बुटवलमा २४ औं औद्योगिक व्यापार मेला शुरु

कानून संशोधन गरेर भएपनि लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिवद्ध : जलस्रोत मन्त्री खड्का

1.88k
Shares

बुटवल ।


बुटवलमा २४ औं संस्करणको औद्योगिक व्यापार मेला सुरु भएको छ । मेलाको उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले एक समारोहका बीच उद्घाटन गर्नुभयो ।

सो अवसरमा बोल्दै मन्त्री खड्काले मुलुकमा चुनौति र निराशाहरु रहेपनि सरकारले चुनौतिको सामना गरिरहेको खुलासा गर्नु भयो । मुलुकलाई स्थायित्व दिन कांग्रेस र एमालेको सरकार बनेको जिकिर गर्दै मन्त्री खड्काले अस्थिरता चाहनेले सरकार ढल्ने हल्ला चलाएपनि अहिलेको सरकार २०८४ को चुनावसम्म कायम रहने दावी गर्नुभयो ।

मन्त्री खड्काले ढुक्क भएर उद्योग, व्यवसायमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नु भयोे । सरकार त्रिदेशीय विद्युत व्यापार र १६ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्यका साथ अघि बढेको मन्त्री खड्काले बताउनु भयो । लगानीकर्ताको लगानी सुरक्षाको जिम्मा सरकारले लिनेभन्दै उहाँले कानून संशोधन गरेर भएपनि लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।


लुम्बिनी प्रदेशका आर्थिक मार्मिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेशलाई उद्योग र पर्यटनको हब बनाउने गरी तीनै तहका सरकारले योजना र कार्यक्रम बनाउनुपर्नेमा जोड दिनु भयो । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले विगतमा ब्यापारिक केन्द्र बुटवल भएपनि अहिले आसपासका ग्रामीण क्षेत्रसम्म बजार विस्तार भइसकेकाले उपभोक्तालाई आकर्षित हुने गरी सेवा प्रवाह गर्न सके बुटवल गुल्जार हुने धारण राख्नु भयो ।


उद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्मा, पूर्व केन्द्रिय सदस्य नवराज श्रेष्ठ ,बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंक गैरे,महासचिव मुक्ति अधिकारी लगायतले सरकारले युवा पलायन रोक्न र लगानीमैत्री वातावरण बनाउन सुझाव दिनु भयो ।


बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा शुरु मेलामा पांच सय स्टल रहेका छन् । पुस १८ गतेसम्म हुने १६ दिने मेलामा ५ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड बढीको कारोवार हुने आयोजकको अपेक्षा छ ।


मेला अवधिमा उद्योग, बाणिज्य, पर्यटन क्षेत्रका समस्या,सम्भावना र चुनौतिका विषयमा विषयविज्ञहरुको सहभागितामा गोष्ठी हुने आयोजकले संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताउनुभयो ।