस्टन भिल्लाका अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेज र महिलामा अमेरिकाकी एलिसा नेहरले जितिन्। उत्कृष्ट गोल गर्नेलाई प्रदान गरिने पुस्कास अवार्ड महिलातर्फ अमेरिकी क्लब ओर्लेन्डो प्राइडकी ब्राजिलियन खेलाडी मार्टा र पुरुषतर्फ म्यानचेस्टर युनाइटेडका अर्जेन्टिनी खेलाडी अलेक्जान्ड्रो गोरान्चोले जिते।
त्यसैगरी जाम्बियाकी बार्बरा बान्दा अफ्रिकी महिला वर्ष खेलाडी घोषित भइन्।

२४ वर्षीया बान्डाले उनी आबद्ध क्लब ओर्लेन्डो प्राइडलाई पहिलो एनडब्लुएसएल च्याम्पियनसिप उपाधि जिताउन महत्वपूर्ण योगदान दिएकी थिइन्। बान्दाले कान्सास सिटीविरुद्ध निर्णायक गोल गर्दै क्लबको जित सुनिश्चित गरेकी थिइन् । बान्डा जाम्बियाको टोलीमा समावेश हुँदै दुई वर्षअघि महिला अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेकी थिइन् ।