काठमाडौं ।
संयुक्त राज्य अमेरिकामा ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको विजयले अमेरिकामा महिला उम्मेदवार राष्ट्रपति पदमा किन विजयी हुँदैनन् भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ ।
यसपटक डेमोक्रेटिक पार्टीले उठाएका कमला ह्यारिसले लोकप्रिय मत पाए तापनि इलेक्ट्रोनिक मतमा हारिन् । यसले अमेरिकाको राष्ट्रपति पद भनेको पुरुषको क्लबझैं भएको सावित भएको छ । तत्कालिन उपराष्ट्रपति कमला ह्यारिसको ट्रम्पविरुद्ध जित्ने धेरै आधार थियो । तर, पनि अमेरिकी जनताले उनलाई राष्ट्रपति पदका लागि छनोट गर्न हिम्मत गरेनन् ।
यसअघि सन् २०१६ को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पनि यस्तै भएको थियो । हिलारी क्लिन्टनले डोनाल्ड ट्रम्पले भन्दा झन्डै ३० लाख लोकप्रिय मत बढी पाए पनि इलेक्ट्रोरल कलेज मतमा ट्रम्पलाई विश्वास गरियो । हिलारी र कमलाजस्ता योग्य उम्मेदवारलाई जिताउँदैनन् भने अमेरिकी जनताले कस्ता महिलालाई मत दिने होला ? यो आश्चर्यको विषय हो । उनीहरूको नजरमा न हिलारी क्लिन्टन न कमला ह्यारिस योग्य ठहरिए ।
कोलोराडो स्टेट युनिभर्सिटीका कम्युनिकेसन प्रोफेसर करिन भासबाइ एन्डरसनले भन्छन्– ‘जनताहरूले महिला उम्मेदवारको विचारलाई समर्थन गर्छन् तर, जब उनीहरूसामु त्यही महिला उम्मेदवार हुन्छन् तब, फेरि उनीहरूले अर्को विकल्पका रूपमा पुरुषलाई नै रोज्छन् ।’ उनको विचारअनुसार अमेरिकाका जनता हरेक महिलामा केही कमजोरी निकाल्न प्रयास गर्छन् ।
पहिले राष्ट्रपति जोय बाइडेनले उम्मेदवारी दिएको कारण कमला अमेरिकी जनतामाझ केवल चार महिना ¥यालीमा जान पाइन् । बाइडेनले जुलाईमा राष्ट्रपतिको उम्मेदवारबाट नाम फिर्ता लिएपछि मात्र डेमोक्रेटिक पार्टीले कमलाको नाम राखेको थियो ।
एक अध्ययनका अनुसार १३ प्रतिशत अमेरिकीहरू महिलालाई राष्ट्रपति बनाउने विचारसँग सहमत भएका थिएनन् ।
म्याडिसनस्थित विस्कन्सिनको युनिभर्सिटीका पोलिटिकल साइन्टिस्ट बेरी बर्डेन र योसिकुनी ओनोले मतदाताहरूले महिला उम्मेदवारहरूलाई २.४ प्रतिशतद्वारा हराउने गरेको निक्र्यौल निकालेका थिए । यसको अर्थ यदि महिला उम्मेदवारले ४९.४ प्रतिशत मत पाउनुपर्नेमा ४७ प्रतिशतमात्रै पाउने गर्छन् ।
यसले प्रतिद्वन्द्वी उम्मेदवारको मत बढाइदिन्छ । उनीहरूले भनेअनुसार महिलाहरू अरू जुनसुकै क्षेत्रमा भए पनि स्वीकार्य हुन्छ तर, जब राष्ट्रपतिको विषय आउँछ तब मतदाताहरू महिला हराउनेमा लाग्छन् । विश्वमा कैयौं ठूल्ठूला देशहरूमा महिला राष्ट्रपति र प्रधानमन्त्री बनेका उदाहरणहरू छन् ।
संयुक्त अधिराज्य बेलायत र जर्मनीका सर्वोच्च पदमा महिला छन् । तर, विश्वकै सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकामा भने महिलाले कहिले नेतृत्व लिने हो अझै भन्न सकिँदैन ।
प्रतिक्रिया